लामिछानेलाई रातारात देउताको रूपमा प्रस्तुत गर्ने तथा तिनलाई सहयोग र समर्थन गर्नेहरू गैरजिम्मेवार प्रकृतिका छन्, जसलाई सत्य के हो भन्ने पनि थाहा छ र आफ्नो अधिकारबारे पनि थाहा छ । साढे २ वर्षमै लामिछानेको नेतृत्व र उनको पार्टी नैतिकताको कसीमा असफल सावित भइसकेको छ ।
देशको राजनीतिमा सुधार ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने, आर्थिक अनुशासन एवं पारदर्शिता कायम गर्ने सुशासन ल्याउने, नैतिक मूल्य–मान्यता एवं इमानदारीको राजनीति गर्ने र पार्टीभित्र लोकतान्त्रिक वातावरणको निर्माण गर्ने घोषित प्रतिबद्धतासहित आएका नयाँ शक्तिहरूको गतिविधि आशाजनक देखिएन । नयाँ पार्टीहरू निकै कम समयमा झन् बढी खराब सावित भइरहेको अवस्था छ । वैकल्पिक राजनीतिको सम्भावना बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो स्थापनाको पहिलो वर्षदेखि नै अस्तित्व रक्षासँग सम्बन्धित प्रश्नहरूको सामना गरिरहेको छ ।
रास्वपाका अध्यक्ष रवि लामिछाने आफूलाई जतिसुकै दूधले धोएको दाबी गरे पनि सहकारी प्रकरणमा उनी दोषी सावित हुने निश्चितजस्तै छ । सहकारीबाट सिधै आफ्नो खातामा रकम नलगेर घुमाउरो तरिकाले (सहकारी–गोर्खा मिडिया) गोर्खा मिडियाबाट सबै रविका नजिकका मान्छेको खातामा रकम ट्रान्सफर गरेको देखिएको छ । गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया लामिछानेकै हो भन्ने प्रहरीमा छविलाल जोशीले दिएको बयान छ । यो बयानले नै लामिछानेमाथि कारबाहीका लागि पर्याप्त धरातल उपलब्ध गराउँदै छ । लामिछाने पटक–पटक गृहमन्त्री मात्रै किन बन्न चाहन्थे ? त्यसको कारण पनि प्रष्ट छँदै छ ।
रास्वपाको राजनीतिक आस्था के हो ? यो पार्टी लोकतन्त्रमाथि विश्वास राख्छ, या साम्यवादलाई मान्छ ? यसको आर्थिक र सामाजिक नीति के हो ? संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको बारेमा यसको के धारणा छ ? महोत्तरीमा पार्टीको बैठक राख्दा संघीयतालाई बलियो बनाउने निर्णय गर्नु र काठमाडांै आएपछि संघीयताको औचित्य माथि प्रश्न उठाउनुले उसको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा गर्छ । रास्वपा लगायतका नयाँ दलहरू स्वयं पनि कतिपय कुरामा प्रष्ट छैनन् । खासगरिकन धर्मको सवालमा के सोचेका छन् ? नेपालको संविधान २०७२ को बारेमा के धारणा छ ? कि पदमा पुगेर धन सम्पति कमाउनुथियो त्यसकारण राजनीतिमा आएका छन् ।
लामिछाने यदि व्यक्तिका विरोधी हुन भने तिनै भ्रष्ट व्यक्तिहरूसँग मिलेर सरकारमा किन बसे ? सरकारमा किन गएका थिए ? यदि उनी व्यवस्थाका विरोधी हुन् भने उनले ल्याउन खोजेको शासन व्यवस्था कस्तो हो ? यसको मार्गचित्र किन प्रस्तुत गर्न सकेनन् ? वैचारिक र ऐतिहासिक आधार नभएका निश्चित समय अवधिको निश्चित मनोविज्ञानका आधारमा उदाएका दलले मतदाताको भावना र जनादेशलाई सम्मान गर्न सकेनन् भने त्यस्ता दलको पतन हुन पनि बेर लाग्दैन । उल्कापात झैँ चम्किएर आउने दलहरू राजनीतिक सिद्धान्तको अभावमा उल्कापात झैँ विलिन हुन पनि बेर लाग्दैन । भ्रष्टाचार विरोधी नाराको जगमा मात्रै कुनै राजनीतिक दल लामो समयसम्म टिकाउ रहन सक्दैन ।
वैचारिक संकटबाट गुज्रिरहेको रास्वपा अब नैतिक संकटमा पनि फसेको छ । लामिछानेको मिठो र आक्रामक भाषणमा लठ्ठिएका निर्दोष युवाहरू पनि आफूलाई अब ठगिएको महसुस गर्दै होलान् । ‘राजनीति फूलहरूको ओछ्याउन हुँदैन, काँडाले भरिएको मार्ग हुन्छ’ सर्टकट तरिकाले अपनाएर यसमा कोही चाँडै पद र पैसा कमाउन सफल भएको छ भने यो संयोग मात्रै हो, स्वभाविक होइन ।
लामिछानेलाई रातारात देउताको रूपमा प्रस्तुत गर्ने तथा तिनलाई सहयोग र समर्थन गर्नेहरू गैरजिम्मेवार प्रकृतिका छन्, जसलाई सत्य के हो भन्ने पनि थाहा छ र आफ्नो अधिकारबारे पनि थाहा छ । साढे २ वर्षमै लामिछानेको नेतृत्व र उनको पार्टी नैतिकताको कसीमा असफल सावित भइसकेको छ । निकै कम समयमा भ्रष्टाचारको आरोपमा १ जना सांसदलाई निलम्बन र जायज चासो व्यक्त गरेका आफ्नै महामन्त्रीमाथि अनुशासनात्मक कारबाही गर्नुले पनि साबित गर्दछ कि यस पार्टीको गन्तव्य के हो ?
