दैवी प्रकोप र भूक्षय न्यूनीकरण

बोटबिरुवा नभएको नांगो जमिनमा वर्षात्मा ९० प्रतिशत पानी माटो ढुंगासहित बगेर गएको हुन्छ । तर, बोट बिरुवाले ढाकिएको जमिन भएमा ९० प्रतिशत पानी जमिनले सोस्दछ भने १० प्रतिशत त्यो पनि संग्लो पानी बग्दछ । यसले पहिरोको जोखिम कम भइ खोलाको बहाब र बाढी पनि कम हुन्छ । आजभन्दा झण्डै ४ दशक अगाडिको आँकडाअनुसार हाम्रो देसको यस्ता नांगा जमिनबाट १ वर्षमा २४ करोड मेट्रिक टन माटो बगेर बंगालको खाडीमा ४० हजार बर्गकिलोमिटरको टापु बनेको कुरा सुनिन्थ्यो ।

कृष्ण बोहरा

बर्सेनि बाढी र पहिरोको कारण प्रशस्त धन जनको क्षति भइरहेको छ । यो साल पनि यो क्रम रोकिएन । हालसालै परेको पानीले पुनः ब्यापक धनजनको क्षति भएको छ । यसपटक निकै भयावह स्थितिको सामना देशभरका मानिसहरूले गर्नुप¥यो । वर्षा मापन केन्द्रका अनुसार योपटक पहिले भन्दा अत्यधिक बढी पानी परेको छ । पहिरोका कारण लामो दुरीका सवारी साधन बाटोमा अलपत्र अवस्थामा थिए । सरकारले निरन्तर झरीका कारण यातायातको साधन नचलाउनु भन्ने जानकारी गराएको भए तापनि यसलाई बेवास्ता गर्दै चलाएको कारण झ्याप्ले खोलामा बस दुर्घटना भएको देखियो । सूचना जारी गरे पनि सरकारका संयन्त्र ट्राफिक प्रहरीहरूले बस सञ्चालन गर्न नरोकेको पनि देखिन्छ । यसबाट सरकारका संयन्त्रले काम नगरेको पनि भन्न सकिन्छ । काठमाडौँ उपत्यकामा पनि बाढी र डुवानले ब्यापक धनजनको क्षति भएको खबर आएको छ ।


चीनमा ओलम्पिक खेल चलिरहेका बखत वर्षालाई पनि रोकेर खेल सञ्चालन गरेको भन्ने खबर सुनिएको थियो । विकसित देशमा कृतिम वर्षा गराउने र वर्षा रोक्ने सम्मको प्रविधि विकास भएको भन्ने छ । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यो त सम्भव नहोला । तैपनि बाढीपहिरोलाई न्यूनीकरण गर्ने कुनै वैज्ञानिक प्रविधि हुँदैनभएको हो त ? विज्ञहरूको भनाइअनुसार बाढीपहिरोको प्रमुख कारण नै भूक्षय हो । भूक्षय २ किसिमले हुन्छ, प्राकृतिक र मानव सिर्जित ।

प्राकृतिक

पहिले हामी भूक्षय भनेको के हो ? त्यो बुझ्ने प्रयास गरौँ । यसलाई हामी यसरी बुझ्न सक्छौँ । पहाडको भिरालो जमिनमा जहाँनेर नांगो र खाली जमिन हुन्छ, वर्षाको पानीको थोपा यसमा परेपछि माटोका कणहरू यसबाट निस्केर स्थानान्तरण हुन्छ । पानीसँगै धमिलो माटोको लेदो स्थानान्तरण भएको माटो बग्न थाल्छ । यो पहिलो रूप हो । यो लेदो सहितको पानीले अली तल पुगेपछि बालुवाको कणहरू पनि सँगै बगाउन थाल्छ । यो बालुवाको कण सहितको धमिलो पानी पहिलेभन्दा अब अझै बलशाली हुन्छ । यो दोस्रो रूप हो । यसले अलि तल पुगेपछि कंक्रिट र अलि साना साना गिट्टीजस्ता ढुंगा पनि बगाउँछ । अब यस्तो मसिना ढुंगा सहितको बाढी अझै बलियो हुन्छ र यसले योभन्दा ठुला ठुला ढुंगा पनि बगाउँछ । यो तेस्रो रूप हो ।


यस्तो बेगवान बाढीले ठुलठुला घरजस्ता ढुंगासमेत बगाएर सँगै लाने क्षमता राख्दछ । नदीमा पुगेपछि यस्तो बाढीले आफ्नो रुटको बाटोलाई पनि गहिरो बनाएर लान्छ भने किनारलाई पनि काटेर बग्दछ । यस्तो अवस्थामा ठाउँठाउँमा पहिरो पनि जान्छ । यो भूक्षयको चौथो रूप हो । यसरी माटो बगेको कारणले हाम्रो पहाडी भेगको मलिलो माटोसमेत कटान गरी बर्सेनि कति अर्ब टन माटो बगेर जान्छ त्यसको एकिन हिसाब छैन । यसबाट रुखो माटो मात्र हामी कहाँ बाँकी रहने क्रम बर्सेनि रहिरहन्छ ।

