देश अधोगतितिर लाग्दैछ र अराजकतातर्फ अघि बढ्दै छ । पुराना राजनीतिक दलका नेताहरू आफूलाई सुधारेर जान तयार देखिँदैनन् । उनीहरू पनि पुरानो सोच, शैली र चिन्तनबाट बाहिर आउन नसक्ने, नयाँ देखिएका समूहहरूमा देश सम्हाल्ने परिपक्व विचार, कार्ययोजना र तागत नभएको वर्तमान अवस्थामा मुलुक दुर्भाग्यपूर्ण दुर्घटनामा जाने देखिन्छ । आजको मूल चिन्ताको विषय हो यो ।
नेपालको राज्यसत्ता आफ्नै कारणले कमजोर, निरीह र प्रभावहीन बन्दै गइरहेको छ । न्याय प्रणालीमा दोहोरो मापदण्ड छ । सत्ता, शक्ति, धन, हुल र बलले कानुन नियन्त्रण गरेको छ । चेप्टो, नेप्टो र घोप्टो बनाएर दोक्च्याउने त निर्धा निमुखा नेपाली जनतालाई मात्र हो । बोल्नेको पिठो बिक्छ । नबोल्नेको चामल पनि बिक्दैन आजभोलि ।
‘लथालिंगे घरको भताभुंगे चाला, जसजसले सक्ला उसउसले खाला’ भन्ने उखान असल शासनको परिभाषा बनेको छ । तथाकथित वैकल्पिक राजनीतिक शक्ति र सामाजिक अभियन्ताहरू भदौको साँढे बनेका छन् । संसद्मा ‘तीन न तेह्र’का अर्ती दिएको मात्र सुनिन्छ । उनिहरूलाई छुने आँट कसैले गर्दैन । मुख छाडने, गालीबेइज्जती बोल्ने र अर्काको हुर्मत लिने अधिकार यिनीहरूले पाएका छन् । एकताका अदालत, पुलिस र प्रशासनको समेत अख्तियारी प्रयोग गरेर उधुम मच्चाए । स्टिङ अपरेसनसमेत आफैँ गर्थे । सरकार लाज पचाएर टुलुटुलु हेरेर बस्थ्यो । कमजोर राज्यसत्ताको अनुचित फाइदा लिएर केही माननीय र मन्त्रीसमेत भए ।
देश अधोगतितिर लाग्दैछ र अराजकतातर्फ अघि बढ्दै छ । पुराना राजनीतिक दलका नेताहरू आफूलाई सुधारेर जान तयार देखिँदैनन् । उनीहरू पनि पुरानो सोच, शैली र चिन्तनबाट बाहिर आउन नसक्ने, नयाँ देखिएका समूहहरूमा देश सम्हाल्ने परिपक्व विचार, कार्ययोजना र तागत नभएको वर्तमान अवस्थामा मुलुक दुर्भाग्यपूर्ण दुर्घटनामा जाने देखिन्छ । आजको मूल चिन्ताको विषय हो यो ।
नागरिकता र पासपोर्ट काण्डदेखि सहकारी ठगीसम्म आइपुग्दा रविले वास्तविकता लुकाएर ढाटिरहेका छन् । गृहमन्त्री नभई नहुने र सरकारमा जानै पर्ने रविको अडान पनि शंकास्पद थियो । अहिले पनि सहकारी काण्डमा गिरफ्तार हुनबाट बच्न कार्यकर्ता आह्वान गरेर सरकारलाई थर्काइरहेका छन् । ठुला कुरा गरेर मनोवैज्ञानिक दबाब दिने कोशिसमा छन् । सरकार दच्किरहेको देखिन्छ । यो कानुनी राज्यको उपहास हो । नेपालमा परिवर्तनका ठुलाठुला र जोखिमपूर्ण आन्दोलनहरूमा स्वयं गिरफ्तारी दिन जान्थे नेताहरू । फाँसीको सजाय पाएका बिपी देश फर्किएर जेल बसे । गैरकानुनी थुनामा मोहनचन्द्र अधिकारी १६ वर्ष जेल परे । रवी निर्दोष हुन भने मुद्दासँग किन डराइरहेका छन् ? गृहमन्त्री भइसकेको व्यक्तिले कानुनको अवज्ञा गर्नु सहकारी काण्डभन्दा पनि ठुलो रहस्य भित्र लुकेको अनुमान गर्न सकिन्छ । सरकार रविको अगाडि लाचार बन्छ कि कानुन कार्यनयन गर्ने आँट गर्छ हेर्न बाँकी छ ?
