देशका विद्यमान समस्या र समाधानको उपाय

हाम्रो पार्टीले सहकारीताको रकमको हिनामिना गर्ने सबै व्यक्तिहरूमाथि कडा र निष्पक्षीय छानबिन गरेर कडा कारबाही गर्नुको साथै लाखौँ जनताबाट ठगिएको रकम फिर्ता गर्न प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दछ । त्यसका साथै संसद्द्वारा पारित सहकारीतासम्बन्धी ऐनमा भएका सबै गलत प्रावधानहरूलाई खारेज गरी त्यसलाई सहकारीताको सिद्धान्तअनुसार नयाँ प्रकारले पुनःनिर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

मोहनविक्रम सिंह

सहकारीता रकमको हिनामिना अहिले देशको गम्भीर राष्ट्रिय समस्या बनेको छ । देशमा सहकारीताको अर्बौैं रुपैयाँ अपचलन वा ठगी भएको छ । त्यसका लागि सर्वप्रथम देशका विभिन्न राजनीतिक शक्तिहरू नै जवाफदेही छन् । क. चित्रबहादुर के.सी. उपप्रधानमन्त्री र सहकारी मन्त्री भएको बेलामा सहकारीताका सिद्धान्तअनुसार नै सहकारी विधेयक तयार पारेर संसद्मा प्रस्तुत गरिएको थियो । त्यो बेला सत्तामा भएका विभिन्न राजनीतिक शक्तिहरूले उहाँमाथि त्यसप्रकारको विधेयक प्रस्तुत नगर्नका लागि दबाब दिएका थिए । उहाँ त्यसप्रकारको दबाबमा नआएपछि अन्य विभिन्न पार्टीहरूका सांसदहरूले उहाँले प्रस्तुत गरेको सहकारी विधेयकका विरुद्ध ६५० भन्दा बढी संशोधनहरू हालेर उहाँले प्रस्तुत गरेको सहकारी विधेयकमा कैयौँ गलत प्रावधानहरू पारित गराएका थिए । त्यसले गर्दा नै सहकारीतामा ठूलो पैमानामा अपचलन वा ठगीका लागि ढोका खोलिदिएको थियो ।

त्यसको परिणाम स्वरूप नै सहकारीताको क्षेत्रमा लाखौँ जनताले जम्मा गरेको अर्बौं रुपैयाँको ठगी हुँदै आएको छ र त्यो कारणले लाखौँ जनता पीडित हुनुपरेको छ । हाम्रो पार्टीले सहकारीताको रकमको हिनामिना गर्ने सबै व्यक्तिहरूमाथि कडा र निष्पक्षीय छानबिन गरेर कडा कारबाही गर्नुको साथै लाखौँ जनताबाट ठगिएको रकम फिर्ता गर्न प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दछ । त्यसका साथै संसद्द्वारा पारित सहकारीतासम्बन्धी ऐनमा भएका सबै गलत प्रावधानहरूलाई खारेज गरी त्यसलाई सहकारीताको सिद्धान्तअनुसार नयाँ प्रकारले पुनः निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

देशमा विभिन्न रूपमा बढिरहेको भ्रष्टाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ । सुन तस्करी, भुटानी सरणार्थी, गिरीबन्धु टि–स्टेट आदिजस्ता काण्डहरूबाट देशमा ठूलो पैमानामा भ्रष्टाचारले जरा हालेको मात्र होइन, तिनीहरूमा उच्च राजनीतिक वृत्तसमेत संलग्न भएको तथा त्यसरी उनीहरूद्वारा भ्रष्टाचारको संरक्षण भएको कुरा पनि प्रष्ट हुँदै गएको छ । एकातिर, जनताबाट उठ्ने राजस्व र विदेशबाट आउने विभिन्न प्रकारको सहयोगमा पनि राजनीतिक वृत्त र प्रशासनबाटसमेत हुने ठूलो पैमानाको भ्रष्टाचारका कारणले देशको विकास अवरुद्ध हुने गरेको छ । त्यसकारण भ्रष्टाचारका विरुद्धको संघर्ष राष्ट्रिय आवश्यकता भएको छ ।

हाम्रो पार्टीले सधँै देशमा सन्तुलित विकासको नीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । त्यस प्रकारको सन्तुलित विकासको नीतिलाई पूरैै उपेक्षा गर्ने गरेका छन् । त्यसकारण हाम्रो पार्टीले दूरवर्ती, पिछडिएका र ग्रामीण क्षेत्रहरू समेतको विकासलाई प्राथमिकता दिएर सन्तुलित विकासको नीति अपनाउनुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।

