पर्यटन दिवसको नारा र ठमेल क्षेत्रको हविगत

सन्दर्भ विश्व पर्यटन दिवस

ठमेल क्षेत्र ८० प्रतिशत वाह्य पर्यटक र २० प्रतिशत आन्तरिक पर्यटकहरूले गुल्जार बनेको हो । तर शान्ति सुरक्षामा कमी तथा होहाल्ला बढी हुन थालेपछि त्यसको उल्टो भएको छ । विदेशी पर्यटक ह्वात्तै घटेका छन् । धनी बाबु–आमाका बिग्रेका छोराछोरीहरूको अखडा बन्न थालेका कारण ठमेलबाट पर्यटन व्यवसायीहरू विस्थापित हुँदै जाने खतरा बढेको छ । २४सै घण्टा खुला गरिएको विदेशी पर्यटकका लागि हो । तर होहल्लाका कारण विदेशी पर्यटकले ठमेलमा रात बिताउन सक्ने अवस्था रहेन ।

बिमन लिम्बू

हरेक वर्षको सेप्टेम्बर २७ तारिखका दिन सबै देशमा पर्यटन दिवस मनाइन्छ । यसपटक पनि ‘पर्यटनका लागि शान्ति’ भन्ने नाराका साथ यही असोज ११ गते शुक्रबार भव्यताका साथ ४५औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सन् १९७९ मा भएको संयुक्त राष्ट्रसंघको साधारणसभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको थियो ।

त्यसपछि लगातार संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभरि विश्व पर्यटन दिवस मनाउने गरिन्छ । तर सेप्टेम्वर २७ तारिखलाई नै किन रोजियो ? भन्ने एकिन गर्न सकिने अवस्था छैन । पश्चिमा देशहरूले सन् १८४१ लाई व्यावसायिक पर्यटनको थालनी मानेका छन् । सो वर्षको सेप्टेम्बर महिनामा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपमा निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए ।

हुन त मानिसहरू विभिन्न उद्देश्य लिएर घुम्ने, फिर्ने चलन हजारौँ वर्षदेखिको हो । तर घुमफिरलाई व्यवसाय अर्थात उद्योगको रूपमा सुरु भएको औपचारिक रेकर्ड भने थोमस कुककै हो । । आजभन्दा १८२ वर्षअघि स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ । हाम्रो देश नेपाल ‘अतिथि देवो भवः’ अर्थात पाहुनाहरू देवता समान हुन् भन्ने संस्कार बोकेका जनताहरू बसोबास गरेको देश हो ।

त्यसैले पर्यटनको इतिहास लामो भए पनि हाम्रो देशमा व्यावसायिक पर्यटनको इतिहास भने खासै लामो छैन । किनकी पर्यटन व्यवसायको मेरुदण्ड भनेकै होटल व्यवसाय हो । तर नेपालमा होटल व्यवसायको इतिहास अत्यन्तै छोटो छ । किनकी राणाकालसम्म नेपालमा विदेशी पर्यटकलाई प्रतिबन्ध थियो ।

कूटनीतिक काम तथा राज्यको निमन्त्रणामा आउनेहरूलाई राणा शासकहरूले आफ्नै दरबारमा बस्ने व्यवस्था मिलाउँथे । यसका लागि उनीहरूले विदेशबाटै दक्ष जनशक्तिको व्यवस्था गरेका थिए ।

तर २००७ सालको परिवर्तनपछि भने नेपालमा पनि आधुनिक होटलहरू खुल्न थाले । २००८ सालमा काठमाडौँको नयाँ सडकमा हिमालयन इन नामक होटल खुल्यो । यही होटललाई नेपालको पहिलो पर्यटकीय होटल मानिएको छ । त्यसै वर्ष भूगोलपार्क नजिकै पारस इन नाम गरेको होटल खुल्यो । तर यी दुवै होटलहरू विश्व परिवेश सुहाउँदा थिएनन् ।

