विज्ञानको खोलमा अन्धविश्वासको गुदी

विज्ञान कुतर्क पनि हुन सक्दैन । कुनै संस्कृति वा प्रचलनमाथि जथाभावी आरोप लगाएर मात्र विज्ञानलाई पुग्दैन । विज्ञानले यदि जथाभावी आरोप मात्र लगाउने काम ग¥यो भने कपितय औषधिको साइड इफेक्ट हुन्छ भनेजस्तै हुन्छ । साइडइफेक्ट नै ठुलो हुन दिनु भएन । विज्ञानको नाममा गरिने कुतर्क वा विज्ञान सम्मत नगरिकन सोझै विज्ञानको नाममा गरिने जथाभावी प्रहार पनि साइड इफेक्ट नै हो ।

सञ्जय साह मित्र

भनिन्छ, विनास्वार्थ मानिस केही पनि गर्दैन । कम्तीमा आफ्नो नामको स्वार्थ हुन्छ । बाहिर नामको लागि नभए पनि अभ्यन्तरमा शान्तिको स्वार्थ हुन्छ, सन्तोषको स्वार्थ हुन्छ । आफ्नो नजरमा आफूले राम्रो गरेको हो भन्ने स्वार्थ हुन्छ । निःस्वार्थ सेवामा पनि त्यस किसिमको चिन्तनको स्वार्थ हुन्छ । यद्यपि कपितयले बिनाकुनै स्वार्थ नै काम गरिरहेका छन् । अरूलाई पनि यसरी काममा लगाएका हुन्छन् । काममा यसरी लगाउँछन् कि आफूले काम गरिरहेको पनि पत्तो हुँदैन । अथवा आफू सप्रिइरहेको वा बिग्रिइरहेको पनि पत्तो हुँदैन ।

यसरी नै कतिपय अवस्थामा आफूले मानिरहेको कुरो विज्ञान हो कि, अन्धविश्वास हो भन्ने पनि थाहा हुँदैन । अनि जानकारी नहुँदा बेकारको छ वा अन्धविश्वास छ, भन्ने निष्कर्षमा पुग्न सजिलो भइदिन्छ । जब हामी कुनै निष्कर्षमा पुग्छौँ, तब अरूले यदि त्यो गर्दछ भने, त्यसलाई राम्रो मान्दैनौँ । आफूलाई बढी तार्किक वा वैज्ञानिक दृष्टिकोणको बुझ्न थाल्दछौँ तथा अरूलाई बेकारको बुझ्न थाल्दछौँ । तर, कतिपय बेकारका भनिएका कुरा वा विश्वासहरूमा रहेको वैज्ञानिकता, सामाजिक विज्ञान तथा रहस्यबारे बुझ्न पाउँदैनौँ, ठुलो जानकारीबाट वञ्चित हुन पुग्छौँ ।

कतिपय सवालमा सोझै अन्धविश्वास भनेर पन्छिन खोज्दछौँ । अथवा मान्नेहरूलाई सोझै प्रश्न गर्दछौँ कि, यो अन्धविश्वास हो कि, विज्ञान ? किन यो उपयुक्त हुन्छ ? र यस्ता प्रश्नहरू तेस्र्याएर आफ्नो अभिमानको पसारो अगाडि बढाउँदै आफूलाई जान्ने भनिठान्छौँ । मान्ने हुनु र जान्ने हुनुमा फरक पनि त छ । मान्नेले नजानेर पनि मानेको हुनुपर्छ । चलन कसरी चल्यो, यो महत्वपूर्ण होइन । चलन किन चल्यो, यो महत्वपूर्ण छ । यसैले यो पनि भनिन्छ कि, प्रश्न सोध्नेले पनि अयोग्यलाई प्रश्न सोध्यो भने प्रश्न गर्ने मानिसको योग्यता पनि पुग्दैन । अर्थात्, मान्नेलाई प्रश्न सोध्नु र उसले उत्तर दिन सकेन भन्दै नाक फुलाउनु, आफू विजय भएको ठान्नु, अन्धविश्वास नै किटान गरिदिनु पनि अयोग्य तर्क हुन् । प्रश्न जान्नेलाई सोध्नुपर्छ । हुन सक्छ, जवाफ आउँदैन भने प्रश्न गर्नेले आफूमा प्रश्नको आगो जीवित राख्नुपर्छ । प्रश्नको आगो आफूमा जीवित छ भने त्यस आगोको ज्वालाले कतै न कतै उत्तरको खोजी गराउँछ । उत्तर एकै दिनमा नपाइएला तर एक दिन अवश्य पाइन्छ । जिज्ञासाको समाधानका लागि आफूले पनि प्रयास गर्नुपर्छ । अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ ।