अर्का दुर्गा प्रसाई छन् गतिछाडा । आफ्नो धन्दामा मद्दत गरुन्जेल ओली बा र प्रचण्ड काका गजबका थिए । मार्सी भातको भोज ख्वाए । हुनेनहुने काम लगाए होलान् । कुरा मिलेन अहिले सत्तोसराप गर्छन् । कहिले राजा चाहियो भन्छन् । अहिले आफँै राजाभन्दा ठुलो बनेर हिँडेका छन् । सुरुमा ऋण तिर्नै पर्दैन भन्थे । नेपाल भारतको प्रान्त बने हुन्छ, मोटरसाइकल त सस्तो पाइन्छ भने । मारबाडी सबै तस्कर हुन खेद्नुपर्छ भन्छन् । मारबाडीकै अर्बौंको ऋण तिरेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृलाई खप्नै नसक्ने आरोप लगाएर गाली बेइज्जती बोलेछन् । पीडित महिलाको उजुरीमा प्रहरी पक्राउ गर्न गयो । ‘पर्खि ओली तँलाई देखाइदिन्छु, पानी मुनि गए पनि छाड्दिन भन्दै मुख छाडे ।’ आफू गतिछाडने, सराप्ने ओलीलाई । यो गाईजात्रा र नौटंकीलाई पनि राजनीति मानी दिनुपर्ने र दुर्गालाई नायक । मान्छे बुरुक बुरुक उफ्रेर समर्थन गर्छ । उदेक लागेर आउँछ ।
बैंक वा सहकारी जहाँबाट पनि ऋण खान पाइन्छ । ऋण खानु भ्रष्टाचार होइन । खाएको ऋण खाएकै छैन भन्नु अपराध हो । धनराज गुरुङले आफूले ऋण खाएको स्वीकार गरेका छन् । डिभोर्स भए पनि पूर्वपत्नीको नामको ऋणमा साक्षी बसेकाले ऋणको दायित्व बोक्नु पर्छ । धनराज कांग्रेसको नेता र उपसभापति मात्रै होइन असल नेतामा गनिएका मानिस पनि हुन । डिभोर्स व्यक्तिगत कुरा हो । यो कथा वाचन गरेर आँसु झार्दै हिँड्नुको अर्थ छैन । दशा लागेपछि भाम्लो बेहोर्नुपर्ने हुन्छ । ऋणको नैतिक जिम्मेवारी लिन ढिलो नगर्नुहोस् र समस्या राफसाफ गर्नुस् ।
सरकारमा रहनु हुने महाराजाहरू हो ! नैतिक हैसियत गुमाउँदै गएर मुलुक डुबाउने हो कि जोगाउने हो ? हिजो बेलुकी भारतीय टेलिभिजन हेर्दै थिएँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रवासी भारतीयहरूले भव्य र अभूतपूर्व स्वागत गरेको देखेँ । ५०औँ हज्जारको उपस्थितिमा भाजपाका समर्थक मात्र पक्कै थिएनन् । उनका विरोधीहरू पनि थिए होलान् । उनीहरूको यो स्वागत मात्र मोदीको लागी थिएन । उनीहरूले मातृभूमि भारतप्रति अगाध माया अभिव्यक्त गरिरहेका थिए । सबै स्वार्थ र विमतिहरू मन, वचन र कर्मले मोदीमा समर्पण गरेको देखिन्थ्यो । एकाग्र चित्त, उत्साह, गढगढाहढ ताली, प्रसंशा र समर्थनका गुन्जयमान नारा लोभलाग्दा र अनुकरणीय थिए । त्यो थियो देश प्रेम, भूमि प्रतिको स्नेह र भारतीय हुनुको गर्व । के सिख, जैन, हिन्दू वा मुसलमान, तेलेगु हुन कि मराठा, बंगला वा जाट, सब भारतीय स्वाभिमान ! आहा ।
हाम्रो भने प्रधानमन्त्री खडग ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा राखेको कार्यक्रम सुरक्षाको कारण देखाएर स्थगित भएछ । प्रधानमन्त्री अमेरिका टेक्न पाएका थिएनन् कालो झण्डाको खबर ह्वारह्वार्ती आउन थाले । हामीहरू कति खुसी भयौँ । खड्ग ओली व्यक्ति मात्र होइन देशको प्रधानमन्त्री पनि हुन भन्ने कुरा बिर्सियौँ । उनको सम्मान र अपमान नेपालको स्वाभिमानसँग जोडिएको कुरा हो । हामीमा हेक्का रहेन । सारा मर्यादा राष्ट्रिय प्रतिष्ठा र एकताको खिल्ली उडाउने प्रयत्न भएछ । त्यो पनि अप्टी नै अप्टीको थासमाथि बास बसेर बाली बर्बाद गरिरहेका बदेलका बच्चाहरूले । ओली बा मेरी आमा पट्टीका मामा पनि होइनन्, बाउ पट्टीका काका पनि पर्दैनन् । उनी दूधले नुहाएका पनि छैनन्, तर मेरो देशका प्रधानमन्त्री हुन् र नागरिकता त्यागेका अनाचारी र भ्रष्टचारीभन्दा राष्ट्रवादी र इमानदार हुन् । आफ्नो नासो, बैरीको हाँसो के गरेको ? मलाईचाहीँ हजम भएन ।
