नदी नियन्त्रणको दृष्टिकोणबारे पुनर्विचार

यसै समयमा वर्षा र बाढीबारे विभिन्न कोणबाट बहस पनि सुरु भएको छ । नदी नियन्त्रण तथा नदीको प्राकृतिक स्वरूपको विषयमा पनि व्यापक छलफल भइरहेको छ । बाढीले पुर्याएको क्षतिप्रति सबै क्षेत्र संवेदनशील रहेर आगामी दिनमा कसरी हुन्छ क्षति नहोओस् वा विपत्ति नै आइहालेछ भने पनि कम क्षति होओस् भन्ने किसिमले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा बहस हुनुलाई अस्वभाविक मान्न सकिन्न । यस प्रकारका बहसहरू भइरहनुपर्छ पनि ।

सञ्जय साह मित्र

अहिले करिब सबै ठुला नदीहरूमा दुवैतिर तटबन्ध लगाउने काम भएको छ वा भइरहेको छ । तटबन्ध बनाउने आवश्यकता भएको देखिएको तराई मधेसमा नै बढी काम भएको देखिएको छ । तटबन्ध भनेको नदीको दुवै किनारमा बाँध बाँध्नु हो । नदीलाई बीचमा पर्याप्त जमिन छोडेर सम्भव भएसम्म बस्तीलाई बचाउने गरी नदीको स्वतन्त्रतामा एक किसिमले सीमित लगाम लगाउनु हो ।

हिउँदमा नदी सीमित हुने तर वर्षामा असीमित आकार लिने हुँदा सम्भव भएसम्म पानीको बहावलाई नोक्सान नपुर्याउने गरी तटबन्ध गरिएको हुन्छ । तटबन्ध लगाइएको केही वर्षदेखि अहिलेसम्म यस वर्षको जस्तो ठुलो बाढी आएको देखिएको थिएन । हरेक वर्ष वर्षा ऋतुमा वर्षा हुन्छ र हरेक वर्ष बाढी पनि आउँछ । बाढीले कुनै वर्ष कहिलेकाहीँ कतै कतै कमजोर भएको ठाउँमा तटबन्धमा क्षति पुर्याउने हुन्छ नत्र सामान्यतया तटबन्धलाई खासै क्षति पुगेको हुँदैन, तर यस वर्ष वर्षा निकै ठुलो भयो । २ दिनको लगातारको वर्षाले सर्वसाधारणलाई निकै समस्यामा पारेको थियो ।

सम्पूर्ण देशले अनुभव गरेको कुरो हो, देशमा भीषण वर्षाले भीषण क्षति पुर्याएको छ । पहाडमा बाढी र पहिरो तथा तराई मधेसमा बाढी र कटानले निकै ठुलो क्षति पुर्याएको छ । देशमा जनधनको ठुलो क्षति भएको छ । अहिलेको स्थितिलाई संकटको स्थिति वा विपद्को स्थिति भने पनि हुन्छ । हुन पनि हो, देशमा विगत कैयौँ वर्षमा यसप्रकारको वितण्डा देखिएको थिएन वर्षा र बाढीको । ठुलो संकटको घडीमा सम्पूर्ण नेपाली अत्यन्त संवेदनशील बनेका छन् । अहिले जुन ठाउँमा हेर्यो, त्यहीँ क्षति भएको देखिएको छ । पहाडी क्षेत्रमा जनधनको व्यापक ठुलो क्षति भएको छ । अहिलेको वर्षाले तराई मधेसको सहरी क्षेत्रमा बाढी पसेको बाहेकको ठाउँमा खासै क्षति पुर्याएको अहिलेसम्म देखिएको छैन, यद्यपि बाढी पसेको सहरी क्षेत्रमा भने बाहिरबाट देखिनेभन्दा धेरै क्षति पुर्याएको छ । कतिपय सहर तथा गाउँको धेरै घरमा बाढीको पानी पसेर खाद्यान्न तथा अन्य घरायसी सामग्रीमा पनि ठुलो क्षति पुर्याएको देखिएको छ ।

