म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।
उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरू । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरूसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरू । नीलो रङका मनमोहक ताल ।
पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्यांग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैँचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड ।
लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए । ‘बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो’, उनले भने, ‘अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरू आउने गर्छन् ।’
जर्मनका ५ जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरू खुसी भएका सुनाए ।
सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवद्र्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा १ लाख २१ हजार ३५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उनका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् ।
आव २०७९–०८० मा ७१ हजार ७०७ र आव २०७८–०७९ मा ३८ हजार ८९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा ७ हजार ५९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको संख्या ५ हजार १७५ थियो ।
अन्नपूर्ण चक्रीय पदमार्गको साहसिक गन्तव्य थोराङ्ला भञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको संख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताए । समुन्द्री सतहबाट ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ ।
आव २०७९–०८० मा ५ हजार ६४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त संख्या बढेर १३ हजार ५०७ पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धवलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गरे ।
कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि ५०० डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिए ।
बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा ४ लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरीचौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार ३ लाख १८ हजार ८१४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९–०८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या ३ लाख ३ हजार ८०० थियो ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा संघीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता बिस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताए ।
उनका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा ४०० को हाराहारीमा होटल तथा रेस्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।
उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । ‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ’, उनले भने, ‘उपल्लो मुस्ताङमा दैनिक १ हजार ५०० पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक ३ हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्यामा छन् ।’
प्रतिक्रिया