अहिलेको चुनावको प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने र त्यसअनुसार संविधान र चुनाव ऐनमा समेत परिवर्तन हुनुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ । अहिले चुनाव प्रणाली यति धेरै भ्रष्ट भएर गएको छ कि, चुनावमा राजनीतिक रूपले इमानदार भएका व्यक्तिहरूभन्दा बढी पैसा खर्च गर्ने उम्मेद्वारहरू नै निर्वाचित हुने गर्दछन् । त्यसैको परिणाम हो कि, सरकारको पूरैै स्वरूप जनविरोधी र भ्रष्ट हुँदै गएको छ र चुनावमा जसले खर्च धेरै गर्न सक्दछ त्यसैको जित हुने भ्रष्ट प्रणालाीमा सुधार नहुँदासम्म देशमा जनताप्रति उत्तरदायी र जनपक्षीय सरकारको गठन हुनु तथा देशको दिगो विकास हुने सम्भावना देखिँदैन । त्यसैले चुनावको वर्तमान भ्रष्ट प्रणालीमा सुधार वा परिवर्तन राष्ट्रिय आवश्यकता भएको छ ।

नेपालमा सशस्त्र द्वन्द्वको कालमा माओवादी र सरकार पक्ष दुबैद्वारा जनता ठुलो पैमानामा पीडित हुनु परेको थियो । दुबै पक्षद्वारा मानव अधिकारको उल्लंघन अपराधसम्बन्धी कैयौँ कार्यहरू वा महिलाहरूमाथि बलात्कार र हत्यासमेत हुने गरेका थिए । उनीहरूका बीचमा शान्ति सम्झौता भएपछि उनीहरू दुबै पक्षहरूले एकअर्कामाथि गरेका हिंसात्मक कार्यहरूबारे कुनै कारबाहीको आवश्यकता हुँदैन तर, उनीहरू दुबै पक्षद्वारा बन्दी बनाइएका व्यक्तिहरूमाथिका अमानवीय र हिंसात्मक कारबाहीहरू तथा उनीहरूद्वारा निशस्त्र जनतामाथि गरिएका अमानवीय र हिंसात्मक कारबाहीबारे सम्बन्धित व्यक्तिहरूलाई उनीहरूको अपराधअनुसार दण्ड जरिवाना हुनुपर्छ भन्ने हाम्रो सुरुदेखि नै जोड रहँदै आएको छ । अहिले सरकारद्वारा प्रस्तुत, संसद्को बहुमतद्वारा स्वीकृत तथा राष्ट्रपतिद्वारा अनुमोदित कानुनद्वारा त्यस प्रकारका अपराधहरूलाई माफी दिने वा कम गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।

भारतीय साम्राज्यवादले ठुलो पैमानामा भारतीयहरूलाई नेपालमा पठाएर उनीहरूलाई नेपालको नागरिक बनाएर नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्ने योजनाअन्तर्गत लामो समयदेखि काम गर्दै आएको छ । भारतको दबाबमा परेर नेपालका शासक वर्गहरूले नेपालको नागरिकतासम्बन्धी ऐनलाई पनि झन् पछि झन् उदार बनाउँदै लगिरहेका छन् । त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा बढ्दै गइरहेको छ । यसकारण यसप्रकारको नागरिक अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले लगातार आवाज उठाउँदै आएको छ र अहिले पनि त्यो विषयप्रति हाम्रो पार्टीले गम्भीर रूपले आफ्नो विरोध प्रकट गर्दछ ।

देशमा महँगी र कालोबजारी पनि धेरै नै बढेर गएको छ । खास गरेर चाडवाडको बेलामा बढिरहेको महँगी र कालोबजारीको कारणले जनता धेरै नै पीडित हुनुपरेको छ । त्यसकारण त्यस प्रकारको महँगी र कालोबजारीमाथि नियन्त्रण गर्नका लागि कडा कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।

हाम्रो पार्टीले कपिलवस्तु, रूपन्देही र नवलपरासीका प्राचीन बौद्ध सभ्यतासित सम्बन्धित, पुरातात्विक वा ऐतिहासिक स्थानहरूलाई सामेल गरेर बृहत्तर बौद्ध पुरातात्विक सहरको निर्माण गर्नुपर्ने आवश्यकतामा लामो समयदेखि जोड दिँदै आएको छ । हामीले संसद्भित्र त्यसका लागि आवाज उठाउनुको साथै जनस्तरमा पनि त्यसबारे जोड दिँदै आएका छौँ । त्यस प्रकारको सहर अन्तर्राष्ट्रिय महत्वको नै पर्यटकीय सहर बन्नेछ ।
लुम्बिनी वा बौद्ध क्षेत्रको विकासका लागि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै योजनाहरू बनेका छन् र त्यसको लागि ठुलो धनराशि पनि छुट्याउने गरिएको छ । तर त्यस प्रकारका धेरैजसो योजनाहरू कागजमा मात्र सीमित रहने गरेका छन् । त्यसका लागि छुट्याएको धनराशिको पनि सही प्रकारले उपयोग हुने गरेको पाइँदैन । त्यस प्रकारको पृष्ठभूमिमा बृहत्तर बौद्ध पुरातात्विक सहरको निर्माणको लागि हामीले आमजनताको ध्यानाकर्षित गर्नुका साथै सरकारद्वारा पनि त्यसबारे सकारात्मक दृष्टिकोण अपनाउँदै ठोस भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यस प्रकारको बौद्ध पुरातात्विक सहरको निर्माण भएमा त्यसद्वारा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धेरै नै वृद्धि हुनुका साथै त्यसबाट नेपालको गौरवमा पनि धेरै नै वृद्धि हुनेछ ।

