रविले जितेकी, गगनले ?

विन्दुकान्त घिमिरे

लामिछाने मुछिएको सहकारी प्रकरण मूलतः आर्थिक मुद्दा हो । भ्रष्टाचारको कसुर आकर्षित हुने मुद्दा हो । तर, यो प्रकरणले राजनीतिक रूप लियो । किनकी गोर्खा मिडिया कम्पनीबाट लामिछाने बाहिरिएको दिनदेखि उनी दोस्रोपटक गृहमन्त्री हुँदै गर्दाको दिनसम्म बागमतिमा धेरै पानी बगिसकेको थियो । तर, उनी दोस्रोपटक गृहमन्त्री हुनासाथ यो प्रश्न उठाइयो । त्यसअघि नेपाली कांग्रेस के हेरेर बसेको थियो ? कांग्रेसका महामन्त्री गगन थापा के हेरेर बसेका थिए ? भन्ने प्रश्नले पनि यो प्रकरणले राजनीतिक मुद्दाको स्वरूप लिएको हो ।

सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी ‘उत्सव’ मनाइरहेको छ । जुन अभियोगमाथि संसदीय छानबिन समिति गठन गरिएको थियो, त्यो अभियोग पुष्टि हुन नसकेको कुरा प्रतिवेदनमै उल्लेख भएको दाबी रास्वपाको छ ।

संसदीय छानबिन समितिले गत सोमबार प्रतिवेदन बुझाए लगत्तै रास्वपाका नेताहरूले मिडियाकर्मीमाझ खुसी प्रकट गरे । रास्वपाका तर्फबाट संसदीय छानबिन समतिमा रहेका सांसद शिशिर खनाले भने, ‘सहकारीको रकम हिनामिना गरेको छ भन्ने आक्षेपबाट रवि लामिछानेले पूर्ण क्लिनचिट पाउनुभएको छ ।’ त्यसपछि रास्वपा सभापति रवि लामिछाने प्रफुल्ल मुद्रामा प्रस्तुत हुँदै भने, ‘ल मैले त राख्नुपर्ने के छ र अब । संसदीय समितिलाई धन्यवाद दिन्छु, ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भएको छ, पुष्टि भएको छ ।’ उपसभापति स्वर्णिम वाग्लेले भने, ‘रास्वपालाई क्षति गर्न सकिन्छ कि भनेर राजनीतिक क्षेप्यास्त्रका रूपमा संसदीय समिति माग गरिएको थियो, आजबाट त्यो पूर्ण रूपमा खारेज भएको छ ।’

यता मुख्य झगडीया नेपाली कांग्रेसले भने रास्वपा सभापति लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपलाई संसदीय छानबिन समितिले पुष्टि गरेको जनाएको छ । संसदीय छानबिन समिति गठनका लागि करिब ३ महिनासम्म सडक र सदनमा संघर्ष गरेको नेपाली कांग्रेसले आफ्नो संघर्ष सफल भएको जनाएको छ । लामिछानेमाथि सहकारी ठगी प्रकरणको मुद्दा उठान गरेको मात्रै होइन टुंगोमा पुर्याउनसमेत नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहं भूमिका निर्वाह गरेका थिए । यसबापत पार्टी सभापति देउवाले महामन्त्री थापालाई धन्यवाद दिएका छन् ।

गत बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सय दिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले महामन्त्री थापालाई धन्यवाद दिँदै भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

छानबिन समितिको प्रतिवेदन संसद हुँदै सरकारसम्म पुगिसकेको छ । तर छानबिन समितिको प्रतिवेदनलाई लिएर रास्वपा र नेपाली कांग्रेसको प्रतिक्रिया ठिक उल्टो छ । दुवैले जितेको दावी गर्दै खुसी प्रकट गरिरहेका छन् । यता रास्वपाले सभापति रवि लामिछानेलाई बधाइ दिइरहेको छ भने उता नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई बधाइ दिएको छ । जबकी एउटै मुद्दामा दुवै झगडियाले जित्ने भन्ने संभावना नै हुँदैन । एउटाले जित्दा अर्काले हार्छ । एउटाले हार्दा अर्काले जित्छ । तर रवि लामिछाने र गगन थापा दुवैले जितेको दाबी गरेका छन् । यी दुवै नेताका कार्यकर्ताहरू विजयोत्सव मनाइरहेका छन् । तर गगनले जितेकी, रविले ? भन्ने मामिलामा जनता झन् अन्योल छन् ।

के का लागि छानबिन समिति ?