२००९ सालमा जुद्धशमशेरको जाउलाखेलस्थित दरबारमा विश्व परिवेश अनुसारको होटल नेपाल खुल्यो । तर यो होटल पनि धनी पर्यटकका लागि सुहाउँदा मानिएन । त्यसपछि सन् १९५३ मा बेलायती नागरिक बोरिस इभानोभले कान्तिपथको बहादुर भवनमा रोयल होटल खोले । सन् १९५४ मा लाजिम्पाटमा होटल स्नो भ्यु खुल्यो ।

नेपाललाई विदेशी पर्यटकका लागि खुला गरिएको २००७ सालको परिवर्तनपछि हो । त्यसैले नेपालमा पर्यटन व्यवसायको सुरुआत पनि त्यही विन्दुलाई मान्नुपर्छ । यस हिसाबले नेपालमा पर्यटन व्यवसाय सुरु भएको ७५ वर्ष नाघेको छ । पर्यटन व्यवसाय नेपालको आर्थिक मेरुदण्ड बनिसकेको छ । कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिब ४ प्रतिशत रहेको अनुमान गरिएको छ । तर नेपालको पर्यटकीय संभावनालाई विश्लेषण गर्ने हो भने ४ प्रतिशत योगदान भनेको नगन्य हो । किनकी नेपाल प्राकृतिक सौन्दर्य, धार्मिक धरोहर, पुरातात्विक सम्पदा लगायतको दृष्टिले ज्यादै धनी छ ।

पर्यटनलाई विश्वकै सबैभन्दा ठूलो उद्योग मानिएको छ, तर प्रयाप्त संभावना हुँदाहुँदै पनि यो अवसरलाई छोप्न नसक्नु हाम्रो आफ्नै कमजोरी हो । पर्यटन उद्योग फस्टाउन नसक्नुमा हाम्रा कमजोरी १–२ वटा मात्रै छैनन्, यत्र तत्र कमजोरी छन् । उल्लेख गरिसाध्य छैन । नेपाल आउने विदेशी पर्यटक मध्ये करिब ९० प्रतिशत पुग्ने ठाउँ ठमेल क्षेत्रलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ठमेल क्षेत्रको अवस्था अहिले भयावह बनेको छ ।

पर्यटकहरूका लागि पहिलो आवश्यकता भनेकै शान्ति हो । शान्तिविना पर्यटन व्यवसाय संभव छैन । त्यसैले यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटनका लागि शान्ति’ भनेर तय गरिएको हो । तर नेपालको मुख्य पर्यटकीय केन्द्र ठमेल क्षेत्र आशान्तिको अखडा बनेको छ ।

विदेशी पर्यटकहरूको केन्द्र भएका कारण ठमेल क्षेत्रलाई २४सै घण्टा खुला राख्ने सोच पुरानै हो । किनकी यहाँ रात हुँदा पर्यटकहरूको आफ्नो देशमा दिउँसो हुन्छ । त्यसैले उनीहरूले यहाँ बसेको घुमेको ठाउँको सूचना प्रवृधिको माध्यमबाट लाइभ गर्न पाउँछन् । आफ्ना परिवार तथा आफन्तलाई सम्पर्क गर्न पाउँछन् । त्यसैले ठमेल क्षेत्रलाई २४सै घण्टा खुला राख्ने सोच पर्यटन व्यवसायीहरूले राखेका हुन् । तर सरकारले शान्ति सुरक्षाको अवस्थालाई ख्याल गर्दै निर्णय गर्न सकेको थिएन । रवि लामिछाने गृहमन्त्री हुँदा त्यो आँट गरे ।

शान्ति सुरक्षा प्रदान गर्ने प्रतिवद्धतापछि ठमेल क्षेत्र २४सै घण्टा खुल्न थाल्यो । तर सरकारले त्यो प्रतिवद्धता पूरा गर्न सकेन । जसको दुष्परिणाम अहिले ठमेल पर्यटक बस्न नसक्ने र केबल क्लबहरू मात्र फस्टाउने स्थिति पैदा भएको छ । आजभोलि ठमेलले डलर कमाउँदैन, कमाउँछ त केवल नेपाली रुपैयाँ, त्यो पनि बिग्रेका बाबुआमाका झन् बिग्रेका छोराछोरीहरूलाई अझै बिगारेर ।