अहिले विश्वव्यापी रूपमा युद्धको स्थिति देखापरेको छ । खास गरेर रूस–युक्रेन तथा प्यालेस्टाइन र इजरायलको युद्धको कारणले विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ । ती दुबै युद्धहरूमा आणविक शक्ति सम्पन्न ठुला राष्ट्रहरू पनि संलग्न हुँदै गएको हुनाले आणविक युद्धसमेत हुने खतरा बढ्दै गइरहेको छ । त्यो अवस्थामा युद्धका विरुद्ध र विश्व शान्तिका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक जनमत र आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।
युक्रेनमा जुन युद्ध चलिरहेको छ, त्यसका लागि अमेरिकी साम्राज्यवादको नेतृत्वको नाटो र रुसी साम्राज्यवाद नै जिम्मेवार छन् । अमेरिकी साम्राज्यवादले पूर्वसमाजवादी सोभियत संघका विरुद्ध मोर्चाबन्दीका रूपमा नै नाटोको गठन गरेको थियो र सोभियत संघको विघटनपछि पूर्व सोभियत संघमा भएका कैयौँ देशहरू नाटोमा सामेल हुँदै गएका थिए । त्यही क्रममा अमेरिकाले युक्रेनलाई पनि त्यसमा सामेल गर्न खोजेको थियो । त्यही प्रकारको स्थितिमा नै रुस र युक्रेनका बीचमा युद्ध भएको हो । त्यसैले त्यो युद्ध वास्तवमा युक्रेन र रुसका बीचमा नभएर रुस र नाटोको बीचको युद्ध हो । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरूका बीचको प्रतिस्पर्धाका कारणले युक्रेनका जनता पीडित हुनु परेको छ ।

प्यालेस्टाइनको युुद्धलाई पनि हाम्रो पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ । ७५ वर्ष पहिले प्यालेस्टाइनका जनतालाई आफ्नो मातृभूमिबाट जबरजस्तीपूर्वक निष्काशित गरेर अमेरिकी साम्राज्यवादको संरक्षणमा इजरायल राष्ट्रको निर्माण गरिएदेखि नै प्यालेस्टाइनका जनताले आफ्नो मुक्तिका लागि संघर्ष गरिरहेका छन् । हामीले ७ अक्टोबरको हमासको कार्यबाहीलाई गलत मान्दछौँ र विरोध गर्दछौँ । हामीले संसारमा जहाँ पनि कुनै पक्षद्वारा निःशस्त्र जनतामाथि गरिने कारबाहीलाई आतंकवादी र गलत मान्दछौँ । तैपनि समग्र रूपमा प्यालेस्टाइनी जनताको आफ्नो हक र मुक्तिका लागि गरेको आन्दोलन न्यायपूर्ण हो र त्यसका लागि भइरहेको संघर्षलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ ।

इजारायलद्वारा प्यालाइस्टाइनी जनतामाथि भइरहेको बर्बर नरसंहारको पनि हाम्रो पार्टीले कडा शब्दमा भ्रत्र्सना गर्दछ । त्यही सन्दर्भमा लेबनाममाथि नयाँ प्रकारको विद्युतीय तरंगद्वारा आक्रमण गर्ने जुन नीति अपनाइएको छ, त्यसको पनि हामीले तीव्र शब्दमा भ्रत्र्सना गर्दछौँ । इजारायलद्वारा भइरहेको त्यस प्रकारका नरसंहार अमेरिकासहित साम्राज्यवादी देशहरूको समर्थनमा नै सम्भव भइरहेको छ । त्यसैले हामीले त्यसका लागि सबै साम्राज्यवादी देशहरूको तीव्र शब्दमा भत्र्सना गर्दछौँ ।

(नेकपा मसालद्वारा बुधबार जारी विज्ञप्तीको सम्पादित अंश)

प्रतिक्रिया