अज्ञानताको स्रोत र साम्राज्य

विज्ञानले भन्छ, सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेन्ड जति लाग्छ । यसकारण हामीहरूले जे जति देख्छौँ, यही प्रकाशको कारणले देख्ने भएकोले हामीले देखिरहेको पदार्थ पनि पुरानै हो । जुन चेतना ढिलो प्राप्त हुन्छ, त्यसले वर्तमान देखाउँदैन, बितेको कुरालाई वर्तमानमा देखाएको हुन्छ र हामीले वर्तमानको भ्रम देखिरहेका हुन्छौँ । हाम्रा कुनै ज्ञानको स्रोतले भोलिको ज्ञान दिइरहेको छ कि, हिजोको ? भोलिको लागि हिजोको ज्ञान कति प्रभावकारी हुन्छ ?

सञ्जय साह मित्र

अज्ञान रहेसम्म कसैलाई पनि अज्ञानी छु भनेर महसुस हुँदैन । जब उसलाई अज्ञानी रहेको महसुस हुन्छ तब ऊ ज्ञानी भइसकेको हुन्छ । जसरी मानिस निदाइरहुञ्जेल ऊ निदाइरहेको अनुभव गर्दैन र जब निद्रा खुल्छ, तब मात्र उसले निदाएको थिएँ भनेर थाहा हुन्छ ।

हरेक मानिसलाई निद्रा प्यारो हुन्छ । निद्रा प्यारो मात्र होइन, शारीरिक र मानसिक शान्तिको लागि निद्रा दैनिकी हो । अनिवार्य चाहिन्छ नै । निद्रा र अज्ञानताको निकटता अँध्यारोसित छ । सामान्य रूपमा अज्ञानतालाई पनि अन्धकार र निद्रालाई पनि अन्धकार चाहिन्छ । जब कसैको आँखामाथि निद्राको साम्राज्य स्थापित हुन्छ तब उसको अगाडि अँध्यारो मात्र देखिन्छ । हो, निदाएको बेला वा आँखा चिम्लेको बेला केवल अँध्यारो हुन्छ र अज्ञानतालाई पनि केवल अँध्यारोसित तुलना गरिन्छ । कतिपय विद्वानहरूले अज्ञानता र अन्धकारलाई एउटै मानेका छन् । अनि अज्ञान मानिसलाई, निदाएको मानिससित तुलना गरेका छन् । जब मस्तिष्कमा ज्ञानको आलोक भरिन्छ, तब मस्तिष्कको अँध्यारो हराउँछ र ज्ञानको प्रकाशले विस्तार पाउँछ ।

सूर्यलाई सम्पूर्ण ऊर्जाको स्रोत मानिन्छ । ज्ञान पनि ऊर्जा हो । सूर्यको उज्यालोले धरणीलाई उज्यालो पार्छ । जब पृथ्वीबाट अँध्यारो भाग्छ तब झलमल्ल घामको उज्यालोमा आँखा अगाडिका सारा दृश्य देखिन्छन् । जतिसुकै राम्रो दृश्य भए पनि यदि दर्शकले देख्न चाहेन भने आँखा चिम्लिदिन्छ । जब आँखा चिम्लन्छ तब उसले केही पनि देख्दैन । दृश्यले जे जति व्याख्या गरे पनि केही बोध हुँदैन । यसैले यो पनि भनिन्छ कि, अँध्यारोको राम्रो फोटो खिच्नको लागि पनि उज्यालो चाहिन्छ अर्थात् अँध्यारो फोटो पनि उज्यालोमै देखिन्छ । उज्यालोको अस्तित्वबिना अँध्यारोले पनि आफूलाई कतै देखाउन सम्भव हुँदैन । अनि अँध्यारोले पनि चाहन्छ कि, मलाई कसैले देखोस् । यसैले एकातिर उज्यालोको परिकल्पनाले अनेकौँ सूर्यको दर्शन गर्छ भने अँध्यारोको कल्पनाले ब्ल्याकहोलको परिकल्पना गर्दछ । सबै उज्यालोको स्रोत एक दिन बिलाएर ब्ल्याक होल अर्थात् अनन्त अन्धकारमा विलीन हुने दर्शनले भन्छ । यद्यपि ऋग्वेदले पनि पृथ्वीको जन्म हुनुभन्दा पहिले यस ठाउँमा अनन्त अँध्यारो थियो भन्ने मान्यता राखेको छ ।

