प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए । उनको कार्यक्रम १० गते नै सकिइसकेको थियो । यता भारी वर्षाले वितण्डा मच्चायो । १० दिने अमेरिका भ्रमण सकेर १४ असोजमा ओली स्वदेश फर्किए । जुनबेला नेपाल बाढी, पहिरो र डुबानको ठूलो शोकमा परेको थियो । यसै पनि ‘रोम जलिरहेछ, निरोले बाँसुरी बजाइरहेछ’भन्ने वाक्य दिमागमा फन्फन्ती नाँचिरहेको थियो ।
जलवायु परिवर्तनका कारण विश्व मानवजगत यतिबेला भयातुर बनेको अवस्थामा छ । अर्को शब्दमा भन्दा मानवजातिले ठूलो मूल्य चुकाइरहेको अवस्था छ । मानवजातिले प्रकृतिमाथिको अतिरिक्त हस्तक्षेपलाई घटाउनेभन्दा बढाउने काम गरिरहेका कारण पनि यो विपद् आइलागेको हो भन्ने कुरा स्पष्ट छ । पछिल्लो सयम विश्वमै प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । प्राकृतिक स्रोत साधन सीमित छ । तर, मानव दुनियाँका अतिरिक्त इच्छा, चाहना र आकांक्षाहरूले गर्दा प्रकृति निरन्तर मासिँदै गइरहेको छ ।
त्यति मात्रै होइन, शक्ति राष्ट्रहरूबीचको युद्धलेसमेत विश्व वातावरणलाई प्रदुषित पारिरहेको छ । विश्वका विभिन्न देशहरूबीचको युद्ध, आन्दोलन र तनावलाई थाँती राखेर नेपालले भोगिरहेको प्राकृतिक विपत्तिको पाटो र सत्ताको चरित्रबारे मन्थन गर्न आवश्यक छ । खासगरी हाम्रो देशले प्राकृतिक विपत्तिलाई कसरी सामना गर्छ ? हाल बेहोरिरहेको विपत्ति कति स्वभाविक ? कति अस्वभाविक ? जस्ता सवालहरू त झन् महत्वपूर्ण छन् ।
विकासको नाममा निम्तिने विनासलाई रोक्नुपर्ने आजको पहिलो सर्त हो । मानवद्वारा भइरहेको पृथ्वीको विनाशले पार्ने असर र प्रभावका बारेमा आममानिसलाई जागरूक बनाउन आवश्यक छ । तीव्र गतिमा बढिरहेको वातावरणीय क्षयीकरणलाई बचाउनका लागि आवश्यक कार्य गर्नु सचेत मान्छेहरूको मुख्य दायित्व हो । जलवायु प्राकृतिक रूपमा नै परिवर्तनशील छ । अहिले जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धिका कारण भएको हो ।
वातावरणमाथि मानवले अतिरिक्त हस्तक्षेप गरिरहेको छ । जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याइरहेको छ । जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई गम्भीर असर पार्छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्यमा जोखिम बढाउने र मानिस विस्थापित हुनुपर्नेसम्मको स्थिति निम्त्याउन सक्छ । जसको उदाहरण असोज ११ र १२ गतेको बाढीको वितण्डालाई लिन सकिन्छ ।
मानवीय गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा योगदान पुर्याएका कारण वातावरणले कष्ट भोग्नुपरेको छ । विश्वव्यापी रूपमा, व्यक्तिगत औसत कार्बन फुटप्रिन्ट करिब ४ टनको रहेको छ । विश्व तापमानमा २ डिग्री सेल्सिएसको वृद्धि हुनबाट रोक्न हामीले सन् २०५० सम्ममा प्रति वर्ष औसत विश्वव्यापी कार्बन फुटप्रिन्ट २ टनभन्दा कम गर्नुपर्ने रिपोर्टहरूले देखाउँछन् । यस्ता रिपोर्टहरूतर्फ हाम्रो राज्यसत्ता सचेत छ कि छैन ? यो सवालको जवाफ हालै पाइने देखिँदैन ।
विपद् निम्तिनुमा मानवीय आचरण, व्यवहार र कर्महरू निक्कै जिम्मेवार छन् । यसमा कसैको दुईमत होला भन्ने लाग्दैन । नदीको कटान एस (क) आकार हुन्छ । जता नदी, खोलाले ठाउँ खाली गरेको हुन्छ, त्यहाँ मानव बस्ती बसेको देखिन्छ । पहाडका खोला किनारा हुन्, वा काठमाडौँ उपत्यकाका । पछिल्लो समय उपत्यकाका खोला किनारामा घरजग्गा भएका जनताहरूले सर्वोच्चको आदेशलाई अवज्ञा हुनेगरी सडक आन्दोलन सुरू गरेको घटना ताजै छ । सर्वोच्चको आदेश पुष्टि हुने गरी पछिल्लो समय आएको भारी वर्षाले उपत्यकामा ठूलो क्षति पुर्याएको छ । बाढीले प्रायः खोला किनाराका बस्तिमा बेजोड असर पारेको छ । वर्तमान र विगतमा भए गरेका प्राकृतिक घटनाबाट पाठ सिकेर नदी र खोलाका किनाराका बस्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प छैन । प्रकृतिलाई हेप्ने र चेप्ने कामको अन्त्य गरिनुपर्छ ।
ओलीको बेलगाम बोली
प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा धेरै लेखियो । पछिल्लो समय यिनका बारेमा खासै लेख्न मन नलाग्ने भइसकेको थियो । जति लेखे पनि सुन्ने र गन्ने होइनन् भन्ने लागेर पनि यस्तो वितृष्णा उब्जेको हो । खैर, देशको प्रधानमन्त्रीका नाताले राज्यसत्तामा रहेसम्म एक सचेत नागरिकको हैसियतले यिनका नालायकी र गैरजिम्मेवार प्रवृत्तिका बारेमा नलेखी कसरी बस्नु ?
