उदाहरणका रूपमा रविहरूको ‘जान्नेलाई छान्ने’ भन्ने नारालाई लिन सकिन्छ । यो कस्तो खालको जान्ने हो ? भन्ने सवाल छ । सहकारी ठग्न जान्ने, स्टनबाजी गर्न जान्ने, दुनियाँलाई झुुक्याउन जान्ने, भ्रम सिर्जना गर्न जान्ने, सत्यलाई झुट र झुुटलाई सत्य भन्न जान्ने हो कि ? अर्कोतिर अन्य स्थापित पुराना दलको मूल नेतृत्व आलोचना, टिप्पणी र विरोध सुन्नै नसक्ने खालको छ । कतिसम्म भने पार्टीभित्रको आन्तरिक विषयमासमेत छलफल नगर्ने, उठेका आवाजलाई दबाउन खोज्ने, तानाशाह बन्न खोज्ने, म नै सर्वेसर्वा हुँ भन्ने भावनाको नेतृत्व छ ।
नेपाली लोकतान्त्रिक ओन्दोलनको इतिहास धेरै लामो त छैन । तर, उपलब्धिका हिसाबले नेपालको लोकतान्त्रिक आन्दोलन निक्कै ऐतिहासिक छ । नेपालको लोकतान्तिक आन्दोलन विश्व दुनियाँका निम्ति ऐतिहासिक पाठ पनि हो । नेपालको लोकतान्त्रिक आन्दोलनको जग १९९० को दशकदेखि सुरू भएर ६० को दशकसम्म जारी रहेको थियो । जुन समयमा संघर्षको आन्दोलनका क्रममा हजारौँ मानिसहरूले जीवनको आहुती दिएका छन् । समय र आर्थिक लगानीको पनि उत्तिकै स्थान छ ।
खैर, यस लोकतन्त्रका बारेमा अहिलेसम्म कति लेखियो होला । कति बोलियो होला । कुनै यकिन तथ्यांक त छैन । तर, विभिन्न विद्वानका भनाइलाई आधार मान्ने हो भने सबैभन्दा धेरै लेखिएको र बोलिने वाक्य नै लोकतन्त्र हो । यस लोकतन्त्रको नाममा विश्वमा अनेकौँ खालका आन्दोलन भएका छन् । लोकतन्त्र जनताको शासन हो । लोकतन्त्रमा जनता विजित हुनुुपर्छ । जनता हार्ने लोकतन्त्र हुन सक्दैन । जनता मार्ने लोकतन्त्र हुन सक्दैन ।
लोकतन्त्रका केही मूलभूत मान्यता छन् । लोकतन्त्रमा जनभावनाको सम्मान हुनुपर्छ । जनआकांक्षा अनुरूपको शासन पद्धतिका रूपमा लोकतन्त्र स्थिापित हुनुपर्छ । जनताको स्वतन्त्रता, अभिव्यक्ति र छनौटको सम्मान लोकतन्त्रले गर्नुपर्छ । आवधिक निर्वाचन प्रणालीको उचित विकास र प्रयोग गरिनुपर्छ । जिम्मेवार प्रेस एवं पूर्णप्रेस स्वतन्त्रता, बालिग मताधिकार, जवाफदेही, उत्तरदायी तथा पारदर्शी सरकार, सूचनाको हकको सुनिश्चितता, कानुनी शासन, संवैधानिक सर्वोच्चता, सुशासन, स्वतन्त्र, सक्षम र तटस्थ न्याय प्रणाली, विधिको शासन, राजनीतिक जवाफदेहिता, नैतिक मूल्यहरूमा आधारित शासन व्यवस्था, भ्रष्टाचार मुक्त र सुशासनयुक्त राज्य संयन्त्र, प्रभावकारी, गुणस्तरीय तथा चुस्त सार्वजनिक सेवा प्रवाह आदि भएको खण्डमा मात्रै जनताले जित्ने लोकतन्त्र हुनसक्छ । होइन, लोकतन्त्र केही सीमित वर्ग, जातिका मानिसको सेवक बन्न पुग्यो भने त्यो लोकतन्त्र हुन सक्दैन । त्यो मुठ्ठिभरका मानिसहरूको शौख, सान र मानको मानक हुन्छ ।
