हौसिएको बाली अर्थात् बालेन !

ऐतिहासिक धरहरालाई सेतो टावर भन्ने बालेनमा सांस्कृतिक तथा ऐतिहासिक चेत कति कमजोर र दयनीय अवस्थाको रहेछ थाहा हुन्छ । अनि सिंहदरबार जलाउँछु भन्ने बालेनको कट्टु मात्र लगाउने केटौलेपनका पात्र हुन् भन्ने सहजै अवगत हुन्छ । अनि प्रम ओलीको कार्यकालमा पुनःनिर्मित ऐतिहासिक धरहरालाई ओझेल पार्ने गरी त्यसको भुइँतहमा निर्मित पार्कलाई निःशुल्क उपलब्ध गराउनु अत्यन्त सस्तो प्रचारबाहेक केही नै होइन ।

प्राडा बद्रीविशाल पोखरेल

हौसिएको बाली फल्दैन, छिटै ढल्छ । न आत्तिनु र नपात्तिनु पनि भन्थे पुर्खाहरूले, तर कहिल्यै नसोचेको राजनीतिक चिट्टा पर्दा हौसिएर खपिनसक्नु भएको देखिन्छ । यस्ता बाली केही समयपछि धुलो र खरानी भएको देखिन्छ । एसएलसीमा बोर्ड फस्ट गरेकै आधारमा र जवाहरलाल नेहरू विश्व विद्यालयबाट विद्यावारिधि गरेका महाविद्वान् भनेकै बाबुराम भट्टराईका पछि स्यालहुइयाँ गरियो । आखिर तिनको बिल्लीबाठ भयो । धरान उपमहानगरपालिकाका उटपटेयाङे नगर प्रमुखलाई प्रायोजित रूपमा मिडिया र सामाजिक सञ्जालले खुब मरमसला हालिरहेको देखिन्छ । तर बरा विचरा तिनले धरानमा धार्मिक द्वन्द्व सिर्जना गर्न सुरुङ खनिरहेका छन् । यसरी नानीमैयाँजस्ता अनेकन हौसिएका बालीहरू पटकपटक ढलेको देख्नेहरू पर्ख र हेर अवस्थामा रहेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र उर्फ बालेनबारे उल्लिखित शीर्षकलाई पुष्टि गर्ने अनेकन उदाहरण छन्, तर बालेनलेझैँ प्रधानमन्त्री ओलीका बारेमा नितान्त मनोगत र मनगढन्ते आरोप म उनलाई लगाउने छैन । किनभने मैले कसैलाई पनि अति प्रशंसा र अतिनिन्दा दुवैबाट बच्नुपर्छ भन्ने सिकेको छु । आग्रहरहित भएर यस लेखलाई अध्ययन गर्नेले सत्य तथ्य स्वीकार्छ नै । तर्क तथ्यलाई पनि हत्तपत्त सहन नगर्ने र स्वीकार नगर्नेसित एक्लाएक्लै बसेर घुँडा धसेर कुरा गर्ने हो भने सत्य स्वीकार्न बाध्य हुनुपर्छ । अहंका कारण तत्काल सत्य अस्वीकार गरे पनि ठण्डा दिमागले स्वीकार्न बाध्य हुनुपर्छ । मानिस भनेको नरपशु हो यसको बुद्धि ढिलोचाँडो आउँछ नै । तर, चार खुट्टे जनावरको कहिल्यै शुद्धिबुद्धि र चेत पलाउँदैन ।