आफ्नै पार्टीका महामन्त्रीले आफ्नै पार्टीका सांसदहरूसँग प्रत्यक्ष संवाद गरेर तयार पारेको प्रतिवेदन र त्यसमा समावेश प्रश्नहरूको उत्तरबाट पन्छिएर उल्टै महामन्त्रीलाई नै पार्टीबाट निलम्बन गर्नुको अर्थ रास्वपा पनि देशका अन्य राजनीतिक दलहरू जस्तै केबल साहु–महाजनको पसल मात्रै हो, अरूहरू पार्टीमा काम गर्ने नोकर अथवा कर्मचारी मात्रै हुन । मालिक–दास सम्बन्धमा विश्वास गर्नेहरू मात्रै पार्टी राजनीतिमा अटाउने भए । महामन्त्री मुकुल ढकालले आफू घाइते भए पनि बल गोल पोस्टमै हिर्काएका छन् र रास्वपा पनि विवेकशील साझा पार्टी त बन्ने होइन भन्ने आशंकालाई झन् बलियो बनाएका छन् । महामन्त्रीको निलम्बन रास्वपाको अन्त्यको सुरुआत हो ।
लामिछानेले नेपालको वर्तमान राजनीतिकमा देखिएका विकृति, विसंगति र कमी कमजोरीहरूतिर औँला ठड्याउँदै आफूलाई एक मात्र योग्य र सक्षम राजनीतिक विकल्पको रूपमा प्रस्तुत गरेपछि मात्रै जनताले पत्याएका थिए । अरू सबै चोर र भ्रष्ट छन्, अहिलेका नेताहरूको काम नै छैन भनेर उनी राजनीतिमा आएका थिए तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारमा उनी २–२ पटक सहभागी भए त्यो पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बलियो सिफारिसमा मात्रै गृह मन्त्रालय हात पारेका थिए । पहिलोपटक उनी गृह मन्त्री बन्दा दुई देशको नागरिकता र पासपोर्ट राखेको आरोपमा पद त्याग गर्नुपरेको थियो । अब अहिले आएर सहकारीबाट पैसाको लेनदेन भएको विषयमा उनले आफनो स्थिति प्रष्ट नपारेका कारण, उनको विरोध भइरहेको छ । अरू सबै चोर, भ्रष्ट र बेइमान छन् भन्दै लामिछाने राजनीतिमा आएका थिए तर उनी पनि आफूलाई फरक सावित गर्न सकेनन् ।
बिना कुनै त्याग, समर्पण, बलिदान, आन्दोलन, गिरफ्तारी र लगानी लामिछानेलाई नेपाली जनताले समर्थन दिए । देशमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछि राजनीतिमा आउनु भनेको सर्टकट बाटोबाट सबैथोक हासिल गर्नु हो । तराई मधेसमा डा.सिके राउत र राष्ट्रिय स्तरमा लामिछाने विनापरिश्रम सत्तासम्म पुगेका छन् । दुवैको सैद्धान्तिक र वैचारिक धरातल छैन । दोहोरो अर्थ लाग्ने खालको शब्दमार्फत देश र जनतालाई भ्रममा पार्नु र आफ्नो राजनीतिक अभिष्ट हासिल गर्नु नै उपरोक्त दुवै पार्टीको लक्ष्य देखिन्छ ।