अन्तर्मुखीको मनमा पनि प्रश्न उब्जन्छन् र जवाफ पनि निस्कन्छन् होला । जब प्रश्न उब्जन्छ र समाधानयोग्य जवाफ पनि उम्रन्छ भने मानिस सन्तुष्ट हुन्छ । यदि अन्तर्मुखी मनमा उब्जेको प्रश्नको सन्तोषजनक जवाफ कतैबाट आउँदैन भने अन्तर्मुखीले खोज्ने प्रयास गर्छन् र बहिर्मुखीले यही कुरालाई धेरैका सामु पस्कन्छन् । यथार्थमा ज्ञानको खोजी भगवान् बुद्धबाट यसैगरी भएको हो । जहाँजहाँ सिद्धार्थ शिक्षा ग्रहण गर्न पुग्थे, एकसेएक विद्वान तथा जानकारहरूले जवाफ दिन्थे । ती जवाफहरू कतिपय सैद्धान्तिक र कतिपय व्यावहारिक पनि थिए । जवाफको निचोड हुन्थ्यो, मुक्ति पाउनु । अनि सिद्धार्थ गौतमलाई लाग्थ्यो, आफ्नो मुक्ति ठुलो कुरो होइन । दुःख, पीडा र समस्यामा परेका लाखौँ मानिसलाई पो कसरी मुक्ति दिलाउन सकिन्छ ? कसरी समस्यामा समाधान खोज्ने बाटो दिन सकिन्छ ? कसरी हिँड्दा सबैको मन सन्तुष्ट हुन पुग्छ ? सिद्धार्थले आफ्नो मुक्ति त चाहेकै होइनन् । अनि जो आफ्नो मुक्तिको लागि प्रयासरत रहन्थे तिनीबाट सिद्धार्थ अन्ततः सन्तुष्ट हुन पाउँदैनथे र त्यहाँबाट त्याग गरेर हिँड्थे । आखिरमा सिद्धार्थको अन्तर्मनले नै उनलाई चेतना दिएको हो । खोजी गर्दा हरेक समस्याको समाधान सम्भव छ र हरेक प्रश्नको उत्तर खोज्न सकिन्छ भन्ने कुरा सिद्धार्थको कहिल्यै ननिभ्ने जिज्ञासाको शान्तिले दिएको हो ।

आजको युगकलाई खोज, अनुसन्धान र वैज्ञानिक तर्कको युग भनिएको छ । मानिसले धेरै पुराना कुराहरूबारे पनि नयाँ खोज र अनुसन्धानले विचारको नवीकरण गरेका छन् । कतिपय पुराना कुराहरूको पुनः खोजी भएको छ । उदाहरणका लागि ग्रहहरूबारे पहिले खोजी पूर्वमा भएको हो कि, पश्चिममा ? सामान्य रूपले धेरैले भन्ने गरेका छन् कि, ग्रहबारे पश्चिमा विज्ञानले जानकारी दिएको छ, तर कतिपयले यसरी पनि भनिरहेका छन् कि, ग्रह शान्तिबारे धेरै श्लोकहरू वेद र पुराणमा वर्णित छ । कतिपयले यो पनि तर्क दिने गरेका छन् कि, पृथ्वीबाट सूर्यको दुरीबारे ४०० वर्ष अगाडि हनुमान चालिसमा तुलसीदासले उल्लेख गरिसकेका छन् । यो पनि भन्ने गरिन्छ कि, साधुसन्तहरूले लाउने गरेको तुलसी वा रुद्राक्षको मालामा हुने १०८ दानाको सम्बन्ध चन्द्रमा र सूर्यसित रहेको छ । चन्द्रमा र सूर्यको दुरीको सम्बन्ध मालाको दाना संख्यासित रहेको छ ।

भन्नुको तात्पर्य यो हो कि, जति धेरै जान्दै गयो उतिउति जान्न बाँकी रहन्छ । यस आधारलाई नै नमान्नेहरूले कुनै कुरामा पनि विश्वास गर्दैन । सबै कुरालाई अन्धविश्वास मान्नेहरूले औषधिको कुरामा झन् बढी अन्धविश्वासी हुने गरेको पनि पाइन्छ । फलानो कम्पनीको पारासिटामोलले काम कम गर्छ र फलानो कम्पनीको पारासिटामोलले बढी काम गर्छ भन्ने धारणा पनि तिनीहरूले आफूले परीक्षण गरेको कुनै वैज्ञानिक आधारमा बनाएका हुँदैनन् । किनभने धारणा बनाउने विज्ञान कतै पनि हुँदैन । कुनै धारणाको प्रयोगशाला कतै होला ? तर कुतर्कको प्रयोगशाला यत्रतत्र र सर्वत्र बनाउन सकिन्छ । आधारयुक्त प्रश्न उब्जाउने हैसियत नहुँदा बढी मात्रामा कुतर्कका प्रयोगशालामा प्रयोगशास्त्रीहरू व्यस्त रहन्छन् । कतिपय सवालमा विज्ञान र अन्धविश्वासका सीमाहरू निर्धारण गर्छन् ।