वर्तमान संविधान घोषणा भएको १०औँ प्रवेश भएको छ । यस अवस्थामा विभिन्न राजनीतिक दलहरूले संविधान संशोधनको आवाज बोलिरहेको सुनिन्छ । साथै पश्चगामीहरू नेपाली लोकतन्त्रले नयाँ राजा जन्मायो भन्दै तितो आलोचना गरिरहेका छन् । त्यसैले लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्ने, लोकतन्त्रमा विश्वास गर्नेहरूले बस्तुनिष्ठ विश्लेषण गरेर नेपाली राजनीतिलाई अघि बढाउनुपर्छ । नेपाली लोकतन्त्र सीमित वर्ग र जातिका मानिसहरूको मान, सान र शौखिन बन्नु हुँदैन । यदि यस्तो बन्दै छ, बनाइँदै छ भने सचेत नागरिकले आवाज उठाउनुपर्छ ।
यस सत्यलाई दृष्टिगत गर्दा संविधान जारी भए पश्चातका ९ वर्षलाई नियालेर हेर्ने हो भने नेपालमा लोकतन्त्रको वर्तमान अवस्था सन्तोषजनक देखिँदैन । नेपाली लोकतन्त्र बलियो नबन्नुका केही तर खास कारण छन् ।
राजनीतिक एवं प्रशासनिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, राजनीतिक नेृतत्वको पदलोभ, आफन्तवाद, गुटवाद, सार्वजनिक सेवा प्रवाहको सुस्त गति, संवैधानिक एवं कानुनी व्यवस्था तथा संयन्त्रहरूमाथिको अनावश्यक राजनीतिक हस्तक्षेप, सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा बढ्दो आन्तरिक र बाह्य प्रहार, समाचार तथा सूचना प्रवाहमा गैरजिम्मेवार प्रवृत्तिजस्ता विषयहरूले हाम्रो मुलुकको लोकतन्त्रलाई कमजोर बनाइरहेको नग्न सत्यलाई इन्कार गर्न मिल्दैन ।
शासकीय संरचनाको माथिल्लो तहदेखि तल्लो तहसम्म हुने गरेका नीतिगत एवं आर्थिक भ्रष्टाचारका घटनाहरूले नागरिकमा निराशा बढिरहेको छ । जनताबाट अनुमोदन हुन नसकेका व्यक्ति तथा पात्रहरूलाई समेत राजनीतिक शक्तिका आडमा राज्यको माथिल्लो तहमा पुर्याउने कामले पनि लोकतन्त्रलाई फाइदा पुर्याउँदैन ।
यस्ता भ्रष्टाचार, नातावाद, कृपावाद, पदलोभजस्ता विषयहरूले मुलुकको संघीयता र लोकतन्त्रलाई थप कमजोर बनाउने काम गरिरहका छन् । संघीय संरचनाको कार्यान्वयनमा देखिएका गम्भीर कमजोरीहरू छन् । संघीय संरचनाको परिकल्पना राम्रो भए पनि व्यवहारमा र कार्यान्वयनको पाटो दयनीय अवस्थाको भइदिँदा पश्चगामीहरूले टाउको उठाउने मौका पाइरहेका छन् । लोकतन्त्रका प्रमुख मूल्यहरूको स्थिति तथा सुधारको पाटोलाई वर्तमान नेतृत्वले समयमै सचेततापूर्वक ढंगले ग्रहण गर्नुपर्छ ।
यस हिसाबमा वर्तमान अवस्थाका केही घटनाहरूमाथि मन्थन आवश्यक छ । जस्तो रास्वपाका सभापति रवि लामिछानेलाई संसदीय विशेष समितिले नै किटानीसाथ ‘प्रचलित कानुनअनुसार कारबाही गर’ भनेर प्रतिवेदन तयार पार्दासमेत उक्त पार्टीका नेताहरू एक स्वरमा भन्दैछन्, ‘क्लिन चिट ।’ एक नेता न हुन् रवि । सहकारीको अर्बांै रकम दुरूपयोग गरेको आरोपित रविसँग सति जान तयार रहेको त्यो पंक्तिलेसमेत नेपाली लोकतन्त्रलाई बलियो बनाउँदैन । भ्रष्टचारी विरोधी नारा बोकेर हिँडिरहेका रवि सहकारी प्रकरणमा जोडिएका अनेकौँ अपचलन कर्ता मध्यका एक रविका कारण कति जनताको पैसा दुुरूपयोग भयो ? भन्ने कुरा उनीहरू (रविको दल र समर्थक) ले हेक्का राखेनन् । अर्थात रविहरू पनि नयाँको नाममा उदाएका नेता पनि पुरानै नेताभन्दा फरक देखिएनन् ।