ऐतिहासिक धरहरालाई सेतो टावर भन्ने बालेनमा सांस्कृतिक तथा ऐतिहासिक चेत कति कमजोर र दयनीय अवस्थाको रहेछ थाहा हुन्छ । अनि सिंहदरबार जलाउँछु भन्ने बालेनको कट्टु मात्र लगाउने केटौलेपनका पात्र हुन् भन्ने सहजै अवगत हुन्छ । अनि प्रम ओलीको कार्यकालमा पुनःनिर्मित ऐतिहासिक धरहरालाई ओझेल पार्ने गरी त्यसको भुइँतहमा निर्मित पार्कलाई निःशुल्क उपलब्ध गराउनु अत्यन्त सस्तो प्रचारबाहेक केही नै होइन । यसले सामान्य मानिसमा धरहरा निर्माणलाई भन्दा निःशुल्क पार्किङ सुविधा दिलाएकोमा वाहवाही लुट्न खोजेको यसै देखिन्छ । हुँदाहुँदा धरहरा उद्घाटन गर्दाको शिलालेखसमेत बालेनले हटाउन लगाएको थाहा हुँदा उनी कतिसम्म दरिद्रतम सोचग्रस्त रहेछन् भन्ने बोध हुन्छ ।

अनुहारले, वंश र अंशले, महँगा लुगाफाटो र टाइ र दक्षिण भारतीय हिरोको नक्कली चस्मा लगाएकै भरमा ठूलो र असल मानिस देखिन खोजेर दुनियाँलाई केही दिन भ्रममा पार्न सकिन्छ, तर षड्यन्त्र र छलछाम धेरै दिन लुक्तैन । प्रसिद्ध लेखक अन्जु कार्कीको लेख सौर्य पत्रिकामा प्रकाशित छ । हिंसा शब्ददेखि तर्सिएर र त्यसबाट सदनमै मुर्छा पर्न लागेका प्रचण्डले बाँदरमुढेजस्ता देशैभरिका लाखौँ बालबालिकाको हत्या, हिंसा, र तिनलाई अनाथ र टुहुरा बनाएको यथार्थ उक्त लेखमा रहेको छ । बाल बालिकालाई मन दुख्ने कडा शब्द र शब्दावली पनि बोल्न हुन्न र उनीहरूलाई मायालु तरिकाले हरदम प्रोत्साहित गर्नुपर्छ भन्ने ओलीलाई बालदिवसकै दिन अशोभनीय, अशिष्ट दुर्वाच्य बोले बालेनले । कुनै पनि मानिसले र उसकै मुखैले बोल्न पनि नसुहाउने बोली बोलेछन् बालेनले ।

संस्कृतको एउटा श्लोकमा मुख प्रक्षालनात् पूर्व गुद प्रक्षालनात् यथा… अर्थात् मुख धुनुभन्दा पहिले गुद वा कण्डो धुनुपर्छ भनिएको हो । विद्वान्लाई नमस्ते नगरे कुनै खतबात लाग्दैन, तर मूर्खलाई सबैभन्दा पहिले स्वस्ति र सलाम गरियो भने बाँचिन्छ । त्यसैले सोमत र संस्कार नभएका मानिसले उहिल्यैदेखि हाम्रा स्वाभिमानी र इमानदार पुर्खालाई धेरै द्ुःख दिएका रहेछन् र उपयुक्त खालका शिक्षाप्रद साहित्य लेखेछन् भन्ने थाहा हुन्छ ।

बलेनलाई ओलीले आफ्ना निवासमा बोलाएर तबला उपहार दिनुभयो । यो बहुआयामिक बिम्बात्मक शिक्षा थियो । यो कुरा बालेनले के कति बुझे बुझेनन् । अहिले हेर्दा बालेनले बुझेजस्तो लागेन । सडकसडकमा र्याप गाएर नवयुवाका बीच क्षणिक लोकप्रिय भएका बालेनलाई गायन संगीतको राष्ट्रिय गौरवप्रति गहन अध्ययन गरुन् भन्ने सन्देश दिन खोजेको देखिन्छ र अर्कातिर निरन्तर संगीत साधनाजस्तै राजनीतिक कर्म पनि अलि गम्भीर गहन र दुरगामी हुनुपर्छ है र त्यसरी लाग्नु पर्छ है भन्नु ओलीको सन्देश बुझिन्छ । तबलाका अनेक ताल छन् त्यसमा पनि देश र जनतालाई लय, सुर र तालको कुशल संयोजन गरेर राजनीतिक मैदानमा उत्रनुपर्छ है भन्ने पनि सन्देश दिन खोजेको देखिन्छ ।