छानबिन समितिका सभापति सूर्य थापाले रवि लामिछाने पूर्णतः दोषी ठहर भएको भन्दै मिडियामा अन्तर्वार्ता दिइरहेका छन् । उनले विभिन्न तर्क दिइरहेका छन् । तर जे छ, समतिको प्रतिवेदनमै छ । प्रतिवेदन नै पेस गरिसकेपछि समितिको जिम्मेवारी सकियो । समतिमा रहनेहरू भूतपूर्व भइसके । किनकी समितिनै ‘तत्कालीन’ भइसक्यो । त्यसैले तत्कालीन छानबिन समितिका सभापति थापाको तर्कमा कुनै तुक हुँदैन । किनकी ‘कुनै पनि सहकारीबाट रवि लामिछानेले रकम लगेको देखिएन’ भनेर प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

लामिछानेले कुनै पनि सहकारीबाट गैरकानुनी रूपमा रकम निकालेको प्रमाण फेला नपरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको यो अंश विश्लेषण गर्ने हो भने संसदीय छानबिन समितिले आफ्ना सभापति लामिछानेलाई सहकारी ठगीको आरोपमा क्लिन चिट दिएको रास्वपाको तर्कलाई अन्यथा लिनुपर्ने अवस्था देखिन्न । बरु नेपाली कांग्रेसकै उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न रहेको आशंका गर्दै उनीमाथि थप छानबिन हुनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले रास्वपाका सभापति लामिछानेलाई दोषी ठहर गरेको गोर्खा मिडिया कम्पनी सञ्चालनका क्रममा भएको अनियमतिताका सन्दर्भमा हो । छानबिन समितिलाई सहकारी प्रकरणको मात्रै टिओआर थियो कि ? रवि लामिछाने अवद्ध रहेका सबै कम्पनीहरूमाथि छानबिन गर्ने टिओआर थियो ? भन्ने विषय विश्लेषणको छुट्टै पाटो हो । तर छानबिन समितिमा सहभागी भएका रास्वपाका सांसद शिशिर खनाल स्वयं गोर्खा मिडिया कम्पनीको आय तथा व्याय विवरण अध्ययनमा संलग्न देखिएका कारण समितिको टिओआरका सन्दर्भमा प्रश्न उठाउने ठाउँ रवि लामिछानेलाई छैन ।

गोर्खा मिडिया भनेको सहकारी होइन । जिवी राई अध्यक्ष रहेको मिडिया कम्पनी हो । जसले करिब १ वर्ष ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको थियो । गार्खा मिडिया कम्पनीमा लामिछाने सेयर होल्डरका रूपमा सहभागी थिए । उनी त्यो कम्पनीको प्रबन्धनिर्देशक थिए । सहकारीबाट गैरकानुनी रूपमा निकालिएको रकमबाट गोर्खा मिडिया कम्पनी सञ्चालनमा रहेका कारण तत्कालीन महाप्रवन्धक लामिछानेसमेत दोषी ठहर भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले सर्वसम्मत रूपमा तयार गरेको प्रतिवेदनको निचोड छ, ‘सहरकारीबाट रकम झिक्ने भूमिकामा रवि लामिछानेको संलग्नता देखिँदैन, तर सहकारी ठगी गरेर ल्याएको रकम बाँडफाँड तथा खर्चमा भने उनको भूमिका देखिन्छ ।’ पैसा खर्च गर्ने मामिलामा दोषी देखिएको भन्दै लामिछानेमाथि कानुनअनुसार कारबाही अघि बढाउन समितिले सरकारसमक्ष सिफारिस गरेको छ । त्यसैले रास्वपाका सभापति लामिछाने दोषी ठहर भए वा निर्दोष ? भन्ने सन्दर्भमा धेरैले आआफ्नो स्वार्थ अनुसारका दृष्टिकोणहरू सार्वजनिक गरेका छन् । जब कुनै घटनामा राजनीति मिसिन्छ, तब यस्तै हुन्छ । लामिछाने सञ्चारकर्मी रहँदासम्म यो प्रकरण सतहमा आएन, जब उनी राजनीतिकर्मी बन्दै छोटो समयमै शिखरमा पुगे तब यो प्रकरण सतहमा आयो । यदि उनी राजनीतिमा आएको हुँदैनथे, वा राजनीतिमा आएर पनि सफल भएका हुँदैनथे भने यो प्रकरण यसरी सतहमा ल्याइने थिइएन । यो छानबिन मिसन २०८४ सँग जोडिएको छ । अहिले गगन र रवि दुवैले जितेको दावी गर्नु र समर्थकहरू एकअर्काबीच हिलो छ्यापाछ्यापमा उत्रनुको मुख्य कारण भनेकै मिसन ८४ हो ।

कसरी मिसियो राजनीति ?