भूक्षय हुने यस्तो प्रक्रियालाई रोक्न नांगो र खाली जमिनलाई कतै नदेखिने गरी बिरुवाहरू रोपेर टनक्क ढाक्नुपर्दछ । यस्तो भएमा वर्षाको पानी पर्दा माटो बगाउन पाउँदैन । जसबाट संग्लो पानी मात्र बग्छ । त्यो पनि ९० प्रतिशत पानी जमिनले नै सोस्दछ । यसो हुँदा १० प्रतिशत मात्र बगेको संग्लो पानीले बाढीको प्रकोप कम हुन जान्छ । पहिरो जाने क्रममा पनि न्यूनीकरण हुन मद्दत पुग्दछ । पहिरो जाने भनेको माटो ढुंगा र लेदो सहितको पानीको बहावको कारण नै हो ।

मानव सिर्जित

मानवीय गतिविधिका कारण हुने भूक्षय सबैभन्दा डरलाग्दो रूपमा देखापरिरहेको छ । नेपालको सन्दर्भमा बहुदलीय व्यवस्थाको आगमनपश्चात चारैतिर मोटर बाटो बनाउने क्रम तीव्र रूपमा देखापरेको छ । त्यो पनि वर्षा सुरु हुन केही समयअघि वा वर्षा सुरु भइसकेपछि डोजर लगाएर मोटर बाटो बनाइन्छ । यसमा जमिनको प्रकृति कस्तो छ ? त्यो कमलोे माटो हो कि ? कमेरो माटो हो ? वा मजबुत माटो हो ? त्यसको वास्ता गरेको पाइँदैन । कुनै जिओलोजिस्टद्वारा माटो जाँच गरिएको हुँदैन । अर्को कुरा प्राविधिक रूपमा पनि बाटो उपभोक्ता समितिमा मात्र यो निर्भर हुन्छभन्दा कुनै फरक पर्दैन । गाउँपालिकाले बनाएको यस्तो बाटोमा प्राविधिकहरूले मात्र औपचारिकता पूरा गरेर फर्केको देखिन्छ । यसबाट बाटोको स्थायित्वको पनि कुनै ज्ञारेन्टी हुँदैन । कुनामा नाला नबनाइकन बनाइएको यस्तो बाटो वर्षा लागेपछि क्षतविक्षत भई काम नलाग्ने भएको देखिँदै आएको छ । माटो ढुंगा प्रशस्त मात्रामा बग्न जाने हुनाले यसबाट पहिरोको जोखिम अनियन्त्रित रूपमा बढिरहेको छ ।

विकासको नाममा सडक खनेर निम्तिरहेको यस्तो बिनासलाई न्यूनीकरणका केही उपायहरू छन् । ती हुन वर्षा सिद्धीसकेपछि मात्र बाटो खन्ने । बाटो खन्नुअघि माटोको प्रकृतिको जाँच जिओलोजिस्टहरूलाई झिकाई गराउने बन्दोबस्त मिलाउने । बाटोको सर्भे दक्ष प्राविधिकहरूलाई ल्याएर गर्न लगाउने । बाटो मुनि र माथि आवश्यक वाल राख्ने । खाली जमिन नदेखिने गरी बिरुवाहरू रोप्ने । यसो भयो भने अर्को वर्षा सुरु हुनेबेलासम्म माटो जमिइसक्ने हुन्छ । बिरुवाहरू हुर्किने क्रम सुरु हुन्छ । यसबाट भूक्षयलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्छ ।

मोटर बाटो बनाउने सम्बन्धमा जापानिज प्रविधि निकै उच्च स्तरको भन्ने लागेको छ । जथाभावी डोजरले खनेर तलतिर माटो नफ्याकिकन बरु आवश्यक ठाउँमा पहिले नै वाल राखी कुनाको माटो वालमा पुरिने गरी भर्दै जाने तरिकामा माटो ढुंगा तलतिर गई पहिरो जाने सम्भावनालाई बचाउन सकिने तथा कुना थोरै मात्र कटिङ गरेर पनि थोरै माटो बनिबनाउ तलको वालमा भर्दा पनि सजिलै र छिटो बाटोको रुपरेखा देखिने हुन्छ । यस्तो कुरा जापानिजहरूको यो तरिकाबाट सिक्न सकिन्छ । पानी जाने नालामा समेत सिढी बनाई पानीको बहाबलाई रोक्दै बहाउने तरिका निकै नै फाइदाजनक देखिन्छ ।