ठमेलमा क्लबको चर्को आवाजले गर्दा विदेशी पर्यटक सुत्न छाडिसके । बिग्रेका टिनएजर्सहरू रातभर क्लबमै रात कटाउँछन् । अझ कतिपय यस्ता नेपाली टिनएजर्सहरू त जोडी बनेर रातभर खुल्ने रेस्टुरेन्टहरूमा अश्लीलपाराले लठ्ठिएर रात कटाउँछन् । आजसम्म देखेको रातभर खोल्ने क्लबको प्रकृति भनेको पैसा भएका नेपालीका बिग्रेका छोराछोरी उफारेर व्यापार गर्ने मात्र हो । पुलिस प्रशासन र ठमेललाई प्रतिनिधित्व गर्ने भन्नेहरूलाई नेपालको पर्यटन व्यवसाय खस्केकोमा केही मतलब छैन, खालि जसरी भए पनि पैसा खाने र खुवाउने काम मात्र देखिन्छ ।

पर्यटकीय क्षेत्रमा नाचगान देखाएर पर्यटक आकर्षित गर्ने भनेको त यहाँ भित्रका विविध सांस्कृतिक, सम्पदा प्राकृतिक दृष्य देखाएर देशको पहिचानलाई चिनाउने होइन र ? तर आजकल ठमेल रातभर नाम मात्रको कपडा लाएर अर्धनग्न प्रदर्शन गर्ने थलो हुँदै छ ।

आजभोलिको ठमेल दिनमा मात्र ठमेल भएको छ र; रातमा अर्काे नर्कलोकजस्तो देखिने भएको छ । महँगा भाडा तिरेर बस्नेहरू भोलिपल्ट बिहान रातमा निस्केको अश्लील फोहोरहरू सफा गर्ने काम मात्र भएको छ र रातभर खोलिने क्लबको कोलाहलले पर्यटकहरूको ठमेल बसाइ क्रमशः घट्दै छ । फलस्वरूप ठमेल विदेशी मुद्रा कमाउने वास्तविक पर्यटन व्यावसायीहरू पलायन हुनुपर्ने र नेपाली छोराछोरी बिगार्ने क्लबहरूको अखडामा परिणत हुने वातावरण बनेको छ ।

ठमेल काठमाडौँ महानगरपालिकाको वडा–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा–२६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई नबचाउने हो भने नेपालको पर्यटन व्यवसाय बाँच्न सक्दैन । संघीय सरकार र प्रदेश सरकारमा रहेका नीति निर्माताहरूको त दृष्टिकोण पुगेन पुगेन, स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरूको पनि दृष्टिकोण पुगेको देखिँदैन ।

ठमेल क्षेत्र ८० प्रतिशत वाह्य पर्यटक र २० प्रतिशत आन्तरिक पर्यटकहरूले गुल्जार बनेको हो । तर, शान्ति सुरक्षामा कमी तथा होहाल्ला बढी हुन थालेपछि त्यसको उल्टो भएको छ । विदेशी पर्यटक ह्वात्तै घटेका छन् । धनी बाबु–आमाका बिग्रेका छोराछोरीहरूको अखडा बन्न थालेका कारण ठमेलबाट पर्यटन व्यवसायीहरू विस्थापित हुँदै जाने खतरा बढेको छ । २४सै घण्टा खुला गरिएको विदेशी पर्यटकका लागि हो । तर, होहल्लाका कारण विदेशी पर्यटकले ठमेलमा रात बिताउन सक्ने अवस्था रहेन । विदेशी पर्यटक बस्न छाडेपछि ठमेलका होटल व्यवसायमा ठूलो असर परेको छ ।

(लेखिका पर्यटन व्यवसायी हुन् )

प्रतिक्रिया