त्यतिबेला नेपाली कांग्रेसले उठाएको आवाज तथा संसद्मा कांग्रेसका महामन्त्री गगन थापाले गरेको भाषण स्मरण गर्ने हो भने छानबिन समिति गठन गर्नुको मुख्य उद्देश्य नै रास्वपाका सभापति लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम निकालेका थिए कि, थिएनन् ? भन्ने हो । लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका कारण यो आरोप लागेको हो कि, उनी साँच्ची नै यसमा संलग्न थिए ? भन्ने प्रश्न आमचासोको विषय बनेको थियो ।

लामिछाने मुछिएको सहकारी प्रकरण मूलतः आर्थिक मुद्दा हो । भ्रष्टाचारको कसुर आकर्षित हुने मुद्दा हो । तर, यो प्रकरणले राजनीतिक रूप लियो । किनकी गोर्खा मिडिया कम्पनीबाट लामिछाने बाहिरिएको दिनदेखि उनी दोस्रोपटक गृहमन्त्री हुँदै गर्दाको दिनसम्म बागमतिमा धेरै पानी बगिसकेको थियो । तर, उनी दोस्रोपटक गृहमन्त्री हुनासाथ यो प्रश्न उठाइयो । त्यसअघि नेपाली कांग्रेस के हेरेर बसेको थियो ? कांग्रेसका महामन्त्री गगन थापा के हेरेर बसेका थिए ? भन्ने प्रश्नले पनि यो प्रकरणले राजनीतिक मुद्दाको स्वरूप लिएको हो ।

जुन बेला जिबी राईले सहकारीहरूबाट धमाधम गैरकानुनी रूपमा रकम ल्याएर गोर्खा मिडिया सञ्चालन गरेका थिए, रवि लामिछानेले माइक फुट्ने गरी ग्यालेक्सी टेलिभिजनबाट पुराना पुस्ताका नेताहरूलाई गाली गरिरहेका थिए, त्यो बेला नेपाली कांग्रेस सत्तामै थियो । अझ सत्ताको नेतृत्वमै थियो । त्यो टेलिभिजन च्यानल गगन थापाको हो कि ? भन्ने अनुमान गर्नेहरू थुप्रै थिए । कार्यक्रम प्रस्तोता रवि लामिछानेले हरेक कार्यक्रममा एउटा कुरा छुटाउँदैनथे, ‘साविकका पार्टीहरू असफल भए, नयाँ पार्टी स्थापित गर्न संभव नभएको इतिहासले देखायो, त्यसैले गगन थापाजस्ता युवा नेता पुराना पार्टीको नेतृत्वमा पुग्नुपर्छ ।’

गगन थापालाई कांग्रेसको महामन्त्री पदमा चुनाव जित्न रविको यो अभियानले सहयोग पु¥याएको हो वा होइन ? भन्ने प्रश्न पनि आफ्नो ठाउँमा छ । किनकी अघिल्लोपटक महामन्त्री पदमा चुनाव लड्दा ५०० हाराहारीमा भोट ल्याएर पराजित भएका गगनले पछिल्लोपटक ३२ सय हाराहारी मत ल्याएर महामन्त्री पदमा चुनाव जिते । ग्यालेक्सीमा प्रवेश गरेपछि मात्रै होइन, न्युज २४ मा छँदादेखि नै लामिछाने गगन थापालाई सफल बनाउन एकलब्य रूपमा लागेकै थिए ।

त्यतिबेला गगन थापाको मुख्य मिडिया सहयोगी लामिछाने नै थिए । यी २ बीच बाक्लो सम्पर्क हुने गरेको धेरैलाई थाहा छ । स्थानीय चुनावको परिणाम आयो । काठमाडौँ, धरान, धनगढी लगायतका केही पालिकामा स्वतन्त्र उम्मेद्वारहरूले भारी मतको अन्तरमा चुनाव जिते । खासगरी देशको राजधानी सहर काठमाडौँ महानगरपालिकाको मेयर पदमा मधेसी मुलका युवा बालेन शाहले स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव जितेपछि लामिछाने पनि राजनीतिमा होमिन हौसिएका हुन् । २०७९ साउनमा उनले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टी गठन गरे । हतारमा चुनाव लडे । प्रदेशसभा निर्वाचनका लागि त दल दर्ता गर्ने समय नै पाएनन् । तै पनि ठूला दलहरूलाई चुनौती दिँदै प्रतिनिधिसभामा २० सिट जिते ।