एउटा सामान्य र विश्वप्रसिद्ध मान्यता आदिकालदेखि रहि आएको छ – शिक्षा ज्ञान हो र अशिक्षाचाहिँ अज्ञान हो । अज्ञानता हटाउनलाई शिक्षा चाहिन्छ । शिक्षाले चेतना दिन्छ र चेतनाले विवेक बढ्छ । विवेकशील मानिसमा प्रज्ञा हुन्छ । प्रज्ञाले धेरै किसिमका अज्ञानतालाई हटाउन मद्दत गर्दछ । सम्भवतः यसैले हुनुपर्छ, आदिकालदेखि मानिसले शिक्षामा जोड दिएको छ । शिक्षाको विकास गरेको छ । बिस्तारै शिक्षाको महत्व सर्वत्र बिस्तार भइरहँदा वर्तमान परिवेशमा मानव जीवनको एउटा महत्वपूर्ण अंग र आर्जन दुवैको रूपमा शिक्षालाई लिन थालिएको छ । यदि कसैले शिक्षा आर्जन गरेको छ भने उसलाई सम्पन्न मान्न थालिएको छ । शिक्षाको सम्मान हुने गरेको छ विश्व समाजमा ।

शिक्षालाई जीवनको एउटा महत्वपूर्ण अंग मान्नेहरूले भन्ने गरेका छन्, शिक्षा मानवको तेस्रो नेत्र हो । तेस्रो नेत्रको कल्पना सबैभन्दा पहिले पूर्वीय धर्मशास्त्रहरूमा गरिएको छ । भगवान् शिवलाई त्रिनेत्र पनि भन्ने गरिन्छ । र, यो मान्यता रहेको छ कि तेस्रो नेत्रचाहिँ विध्वंशको हो, सर्वनाशको हो । यसै अर्थमा कतिपयले शिक्षालाई तेस्रो नेत्र मान्न अस्वीकार गर्छन् । सम्भवतः शिक्षा नभएको भए अर्थात् मानवमा तेस्रो नेत्र नआएको भए विध्वंशकारी अणु, परमाणु बमहरूको कल्पना हुँदैनथ्यो कि ? जसरी शिवको विषयमा कल्पना गरिन्छ कि जब शिवमा परम क्रोधको अवस्था हुन्छ तब तेस्रो नेत्र खुल्छ, त्यसरी नै उसो भए मानव ज्ञानको परम क्रोधको अवस्थामा विध्वंशक सिर्जनाहरू जन्मिएका हुन् त ? परम क्रोधमा खुल्ने आँखा सामान्यभन्दा माथिको हो ?

विकास अज्ञानताको द्योतक हो कि ज्ञानको ? सामान्य दृष्टिमा विकासलाई त ज्ञानको प्रतीक नै मानिएको पाइन्छ । जो जति शिक्षित छ, जो जति ज्ञानी छ, त्यो त्यत्ति विकसित छ । व्यक्ति चाहे समाज दुवैको हकमा यो लागू हुन्छ । मानिसहरूले अज्ञान वा ज्ञानलाई जसरी तुलना गर्छन् त्यसरी विकासलाई पनि तुलना गर्छन् । कोही किन विकसित छ भने त्यो शिक्षित छ, ज्ञानी छ । कोही किन अविकसित छ भने ऊ अज्ञानी छ, अविकसित छ । अलिकति ज्ञान भएको मानिसले पनि यही विचार गर्दछ । अर्थात्, बिस्तारै आमधारणा बनिसकेको छ । आमधारणा सदैव पूर्ण सत्य नै हुन्छ भन्ने होइन । विचारमा पार्थक्य सामान्य विषय हो । कोही कसैको अनुहार मिल्दैन । हरेक मानिस पृथक छ, विशिष्ट छ । अनि विचारचाहिँ हुबहु पूर्णतः एउटै हुनुपर्छ भन्ने होइन । यदि विकास भनेको भौतिक विकास मात्र हो भने विकासको परिभाषाले परिमार्जन खोज्छ ।

भौतिक विकासको एउटा उत्कर्ष हुन्छ र उत्कर्षपछि फेरि अपकर्ष आउँछ । अपकर्षतिरको यात्रामा विकासको परिभाषा पृथक हुन सक्छ । जसरी चढ्दो उमेरका मानिसका लागि जीवनको परिभाषा र वार्धक्यतिर पाइला टेकिसकेका मानिसका लागि जीवनको परिभाषा पृथक हुनु स्वभाविक हो । कुनै नवयुवकलाई जीवनको लक्ष्य सोध्दा पाइने जवाफ र भौतिक शरीर जीर्ण भइसकेका वयोवृद्धलाई जीवनको लक्ष्य सोध्दा पाइने जवाफमा भिन्नता हुनु स्वभाविक हो । अनि तिर्मिराउँदो चमकमा आँखा स्वभाविक रूपले चिम्लिइन्छ । चट्याङ हान्दा जुन उज्यालो धरणीमा आउँछ त्यसलाई सामान्य आँखाले हेर्न सकिँदैन । सम्भवतः त्यो उज्यालोको उत्कर्ष हो, उत्कर्षको उज्यालोले आँखा तिरमिराउँछ, अनि हेर्न सकिँदैन, देख्न सकिँदैन । जीवनको रहस्य बिचैमा अडेको छ । कुनै पनि एकतर्फी विचारले जीवनको सम्पूर्णतालाई समेट्दैन, समेट्न सक्दैन ।