यस्तै कुना पट्टिको नांगो जमिनमा आवश्यक मेसिनरी वालले जमिन नदेख्ने बनाइन्छ । अर्थात यस्तोमा हामीले पानी सोस्ने खालको बिरुवा पनि लगाउन सक्नेछौँ । बनेपा बर्दिवास सडक जापाननिज प्रविधिबाट बनेको एउटा नमूनालायक सडक हो । यसबाट हामीले सडक बनाउनका लागि आवश्यक आधुनिक प्रविधिको ज्ञान लिन सक्दछौँ । हुन त यस सडकमा पनि यो पटकको वर्षाले क्षति त बनाएकै छ, तर यो आसपासको जमिनमा भएको भूक्षयको कारण हो । भूक्षयको कारण खोलामा आएको बाढीको कारणले पनि हो । प्राविधिक रूपमा सडक कमजोर भएर होइन भन्ने लागेको छ ।

हालसालै काठमाडौँ उपत्यकाका नदीहरूले ल्याएका बाढी र डुवानको समस्याले धेरैको मन रुवाएको छ । बाढी बस्तीभित्र पस्यो भनी समाचार संप्रेषित भएको सुनिन्छ । तर, बाढी बस्तीमा पसेको नभई खोला बग्ने भागमा बस्ती बसाएकाले खोलाले आफ्नो भाग नछोडेको हो । मानिसले खोलो मिच्ने मूर्खता गरेकाले हो । कसैले भनिरहेका छन् अब त्यतिले पुगेन अरू दोब्बर भाग खोलालाई छुट्याएर मात्र भविष्यमा मापदण्ड कायम गर्नुपर्छ । काठमाडौँका मेयर बालेन शाहले नदीको दाया बायाँ २०–२० मिटर छोड्नुपर्छ भनेका छन् । यदि हामीले भूक्षय न्यूनीकरणको माथिको तरिका अवलम्वन नगर्ने हो भने बर्सेनि खोलाको लागि यसको दोब्बर भाग छुटयाउँदै जानुपर्ने हुन्छ ।

बोटबिरुवा नभएको नांगो जमिनमा वर्षात्मा ९० प्रतिशत पानी माटो ढुंगासहित बगेर गएको हुन्छ । तर, बोटबिरुवाले ढाकिएको जमिन भएमा ९० प्रतिशत पानी जमिनले सोस्दछ भने १० प्रतिशत त्यो पनि संग्लो पानी बग्दछ । यसले पहिरोको जोखिम कम भइ खोलाको बहाब र बाढी पनि कम हुन्छ । आजभन्दा झण्डै ४ दशक अगाडिको आँकडाअनुसार हाम्रो देसको यस्ता नांगा जमिनबाट १ वर्षमा २४ करोड मेट्रिक टन माटो बगेर बंगालको खाडीमा ४० हजार वर्गकिलोमिटरको टापु बनेको कुरा सुनिन्थ्यो । बहुदलीय व्यवस्था आइसकेपछि गाउँगाउँमा डोजर लगाई सडक खन्ने रफ्तार बढेकाले यो आँकडा बढेर कति पुग्यो होला तपाईं आफैँ कल्पना गर्न सक्नुहुन्छ ।

यसैले भूक्षय न्यूनीकरण सबैको चासोको विषय हुनुपर्छ । यस विषयमा छलफल कार्यक्रमहरू चलाइनुपर्दछ । सर्वसाधारण जनतामा यस विषयमा सचेतना र जागरण उत्पन्न गराउनु आवश्यक छ । यसका लागि सरकारी निकायहरूजस्तै गाउँपालिका, नगरपालिका वन कार्यालय, कृषि विकास कार्यालयहरूलाई सचेतनाका लागि भूमिका निर्वाह गर्न निर्देशित गर्न सकिनेछ ।

वन तथा वातावरण मन्त्रालय, भूसंरक्षण विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, विज्ञान तथा प्रविधि प्रतिष्ठानजस्ता केन्द्रीय स्तरका कार्यालयहरूमार्फत सरकारले यी कामहरू सम्पादन र सञ्चालन गर्न सक्नेछ । सधैँ दैवी प्रकोपको नाममा रकम संकलन गर्ने । दैवी प्रकोपका लागि राहत वितरण गर्ने मात्र काम गर्ने तर भूक्षय न्यूनीकरणको कुनै उपाय कार्यान्वयन नगर्ने हो भने यो परम्परा अनवरत रूपमा चलिरहन्छ । भविष्यमा दैवी प्रकोपको यो भन्दा डरलाग्दा रूपहरू देख्दै जानुपर्नेछ ।

प्रतिक्रिया