नेपालको राजनीतिमा विकृति छ, सबै नेताहरू भ्रष्ट भए, यिनीहरू कुर्सी र पदविना बाँच्न सक्दैनन् देशमा यस्ता राजनीतिक दलहरूको काम नै छैन भन्ने दाबी गर्ने नयाँ नयाँ दलहरू पनि सत्ता स्वार्थका लागि नै जन्मिएका रहेछन् भने प्रष्ट भएको छ । आफैँले भ्रष्ट, नालायक जनविरोधी र असफल सावित गरेका नेता र दलको नेतृत्वमा काम गर्न जसरी रास्वपा व्यग्र देखिन्छ, त्यसले त उसलाई झन् बढी सत्तालोलुप सावित गर्छ र नयाँ दलहरूको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गर्छ । रास्वपाको सिद्धान्त, कार्यशैली, प्रतिबद्धता र व्यवहारमा देखिएको अन्तरलाई नै पार्टी महामन्त्रीले उठाएका थिए, तर कथित पढेलेखेका इमानदार र स्वच्छ छवि भएको पार्टीमा उनी एक्लिए, उनको पक्षमा बोल्ने एक जना पनि थिएनन् ।
भारतको दिल्लीमा आमआदमी पार्टीको गठन हुँदा कुमार विश्वास शान्ति भूषण, प्रान्त भूषण, योगेन्द्र यादव, प्रो.आनन्दकुमार, रामदास कपिल मिश्रहरूलाई पनि सुरुमा यस्तै लागेको थियो कि अरविन्द केजरीवाल त सत्य एवं इमानदारीका प्रतीक हुन् तर जब आलोपालो गरी सबै सिद्धान्तवादी अनुहारहरू दूधबाट झिंगा फालिए झैँ फालिँदै गए अन्त्यमा मात्रै थाहा भयो कि, केजरीवालको भनाइ र गराइमा तारतम्य छैन । रास्वपामा पनि भोलि, या पर्सी अन्य नेताको पनि निलम्बनको पालो अवश्य नै आउनेछ महामन्त्री ढकाल पहिलो निशाना हुन्, अन्य धेरै निशानाहरू बाँकी छन् ।
राजनीतिक सिद्धान्त, संगठन, पृष्ठभूमि सहितको नेतृत्व, वैकल्पिक नीति र कार्यक्रमविना कुनै पनि राजनीतिक संगठन धेरै लामो समयसम्म राजनीतिमा टिकाउ रहन सक्दैन । केही जल्दा–बल्दा समस्या अथवा तत्कालीन परिस्थितिका कारण उत्पन्न जनताको आक्रोशलाई एकत्रित गरेर आन्दोलनको आँधीबेरी खडा गर्न सकिन्छ, त्यस आन्दोलनमार्फत देशका स्थापित राजनीतिक शक्तिहरूलाई पनि केही समयको निम्ति कमजोर बनाउन सकिन्छ । १–२ वटा चुनावमा राम्रो प्रदर्शन पनि गर्न सकिन्छ तर त्यसको दीर्घकालीन असर हुँदैन ।
२ दशकदेखि नेपालका राजनीतिक दलहरूमा विचार–विमर्श र छलफलको संस्कृति हराएको छ । नेतृत्वको कार्यशैलीको विरोधलाई अनुशासनहीनता मानिन्छ । पार्टीमा देखिएको कमी कमजोरी र विकृतिमाथि ध्यान आकृष्ट गराउनुको अर्थ पार्टी विरोधी गतिविधिमा सामेल हुनु हो । चाटुकारितालाई अनुशासन मान्ने परम्परा विकसित भएको छ । चाटुकारहरूवाट घेरिएको नेता दुर्योधन मात्रै बन्न सक्दछ र त्यसमा मौन समर्थन गर्नेहरू अथवा मौन बस्नेहरू आफनो दलीय हस्तिनापुरको पतनको साक्षी मात्रै सावित हुन मात्रै सक्छन् । कुनै पनि राजनीतिक दलमा स्वविवेकले काम गर्नेको निम्ति ठाउँ छैन । आत्मसम्मान, स्वाभिमान, राष्ट्रप्रेम र देशको विकासजस्ता मुद्दाहरू केबल हात्तीका देखाउने दाँत मात्र हुन् । चपाउने त अर्कै हो । नेपाली जनताले रास्वपालाई नयाँ वैकल्पिक दल ठानेका थिए, तर अब नेपाली जनता पनि निराश भएका छन् ।
प्रतिक्रिया