अझ ओलीले जबजअनुसार राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने शिक्षा पनि परोक्ष रूपमा बालेनलाई दिएको स्पष्ट हुन्छ । तर बालेन निर्माण, पुनर्निर्माण र जन उद्धारलाई पूरै बेवास्ता गर्दै अघि बढे । पराले छाप्रामा डोजर चलाउन थाले । दैनिक गुजाराका लागि सडक पेटी र त्यसका वरपर ससाना खुद्रे पसलेलाई उठिबास लगाउन बलपूर्वक लागि परे । यसरी राम्रो काम पनि राम्ररी नगरेपछि हजारौँ जनताको पीडा ओलीले बोलिदिनुभयो । यसै विषयलाई मूल आधार बनाएर बालेन ओलीका ज्यानी दुश्मन झैँ जाइलाग्न थाले । काठमाडौँका उपल्ला तहका कतिपय नेताका जनमैत्री, स्रष्टा मैत्री जस्ता स्वभाव, आनीबानी, बरव्यवहार बोलीचालीका अत्यन्त अभावका कारण एमालेका घानी भएको ठाउँमा बालेन नगर प्रमुखमा विजयी बने ।

पार्टी कार्यालय च्यासल, जाँदा त्यहाँका अधिकांश नेताको पर्याप्त मिलनसारी बरव्यवहार म आफैँले देखेभोगेको छु अनि तिनले कार्यकर्ता र जनतासित के कस्तो व्यवहार गर्दा हुन् । अचम्म लाग्छ । कति नेता त चुनावी माहौल सिर्जना गर्नै नजान्ने र नसक्ने पनि छन् । कम्तीमा सबै तह र तप्काको अगुवा कार्यकर्ता, नेता र उम्मेद्वार सैद्धान्तिक, वैचारिक, आचरणगत इमानदार हुनुपर्छ र त्यसमा हिसी परेको, मिजासिलो र बोलाइलो त हुनुपर्यो । तर अहिले पनि कार्यकर्ता र जनतालाई नै विकर्षित गर्ने वडा, गाउँ र नगर इन्चार्ज तोकिएको देखिन्छ र एकाध केन्द्रीय सदस्यको आर्थिक चरम लोभलालच तमासा बन्दै छ । अनि त्यसमाथि ज्वाइ महाराज जस्तो स्वभावले भएपछि चुनाव नजित्नु पक्का हुन्छ र भएकोे छ । जबज अनुसार जनता, कार्यकर्ताकोे आधा मन जित्ने कार्यकर्ता र नेता भए मिसन सफल नहने कुरै छैन ।

अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन जीवनका विविध आयामसितको साक्षात्कारबाट पनि हुन्छ भन्ने ज्ञान सिद्धान्तका ज्ञाता ओलीका अगाडि बालेन बरा विचरा हुन् । समाज परिवर्तनका लागि ज्ञान हासिल अनिवार्य ठान्ने ओली र पदीय मर्यादालाई समेत कत्ति ख्याल नगरी आवेश र उत्तेजनामा उट्पटयाङ् बोल्ने बालेन बबुरा हुन् । यिनकै बारेमा कसैले शिक्षाप्रद लेख नलेखेको हुँदा मात्र मैले कलम चलाउनुपरेको हो । एमालेको सिद्धान्त, विचार संगठन र सिर्जनात्मक जुन अवस्था छ यसलाई गुणात्मक रूप दिने हो भने बालेन हुन्, प्रचण्ड हुन् वा कुलमान हुन् यी पानीका फोकासरह फुट्छन् । ओलीले डमरुलाई नै हात हाल्ने अवस्थामा बघिनी चुपचाप बस्तिन भनेझैँ बघिनी आमामाथि शरवर्षा गर्दा मौन रहनुजस्तो निरीहता केही होइन । कम्तीमा कुचो लगाउने हो भने कसिंगर मिल्काउन कुनै भारी बात छैन र हुँदैन । नगरप्रमुख बालेनलाई सशक्त, शालीन तथा गम्भीर कटाक्षपूर्वक प्रतिवाद गर्ने उपप्रमुख सुनिता डंगोल उच्च व्यक्तित्व हुनुहुँदो रहेछ । वहाँले आफ्नी आमा समेतलाई उदाहरण दिई अभिव्यक्त गरेको संवाद सुन्दा मचाहिँ मन्त्रमुग्ध जस्तै भएँ ।