कुरा असोज ११ र १२ गतेको हो । जतिबेला प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए । उनको कार्यक्रम १० गते नै सकिइसकेको थियो । यता भारी वर्षाले वितण्डा मच्चायो । १० दिने अमेरिका भ्रमण सकेर १४ असोज ओली स्वदेश फर्किए । जुनबेला नेपाल बाढी, पहिरो र डुबानको ठूलो शोकमा परेको थियो । यसै पनि ‘रोम जलिरहेछ, निरोले बाँसुरी बजाइरहेछ’भन्ने वाक्य दिमागमा फन्फन्ती नाँचिरहेको थियो ।
प्रधानमन्त्री विदेश भ्रमण छोट्याएर स्वदेश आउँछन् भन्ने आशामा मजस्ता धेरै मान्छे थिए भन्ने लाग्छ । तर, यसको ठिक उल्टो ओली अमेरिकामा बसेर निरोले मात खानेगरी बाँसुरी बजाउन व्यस्त देखिए । यता कार्यवाहक प्रधानमन्त्रीलाई न मन्त्रिपरिषद्को बैठक राख्ने अनुुमति दिए । न त बाढी पहिरो र डुबानमा फसेका नागरिकको जीवन बचाउनका निम्ति ओलीले अमेरिकाबाट उचित कदम चाले ।
१४ गते ओलीको राजसी सवारी भयो । ठिक २ दिनअघि भारी वर्षात्का कारण आएको बाढी, पहिरोको वितण्डामा परेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेका थिए । राजधानीको नजिकै रहेको झ्याप्ले खोलामा ३ दर्जन मानिसहरूको एउटै चिहान भएको थियो । भौतिक रूपमा देश क्षतविक्षत बनेको थियो । तर, यस्तो दुःखद् अवस्थामा ओलीको स्वागतका निम्ति मन्त्रीहरूको लावा लस्कार उडानहरू रद्द गरेर विमास्थलमा उभिएको थियो । विपद्को बेला विमास्थल बन्द गराएर प्रधानमन्त्रीलाई अस्वभाविक स्वागत गरेको देख्दा दुःखी आत्मा थप दुःखी बन्यो ।
बाटोको गन्तव्य सम्भव नभएपछि विमान रोजेका यात्रुहरूले प्रधानमन्त्री ओलीको राजसी स्वागतका कारण समयमा गन्तव्य भेटाउन सकेनन् । केही विमान आकाशमै होल्डसमेत गरियो । यस्तो बेला स्वभाविक आलोचना र विरोध हुने नै भयो ।
विमानस्थलमा पत्रकारहरूले केही ज्वलन्त र आवश्यक प्रश्न गरेपछि ओली जंगबहादुरको शैलीमा प्रस्तुत भएको घटना आलोचना मात्र होइन, विरोध योग्य छ । अमुक पत्रकार पात्रको रूपमा सुनिन्छन् । प्रश्न कुनै पत्रकारको होइन, आममानिसको थियो । ओलीले विमानस्थलको पत्रकार सम्मेलनलाई एउटा अवसरका रूपमा लिनुपथ्र्यो । आपतेमा परेका जनतालाई सम्बोधन गर्ने विपद्पछिको पहिलो अवसर ठान्नुपथ्र्यो । तर, त्यसको ठिक उल्टो ओली रूखो र असभ्य तरिकाले पेस भए । बाढीपहिरो र डुबानबाट भएको क्षति र जनताले पाएको दुःख, दर्द र कष्टप्रदका प्रश्नमा ओली रूखो र गैरजिम्मेवार जवाफ दिँदै हकार्ने शैलीमा आवेगप्रेरित देखिए ।
महासभाको भ्रमणबाट नेपाललाई के फाइदा भयो भन्ने ? पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले ओलीले भने, ‘दुध लिएर आएँ भन्नलाई म न्युयोर्कमा भैँसी दुहुन गएको होइन । संयुक्त राष्ट्रसंघमा हाम्रा विचार राखेँ । विश्वमा देखिएका पछिल्ला समस्याहरूका विषयमा पनि मैले विचार राखेँ ।’
बाढी, पहिरो र डुबानको वितण्डा मच्चिएको बेला भनौँ वा देश शोकमा परेको बेला अमेरिकाका औपचारिक कार्यक्रम सकेर केहिदिन घुमघाममा बिताएका ओलीसामु पत्रकारहरूले सोधेका प्रश्नहरू स्वभाविक रूपमा कडा थिए । तर, ती प्रश्नको कुटिल जवाफ दिनुको साटो ओलीले हकार्ने काम गरे । मौसम पूर्वानुमान महाशाखाले पूर्ववत जानकारी गराउँदा पनि सरकारी तयारी फितलो भयो भन्ने अर्को प्रश्नमा झन् उनी असभ्य सुनिए ।
ओलीले वर्षाको जानकारी भए पनि पहिरो कहाँ आउँछ भनेर जानकारी नभएको जस्तो अप्राकृतिक र छुद्र जवाफ दिएको सुनेपछि विपद्का बेलामा देशको प्रधानमन्त्री यति वितुष र बेलगाम किने बनेका होलान ? भन्ने सवाल गर्न मन लाग्यो । ओली र उनका साइबर स्यालहरूले यस सवाललाई विरोधका निम्ति विरोध भनेर नबुझिदिए कति जाती हुन्थ्यो ?
प्रतिक्रिया