पुराना नेताहरूले त हार्न कहिल्यै जानेनन् । नयाँ (रविहरू) पनि के कम ? उनले सुरूमा आफूमाथि छानविन हुनै नसक्ने बताए । अहिले आएर पक्राउ पर्ने डरले भिड जम्मा गर्नेतर्फ लागिरहेका छन् । देश र जनतालाई हराएरै भए पनि आफू जित्ने प्रवृत्ति सबै नेताहरूमा छ र रविमा पनि त्यहि देखियो । पीडित जनताहरूको रोधन सुन्ने पक्षमा रवि छैनन् र देखिएनन् । उल्टै पक्राउ पर्ने डरले कापेका रविले आफ्ना कार्यकर्ता र समर्थकलाई पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिएर कानुनको धज्जी उडाएका छन् ।
प्रकरणमा थप छानविनका निम्ति तयार भएर लोकतान्त्रिक चरित्र देखाउनुको साटो उल्टै राज्यलाई चुनौती दिन भिडको भर परेको देखियो । चितवन काण्डजस्तै यतिबेला पनि भिड देखाएर राज्यलाई तर्साउने मुर्खता रविले गर्न खोजेको स्पष्ट छ । समय र अवस्था निक्कै टाढा पुगिसकेको छ । रविले कानुनको पालना गर्ने र प्रहरीसमक्ष आत्मसमर्पण गरेर थप अनुसन्धालाई सहयोग गर्नु उचित हुन्छ ।
अन्त्यमा, हरेक राजनीतिक दलको नेतृत्वले आफूलाई दुनियाँकै नामुद विज्ञ ठान्छ । यसको उदारणका रूपमा रविहरूको ‘जान्नेलाई छान्ने’ भन्ने नारालाई लिन सकिन्छ । यो कस्तो खालको जान्ने हो ? भन्ने सवाल छ । सहकारी ठग्न जान्ने, स्टनबाजी गर्न जान्ने, दुनियाँलाई झुुक्याउन जान्ने, भ्रम सिर्जना गर्न जान्ने, सत्यलाई झुट र झुुटलाई सत्य भन्न जान्ने हो कि ? अर्कोतिर अन्य स्थापित पुराना दलको मूल नेतृत्व आलोचना, टिप्पणी र विरोध सुन्नै नसक्ने खालको छ ।
कतिसम्म भने पार्टीभित्रको आन्तरिक विषयमासमेत छलफल नगर्ने, उठेका आवाजलाई दबाउन खोज्ने, तानाशाह बन्न खोज्ने, म नै सर्वेसर्वा हुँ भन्ने भावनाको नेतृत्व छ । जसका कारण पार्टी विभाजित हुने, टुटफुटको सिकार बन्ने गरेको हाम्रै आँखाले देखेकै छौँ । राजनीतिमा नयाँ र पुरानो भाष्यले खासै अर्थ त राख्दैन ।
तर, जबसम्म हरेक पार्टीको म्रल नेतृत्वले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई उन्नत रूपमा फुलाउन र फलाउन सक्दैन, तबसम्म जनताले जित्ने लोकतन्त्रको कल्पनासमेत गर्न सकिँदैन । जनता जित्ने लोकतन्त्रको अभ्यास हरेक पार्टी भित्रबाट हुनुपर्छ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र मृतश्ययामा पुर्याएर मुलुकको सिंगो लोकतन्त्रलाई हुर्काउँछौँ, बढाउँछौँ, रक्षा गर्छौं भनेर भाषण गर्दा कसैले पत्याउँदैनन् । आममानिसको लोकतन्त्रको हिमायती हौँ भन्नेहरूले आफू सम्बद्ध दलको आन्तरिक लोकतन्त्र के कसो छ ? भनेर हेर्न सक्नुपर्छ । अनुहारको दाग ऐना पुछेर जाँदैन । चेतना भया ।
प्रतिक्रिया