कुुनै पनि युवक जब बाबु बन्छ तब मात्र आफ्नै बाबुलाई राम्ररी चिन्छ । हिन्दी सिने महानायक अमिताभ बच्चनका अनुसार जो सिख्ता है वही जितता है । विद्या, ज्ञान, अनुभव दुवैतरिकाले पढेर र परेर प्राप्त गरिन्छ । बुद्धि बंगारो आउनुलाई पनि बुद्धि बढेको ठानिन्छ । यो एउटा प्रतीक पनि होला । बुद्धि बंगारो नै आउन बाँकी छ भने केही समय पर्खियुँ । जसको ज्ञानको परिधि नै अत्यन्त सीमित छ, त्यसबाट धेरै ज्ञानको आश गर्नु पनि हुन्न । तत्कालीन बहालवाला प्रधानमन्त्री प्रचण्डलाई समेत सामान्य कूटनीतिक मर्यादा विपरीत व्यवहार गर्ने बालेन वर्तमान प्रम ओलीप्रति फतुरे तालमा वितण्डा मच्चाउनु उनले प्राप्त गरेको जनतमतकै घोर अपमान हो ।

यस्ता हर्कती मानवलाई टुप्पाबाट पलाएको पनि भन्छन् क्यारे । ठूलो कुर्सीमा बसेर ठूलो भइने होइन । ठूलो मति, गति, हुतिहवास र गति गरास अपरिहार्य हुन्छ । सिस्नोपानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ केही मिडिया घाँटीका नसा चुँडिने गरी एमाले र ओलीविरुद्ध पीतपत्रकारी प्रलाप गरिरहेको देखिन्छ ।

संयोगले फूलको संगतका कारण देउताका शिरमा पुगे पनि कमिलो कमिलो नै हुन्छ । बहुआयामिक प्रभावशाली राजनेता केपी ओलीसित नाम जोडेर आफू भाइरल हुन खोजे पनि केही हुनेवाला छैन । अनेरास्ववियू अध्यक्ष समिक बडालले बालेनको विकृत हुलिया सञ्जालमार्फत् उजागर गरिदिए र जाती गरे । तथानामे कठपुतलीहरूलाई बेलैमा मुख बन्द हुने गरी सामाजिक सञ्जालमार्फत् तीखै जवाफ दिनुपर्छ ।

एमाले र ओलीकाविरुद्ध केही महिला लेखकहरूले मनगठन्ते लेखको प्रतिउत्तर खापेर मिथिला पोखरेलले लेखेका लेखहरूको सँगालो आर्थिक व्ययभार नपर्ने गरी प्रकाशक बनिदिन अनेम संघ, केन्द्र पटक्क तयार भएन । एक त बोल्ने र लेख्ने नै छैनन्जस्तो छ भने अर्कातिर बोल्ने र लेख्नेलाई भुइँमा पछार्ने प्रवृत्ति देखिएपछि कसले बोल्ने किन बोल्ने ? अनि कसरी महिलाको सिर्जनशील प्रतिभाको विकास हुन्छ ? मैदान खाली गरिदिएपछि बालेनले रत्यौली खेल्नु के को अचम्म भयो र ?

प्रतिक्रिया