खासगरी २०६३ पछि नेपालको राज्यसत्ता कमजोर, निरीह र निकम्मा बन्दै गइरहेको छ । आफूले गरेका भ्रष्ट आचरण, गुमाएको राष्ट्रिय स्वाभिमान र दिन नसकेको सुशासनको कारण भ्रष्टाचार नियन्त्रण, कानुन कार्यन्वयन र आदेश तामेलीमा नैतिक हैसियतसमेत गुमाएको छ । सरकारले गर्नुपर्ने अपराध अनुसन्धान, स्टिङ अपरेसन र दण्डसजाय गर्ने काम पत्रकार हँुदा रवि लामिछाने आफँैले गरे । सामाजिक अभियन्ताको नाममा ज्ञानेन्द्र शाही र अरूहरूले पनि त्यसै गरे । माननीय र मन्त्री भए । सरकार बोल्न सकेन ।
उनीहरूकै सिको गरेर केही पत्रकार र सामाजिक अभियन्ताहरू गैरकानुनी काम गरिरहेका छन् । दुर्गा प्रसाईं र अनेकौँ तथाकथित सामाजिक अभियन्ताहरू सरकारको विरुद्ध उफ्रिपाफ्री गरिरहेका छन् । दुर्गा प्रसाईं त अत्याधुनिक हतियार लिएर सर्वोच्च अदालत छिरे । सरकार निरीह बन्यो । दुर्गा प्रसाईंसँग सर्वोच्च डरायो । अदालत हाताभित्र हतियार लान पाइँदैन । त्यो स्तरको हतियारको लाइसेन्स दिने कानुनी व्यवस्था छ जस्तो मलाई लाग्दैन । यो अपराधमा लाइसेन्स दिने र लिने दुबैलाई सजाय हुनुपर्ने थियो । अवैध हातहतियार तथा खरखजना मुद्दामा साधारण तारेखमा छाडने कानुन बनेको छ जस्तो लाग्दैन । जुलुसको हुल र युट्युबको प्रचारले सबै डराए ।
सामान्य मानिस भए रवि सहकारी त के कुरा पासपोर्ट र नागरिकतामा आजसम्म थुनामा हुन्थे । दुर्गा प्रसाईं त ठाडै जेलमा हुने मात्र होइन जुलुस नाराको ब्यापार नचलेको भए बैंकले भएको जायजेथो लिलाम गरिसक्थ्यो । सरकार भ्रष्टचारीलाई कार्यबाही गर्न सक्दैन । लिपुलेक लिम्पियाधुरा भारतको हो भनेर संसद् भित्रै बोल्छन् सरकार चुँ गर्दैन । उपसभामुख जस्तो गरिमामय पदमा बसेको व्यक्ति गति छाडेर बाहिरको व्यक्तिलाई भिसाका लागि अमेरिकन राजदूतावासमा सिफारिस पत्र लेख्छन । अझ पैसा लेनदेनको अडियोसम्म बाहिर आउँदा पनि कारबाही हँुदैन । गरिबलाई ऐन धनीलाई चैन भइरहेको छ । धन, बल, दह्रा तिघ्रा, पाखुरा, हुल र पावरको बन्दक बनेको छ देशको कानुन ।
नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नु, अपराध अनुसन्धान समयमा नहुनु र सीमापारबाट नेपालमार्फत हुने अवैध कारोबार नियन्त्रण हुन नसक्नुमा गुप्तचर संयन्त्रको कमजोरी छ । नेपालमा गुप्तचर संस्था क्रियाशील भए नभएको कसैलाई थाहा हँुदैन । देशमा सशक्त गुप्तचर संस्था खडा नभएसम्म राष्ट्रिय सुरक्षा र आन्तरिक अपराध अनुसन्धानको काम प्रभावकारी हुन सक्दैन । अतः राष्ट्रिय अनुसन्धान विभागलाई खारेज गरेर आधुनिक आइटी समेतको विज्ञता भएका, योग्य, इमानदार र देशभक्त जनशक्ति सम्मिलित नेपाली सेनाको नेतृत्वमा एक सशक्त गुप्तचर संस्था गठन गर्नु आवश्यक छ ।
प्रतिक्रिया