प्राकृतिक विपद्हरू पूर्वजानकारी दिएर आउँदैनन् । वर्षात्को बारेमा त केही दिन पहिले जानकारीहरू आइरहेका हुन्छन् तर वर्षात्को यसरी रौद्ररूप नै देख्नुपर्ने हुन्छ भन्ने कल्पना कसैले गरेको थिएन । यस वर्ष पहिलेका वर्षहरूभन्दा अलिक बढी पानी पर्छ भन्ने अनुमान त थियो नै, तर सामान्य रूपमा वर्षा करिब बितिसकेको र दसैँ आउन लागेको अवस्थामा ठुलो पानी पर्ने सम्भावना सबैतिरबाट आइरहेको थियो । यद्यपि अहिले जसरी वर्षा भयो र वर्षाले जसरी क्षति पुर्यायो त्यसको कल्पनासम्म कसैले गरेका थिएनन् । गर्न सकिने अवस्था पनि थिएन । सामान्यतया मानिसले दसैँको समयमा यति धेरै ठुलो पानी पर्ला र यसरी विपत्ति नै निम्त्याउला भन्ने पूर्वानुमान कसरी लगाउन सक्छ र ? तर भीषण वर्षा भयो । यसको क्षतिको विवरण संकलन हुने काम भइरहेको छ ।

यसै समयमा वर्षा र बाढीबारे विभिन्न कोणबाट बहस पनि सुरु भएको छ । नदी नियन्त्रण तथा नदीको प्राकृतिक स्वरूपको विषयमा पनि व्यापक छलफल भइरहेको छ । बाढीले पुर्याएको क्षतिप्रति सबै क्षेत्र संवेदनशील रहेर आगामी दिनमा कसरी हुन्छ क्षति नहोओस् वा विपत्ति नै आइहालेछ भने पनि कम क्षति होओस् भन्ने किसिमले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा बहस हुनुलाई अस्वभाविक मान्न सकिन्न । यस प्रकारका बहसहरू भइरहनुपर्छ पनि ।

पहाडी क्षेत्रमा पनि सम्भव भएसम्म नदीको प्राकृतिक स्वरूप माथि छेडछाड गर्नु हुँदैन । नदी किनार भएर सडक निकाल्ने कामको विकल्प खोज्नु उचित हुन्छ । यसैगरी नदीको बगरमा घरहरू बन्नु हुँदैन । नदीको बगरमा घरहरू बनाइँदा कुनै दिन बाढीले ठुलो क्षति पुर्याउने सम्भावनालाई विचार गर्नै पर्छ । भनिन्छ – १२ वर्षमा खोलो फर्कन्छ । हाम्रा पितापुर्खाले अनुसन्धान गरेर नै यो उखान चलाएको हुनुपर्छ । अहिले यो कुरो धेरै हदसम्म सावित भयो पनि । आखिरमा खोलो फर्केको हो । धेरै ठाउँमा खोलोले आफ्नो आकार र आकृति लिएको हो, देखाएको हो । केही समय पहिले सर्वोच्च अदालतले काठमाडौँका केही नदीहरूबारे एउटा निर्णय गरेको थियो । अन्यथा अर्थ नलागोस्, कमसेकम एउटा मापदण्ड बनाएर देशभरिकै नदी तथा खोलाको किनारमा घरहरू बनाउनेबारे एउटा अवधारणा ल्याउनु जरुरी छ । खोलाको किनारमा नै सबैभन्दा बढी क्षति भएको हो । यदि सबै नदीहरू सुरक्षित रहेको भए, नदीको किनार र बगरमा हस्तक्षेप नभएको भए सम्भवतः यति धेरै जनधनको क्षति हुने नै थिएन । तराई मधेसमा नदीको क्षति नियन्त्रणबारे २ किसिमले विचार गर्न सकिन्छ ।

पहिलो, नदीको गहिराईलाई कायम गर्न सकिन्छ वा आसपासको जमिनको सतहमा आइसकेका नदीलाई गहिरो बनाउन सकिन्छ । अहिले धेरै नदीहरूको तटबन्ध बनिसकेको छ । ठुला नदीहरूमा नदीको मूलधारदेखि ५०० मिटर टाढा नै तटबन्ध बनाइएको छ । यसको अर्थ यो पनि हो कि, कतिपय अवस्थामा नदीको दुवै किनारमा निर्माण गरिएका दुवै तटबन्धको बिचको दुरी १ किलोमिटर रहेको छ । यो कम्तीमा हुनुपर्छ । धेरै ठाउँमा २ वा ३ किलोमिटरसम्म नदीको दुवै किनारको तटबन्ध रहेका छन् । नदीको तटबन्धको बीचमा जहाँनदीको मूलधार बहेको छ, त्यसलाई अझ गहिरो बनाउन सकिन्छ । यस कुरामा विचार पुर्याउनु उचित छ कि, हरेक वर्ष चुरेतिर पहाड खोस्रेर नदीले जुन ढुंगा, गिटी तथा बालुवा लिएर आएको हुन्छ, त्यसको मूल क्षेत्रलाई छाडेर जहाँ बालुवाले नदी पुरिएको छ, पुरिएको क्षेत्रलाई खनेर गहिरो बनाउने हो भने बाढीको पानी सजिलो गरी बाहिर निस्कन सक्छ । र, यदि साना नदी–खोला छन् भने हिउँदमा माछापालन पनि गर्न सकिन्छ ।