आमनिर्वाचनका क्रममा गगन र रविबीच गोप्य तालमेल भएको चर्चा नचलेको होइन । चर्चा मात्रै भएको हो या साचिकै गोप्य तालमेल भएको हो ? यसै भन्न सकिने अवस्था रहेन । गगनको निर्वाचन क्षेत्र र प्रदीप पौडेलको निर्वाचन क्षेत्रमा लामिछाने घण्टी बजाउन नगएको विषयमा मिडियाले समाचार लेखे । लामिछाने तथा उनको पार्टीका कतिपय उम्मेद्वारहरूको निर्वाचन क्षेत्रमा रुखको झण्डा बोकेर गगन थापा नगएको भन्दै धेरै मिडियाहरूले समाचार लेखे । नेपाली कांग्रेससँग मिलेर चुनाव लडेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गगनमाथि खुलमखुला रूपमा यो आराप लगाए । गगन थापाका समर्थकहरूले रुख चिन्हको उम्मेद्वार नभएको ठाउँमा घण्टीमा भोट हालेको समाचार निकै आए । गोप्य मतदान कसैले देख्ने कुरा भएन । तर समाजिक संजालमा कतिपयले गगन र रविको तस्बिर एकै ठाउँमा राखेर चुनाव प्रचार गरेको सत्य हो । त्यतिबेला को रविका कार्यकर्ता हुन्, को गगनका ? भन्ने छुट्याउन हम्मे हम्मे परेको कुरा सत्य हो ।

चुनावमा २० सिट ल्याएका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । अब उनलाई गगन थापा स्थापित गर्नु जरुरी भएन । गगन र रवि प्रतिस्पर्धी भए । यो अवधिमा पासपोर्ट काण्ड भयो । रवि लामिछाने नागरिकताविहीन भए । उपप्रधानमन्त्री पद गयो, सांसद पद गयो, पार्टीसभापति पद गयो । तर, केही महिना भित्रै अझै सानदार भोट ल्याएर चुनाव जिते । रामचन्द्र पौडेल राष्ट्रपति भएका कारण रिक्त रहेको तनहुँ क्षेत्र नं १ मा रवि लामिछानेले कांग्रेसका स्वर्णिम वाग्लेलाई आफ्नो पार्टीमा लगेर टिकट दिए । त्यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले गगन थापालाई प्रचारप्रसारको कमान्डर तोकेको थियो । गगन र रवि पहिलोपटक तनहुँ क्षेत्र नं १ मा आमनेसामने भए । स्वर्णिम वाग्लेलाई चुनाव जिताउन रवि सफल भए । गोविन्द भट्टराईलाई चुनाव जिताउन गगन असफल भए ।

लामिछाने गोर्खा मिडियाबाट बाहिरिएको करिव २० महिनापछि गोर्खा मिडियाको हिसाबकिताब खोजिनुमा राजनीति मिसिएको अनुुमान गरिनुको मुख्यपृष्ठभूमि यही नै हो ।

आशा गरिएका युवा नेता

सहकारी ठगीको मुद्दा उठाउन मुख्य भूमिका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको थियो । गगन थापा जत्तिको जिम्मेवार नेताले यो मुद्दा उठाएका कारण लामिछाने साँच्ची नै संलग्न भएका हुन् कि, भन्ने धेरैलाई लागेको थियो । संसद्भित्र वा बाहिर बोल्न क्रममा पनि कांग्रेस महामन्त्री थापाले लामिछानेको संलग्नताका सन्दर्भमा आफूसँग यथेष्ट प्रमाणहरू रहेको दाबी गरेका थिए । छानबिन समिति गठन पनि सानो प्रयत्नले भएको थिएन ।

संसद् अवरुद्धजस्तो अन्तिम हतियार प्रयोग गरेर छानबिन समिति गठन गरिएको थियो । अब छानबिन समितिले लामिछानेलाई सहकारी ठगी प्रकरणमा क्लिन चिट दिएपछि कांग्रेस महामन्त्री थापामाथि के कस्तो नैतिक संकट आउँछ ? भन्ने प्रश्न निकै विचारणीय छ । बास्तवमा रास्वपा सभापति लामिछाने र कांग्रेस महामन्त्री थापा दुवै जना देश र जनताले भरोषा गरेका ज्वाजल्यमान युवा नेताहरू हुन् । देशको राजनीति निराशाजनक हालतमा गुज्रे पनि भविष्य सकारात्मक हुन सक्छ भनेर जनताले आशा गर्नुको मुख्य कारण पनि यिनै २ जना नेताहरू हुन् । तर देशको भविष्य सम्हाल्ने भनेर आशा गरिएका यी दुई युवा नेताहरू स्वयं नै एकअर्कालाई सिध्याउने गरी द्वन्द्वमा उत्रिए । जुन दुर्भाग्यपूर्ण थियो ।