विज्ञान अन्धविश्वास होइन, तर यदि विज्ञानको नाममा जेमा पनि विश्वास गर्ने हो भने अन्धविश्वासलाई पनि विज्ञानको खोलमा बेच्न सकिन्छ । जसरी अहिले बजारमा ताजा र स्वस्थ्य खाजाको नाममा अनेक किसिमका हानिकारक पदार्थ राखी प्लास्टिक प्याकमा बिक्री भइरहेका छन् । गुणस्तरीय भन्नु र गुणस्तरीय हुनुचाहिँ फरक कुरा हुन् । कुनै सामग्रीको नाम नै गुणस्तरीय राख्न सकिन्छ । कुनै उत्पादनको नाम वा कम्पनीको नाम नै सर्वोत्कृष्ट हुन सक्छ र सर्वोत्कृष्ट खोलमा निकृष्ट सामग्री पनि बिक्री गर्न सक्छ । हो, विश्वास, अन्धविश्वास र विज्ञानमा पनि सचेत हुनैपर्छ । सचेतता पहिलो विज्ञान हो । हरेक बिहान नुहाउनु विज्ञान हो कि, अन्धविश्वास ? अहिले कसरत वा योगको नाममा मानिसले हरेक दिन जे गर्न खोजिरहेका छन् वा गरिरहेका छन्, ती विज्ञान कि, अन्धविश्वास ?

जति बेला कोरोनाको साम्राज्य विस्तार भएको थियो, त्यतिबेला सर्वसाधारणले विभिन्न जडीबुटीको सेवन गरिरहेका थिए, ती वनस्पतिहरू हाम्रै वरपर थिए । तिनीहरूबारे घरघरमा रहेको टेलिभिजन र रेडियोले जानकारी दिइरहेका थिए । उसो भए तिनीहरू विज्ञान थिए कि, अन्धविश्वास ? नसोचेरै, नसम्झेरै तथा नबुझेरै वरपरको विज्ञानलाई बुझ्न सजिलो छैन । भनिन्छ, संसारमा धेरै मानिस सास फेर्न नजानेर नै पनि मर्छन् । आखिर सास फेर्न कसलाई पो आउँदैन ? तर यो पनि सत्य हो कि सास फेर्नका लागि सिकाउने धेरै जना रहेका छन् । सास फेर्न जान्नेहरूको संगत गरेपछि बल्ल वास्तवमा सास फेर्न पनि जान्न सकिँदो रहेछ ।

विज्ञान कुतर्क पनि हुन सक्दैन । कुनै संस्कृति वा प्रचलनमाथि जथाभावी आरोप लगाएर मात्र विज्ञानलाई पुग्दैन । विज्ञानले यदि जथाभावी आरोप मात्र लगाउने काम ग¥यो भने कपितय औषधिको साइड इफेक्ट हुन्छ भने जस्तै हुन्छ । साइडइफेक्ट नै ठुलो हुन दिनु भएन । विज्ञानको नाममा गरिने कुतर्क वा विज्ञान सम्मत नगरिकन सोझै विज्ञानको नाममा गरिने जथाभावी प्रहार पनि साइड इफेक्ट नै हो । हुन पनि हो, विज्ञानको प्रयोग पनि हरेक समय र हरेक ठाउँमा हुन सक्दैन । निश्चित वातावरणमा र निश्चित सामग्रीका साथ हुन्छ । यसैले कुनै पनि तर्क वा तथ्यलाई सोही अनुसार काट्नुपर्छ । अन्धविश्वास जस्तै लाग्ने हरेक चलन, विश्वास तथा संस्कृति पूर्णतया अन्धविश्वास नै होइनन् वा अविज्ञान नै होइन । कतिपय संस्कृति वा विश्वासका पछाडि गहन अनुसन्धान पनि हुन सक्छ, धेरै लामो समय लागेको पनि हुन सक्छ । विज्ञानलाई अन्धविश्वास वा अन्धविश्वासलाई विज्ञान मान्नु दुवै अतिवादी दृष्टिकोण हुन् ।

प्रतिक्रिया