दोस्रो, जुन तटबन्धको निर्माण गरिएको छ, त्यसलाई अझ बलियो बनाउनु उचित हुन्छ । तटबन्धमा निकै धेरै लगानी लागिसकेको छ र अब केही लगानीमा बलियो बनाउन सकिन्छ । तटबन्धको नदीतर्फको भागलाई अझ बलियो बनाउनुपर्छ र माथिल्लो भागलाई अझ अलिकति माथि उठाएर फराकिलो बनाउन सकिन्छ । यदि माथिल्लो भागलाई ५ फिटजति अझ अग्लो बनाउने हो भने सामान्यतया पानीको पहुँच बाढीको समयमा पनि पुग्न सक्दैन । बाँधको माथिल्लो भागलाई सर्वसाधारणले अहिले पनि सडकको रूपमा प्रयोग गरिरहेका छन् र यस भागलाई कम्तीमा ३० मिटर फराकिलो बनाउन सकिन्छ । ३० मिटर फराकिलो बनाएर यदि यसलाई पिच गरिदिने हो भने सडक बन्छ । सडक पनि फराकिलो हुनेछ । बलियो बाँधलाई फराकिलो र अग्लो सडक बनाउँदा त्यसमा भएको लगानीले दोहोरो प्रतिफल दिने हुन्छ । कतिपय ठाउँमा अलिकति निर्माण भएको देखिन्छ पनि । नेपालमै कतिपय ठाउँमा नहर किनारलाई सडकको रूप दिइएको पनि छ । यसले गर्दा सर्वसाधारणले सडक सुविधा पाउने मात्र नभई बलियो बाँध पनि पाउने हुन्छन् । सबैको निगरानी पनि बढ्ने हुन्छ ।

जहाँ निगरानी हुन्छ, त्यहाँ सतर्कता हुन्छ । जहाँ सतर्कता हुन्छ त्यहाँ क्षति कम हुन्छ । जहाँ सतर्कता हुन्छ, त्यहाँ उपयोग र उपभोगको मात्रा पनि बढी हुन्छ । यदि नदीलाई नियन्त्रणको लागि दुवै किनारलाई बलियो बाँध बनाएर माथिल्लो भागलाई अझ अग्लो बनाई पिच गरिदिने हो भने वातावरणीय दृष्टिकोणले पनि अझ राम्रो बनाउन सकिन्छ । सडकको किनारलाई फूल वा वनस्पतिले सजाउन सकिन्छ । नदी किनार भएकोले वृक्षारोपणका लागि सजिलो हुन्छ । वृक्षहरू छिटो हुर्कने पनि हुन्छन् । यसले गर्दा धेरै किसिमको फाइदा हुन सक्छ । देशको पर्यावरणमा सहयोग, कम मूल्यमा सडक निर्माण तथा बलियो बाँधले बाढी नियन्त्रण हुन्छ । सडक सञ्जालले नदी किनार पनि जोडिने हुँदा निगरानी पनि बढ्ने हुन्छ । यसरी अहिले नदी नियन्त्रण भइरहेको विषयमा पुनर्विचार गरेर दीर्घकालीन रूपमा नदीकिनारका बासिन्दालाई सुरक्षित राख्न, भविष्यमा तटबन्ध भत्केर हुने क्षतिलाई न्यूनीकरण गर्न तथा पर्यावरणीय सन्तुलनमा सहयोग गर्न नदी नियन्त्रण गर्नु उचित हुन्छ । नदीको नियन्त्रणले नदीलाई पनि नोक्सान नगर्ने तथा ठुलो बाढी आउँदा पनि क्षति न्यूनहुने वातावरण बनाउनेबारे विचार गर्नु उचित हुन्छ ।

प्रतिक्रिया