७ महिना लामो समय खेर गयो । अब प्रतिवेदन आइसकेको छ । सहकारी ठगीमा क्लिन चिट पाएका कारण आफूले जितेको ठम्याइमा रास्वपा सभापति लामिछाने पुुग्नु स्वभाविकै हो । गोर्खा मिडिया सञ्चालन गर्दा साझेदारहरूले के कसरी रकम जुटाए भन्ने होस् पु¥याउन नसकेका कारण लामिछाने कारबाहीको भागिदार भएकोले आफूले जितेको ठम्याइमा कांग्रेस महामन्त्री थापा पुग्नु स्वभाविकै हो । तर, यी दुवै नेताले अब घमण्ड नगर्दा नै जाति हुन्छ । किनकी यो प्रकरणमा दुवैले हारेका छन् र दुवैले पाठ पनि सिकेका छन् । आफूलाई जिबी राईसम्म पु¥याउने को थियो ? भन्ने कुरा रविलाई पक्कै पनि थाहा होला ।

रविले संसदीय छानबिन समितिको प्रतिवेदनलाई स्वीकार गरिसकेका छन् । केही महिनाअघि ठ्याक्कै यस्तै आरोप लागेका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीकी सांसद गीता बस्नेतलाई कारबाही गरेको थियो । उनीमाथि थप छानबिन गर्न राप्रपाले सरकारसँग माग गरेको थियो । हार फरार रहेकी राप्रपाकी सांसद गीता बस्नेतमाथि लागेको अरोप के हो ? अहिले संसदीय छानबिन समितिले रास्वपाका सभापति लामिछानेमाथि कुन आरोपमा कारबाहीको सिफारिस गरेको हो ? भन्ने प्रश्न तुलनायोग्य छन् ।

३ महिनाअघि नवलपरासीको छिपछिपे उपभोक्ता सहकारीको रकम दुरुपयोग गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त सहकारीको रकम बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको थियो । त्यतिबेला सहकारीको करिब ९० लाख रुपैयाँ रिसोर्टमा प्रवाह भएको थियो । एक दशकअघि स्थापना भएको रिसोर्टमा सांसद बस्नेत र उनका ज्वाई नगेन्द्र रिमाल सञ्चालक थिए । रिमाल स्वयं पनि छिपछिपे सहकारीका सचिव हुन् ।

कृष्णसार रिसोर्टमा सांसद बस्नेत सञ्चालक मात्रै थिइन् । सहकारीको रकम रिसोर्टमा प्रवाह भएको आधारमा प्रहरीले अनुसन्धान गरी सांसद बस्नेतमाथि समेत मुद्दा चलाएको थियो । त्यही आधार टेकेर कांग्रेस सांसदहरूले सहकारीमा संलग्न नभए पनि गोर्खा मिडियामा आवद्ध भएकाले रवि लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याई मुद्दा चलाउनुपर्ने माग गरेका थिए । राप्रपाका तर्फबाट छानबिन समितिको सदस्य बनेका ध्रुबबहादुर प्रधानको प्रतिक्रिया छ, ‘सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिकालाई २ कोणबाट हेरिनुपर्नेछ, एकातिर उहाँको नाममा तीन करोड रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको छ, त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्नुहुन्छ, गोर्खा मिडियामा उहाँ कार्यकारी भूमिकामा रहेकाले रकम भित्र्याए बापत आकर्षित हुने जिम्मेवारीबाट भाग्न मिल्दैन ।’

रवि लामिछानेको नाममा बुटबलको सुप्रिम सहकारीबाट २ करोड र पोखराको सूर्यदर्शन सहकारीबाट १ करोडको ऋण गोर्खा मिडियामा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । पोखराबाट रविको नाममा निकालिएको ऋणको रकम चुक्ता भएको छ । बुटबलको सुप्रिमबाट रकम निकालेर गोर्खा मिडियाको खातामा जम्मा गर्ने कर्मचारीलाईसमेत मुद्दा चलेको छ ।

प्रतिक्रिया