अनेक शिक्षालयहरू चलिरहेका छन् । समाज आफैँमा पनि अनुभवको विश्वविद्यालय हो । त्यहाँ आफ्नै किसिमको पाठ्यक्रम र दीक्षाका आधारहरू छन् । हरेक कर्ममा मानिसको मूल्यांकन भइरहेको हुन्छ । कति फेल र कति पास आफैँले पनि मूल्यांकन गरिरहेको हुन्छ मानिस । अनि के, सबैले अज्ञानतासित संघर्ष गरेका छन् ? अज्ञानता बिस्तारको कुनै विश्वविद्यालय छ ? अज्ञानता जड हो कि, गतिशील ? कि, ब्ल्याकहोलमा चेतनाको दियो लिएर मानिसहरू दीपावली मनाइरहेका छन् ? यसको विपरीत विचार गरेर हेर्ने कि ? कतै हातका दियोहरूले अँध्यारो फैलाइरहेका छन् कि ? बलेको टुकीबाट अँध्यारो प्रज्ज्वलित भइरहेको छ कि ? त्यस अँध्यारोलाई बल दिने काम कथित चेतनाले गरिरहेको छ कि ?

विज्ञानले भन्छ, सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेन्ड जति लाग्छ । यसकारण हामीहरूले जे जति देख्छौँ, यही प्रकाशको कारणले देख्ने भएकोले हामीले देखिरहेको पदार्थ पनि पुरानै हो । जुन चेतना ढिलो प्राप्त हुन्छ, त्यसले वर्तमान देखाउँदैन, बितेको कुरालाई वर्तमानमा देखाएको हुन्छ र हामीले वर्तमानको भ्रम देखिरहेका हुन्छौँ । हाम्रा कुनै ज्ञानको स्रोतले भोलिको ज्ञान दिइरहेको छ कि, हिजोको ? भोलिको लागि हिजोको ज्ञान कति प्रभावकारी हुन्छ ? यसलाई कुन प्रकारको श्रेणीमा राख्ने ? अज्ञानको कि ज्ञानको ?

आँखा बाह्य ज्ञानेन्द्रिय हो । यसले बाहिरको संसारलाई मात्र देखाउँछ । भित्री संसारलाई बाहिरी आँखाले देख्न सक्दैन । यदि बाहिरी आँखाले भित्री संसारलाई हेर्न चाहने हो भने अँध्यारो मात्र देखिन्छ । देखिएको अँध्यारोलाई नै मान्ने हो भने अज्ञानताको स्रोत अभ्यन्तरमा नै रहेको मान्नुपर्छ । अज्ञानताको स्रोत अभ्यन्तर बन्नु हुँदैन । बाह्य आँखाले कतै पनि विवेक, ज्ञान र प्रज्ञालाई देख्दैन । यसकारण भित्री अँध्यारोमा नै ज्ञानको उज्यालो बसेको हुन्छ । यसलाई देखेर भन्दा पनि अनुभूति गरेर बुझ्न सकिन्छ । यसैले अज्ञानताको स्रोत पनि अभ्यन्तरमा नै रहेको हुन्छ ।

को कति अज्ञानताको साम्राज्य देख्छ, त्यसमा उसको अज्ञानलाई हटाउने ज्ञान चक्षुले निर्णय गर्दछ । बाहिरको ज्ञान पनि भित्री चक्षुले हेर्ने र बुझ्ने भएकाले अभ्यन्तरको अन्तरकुन्तरमा रहेका अज्ञानता र यसको साम्राज्यलाई अभ्यन्तरमै ज्ञानको सूर्योदयको आवश्यकता रहन्छ जुन बाहिरको सूर्य वा चट्याङको चमकले हटाउन सकिँदैन । यथार्थमा भौतिक विकासको साम्राज्य सम्पूर्ण होइन किनभने असन्तुष्टिको आधार दृष्टिकोणमा रहन्छ । बाह्य दृष्टिले अभ्यन्तरको दृष्टिकोणको साम्राज्यलाई कदापि देख्न सकिँदैन, कुनै एक्सरेमा पनि आउँदैन ।

प्रतिक्रिया