नेपालको भूराजनीतिक अवस्थिति, परराष्ट्रमन्त्री र राजदूत

राजदूतको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोले जापान भ्रमणको क्रममा आफ्नो राजदूतलाई सोध्छन्, यहाँ वेश्यालय कहाँ छ भनेर । राजदूतले संकोच मानेर थाहा छैन भन्दा – राष्ट्रपति भन्छन् – ‘देशको एक कूटनीतिज्ञले त्यो देशको हर कुराको याद गर्नुपर्छ । तिमीलाई यति पनि थाहा छैन तिमी पाखण्डी हौ’, भनेका छन् । यो प्रसंग किन पनि सान्दर्भिक छ भने एक सक्षम र क्षमतावान् राजदूतले खेल्न सक्ने भूमिका बृहत् हुन सक्छन् ।

मानधोज मोक्तान

गत भदौ ६ गते एक राष्ट्रिय दैनिकमा प्रकासित इन्द्र अधिकारीको ‘परराष्ट्रमन्त्री र छिमेक सम्बन्ध’ शीर्षकको लेखमा नेपालका ७ जना परराष्ट्रमन्त्रीहरूको तुलनात्मक अध्ययन र विश्लेषण गरिएको छ । यो विश्लेषणमा नेपालको परराष्ट्र मन्त्रालयको यर्थाथ कमजोर छवि प्रस्तुत छ । नेपालको परराष्ट्र मन्त्रालयको कमजोरी पक्ष, परराष्ट्र मन्त्रीहरूको क्षमता विषयगत क्षेत्रको ज्ञान, दृष्टिकोण र निर्णय क्षमताको तुलना लेखमा गरिएको छ ।

वर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबाट आशा गर्न सक्ने सम्भावनाको संकेत अधिकारीले गर्नुभएको छ । आफ्ना श्रीमान शेरबहादुर देउवा प्रधानमन्त्री छँदा कूटनीतिक माहौल बुझ्ने अवसर पाएकी, अंग्रेजी बोल्न सक्ने योग्यतामा पनि कसैले खोट लाउन नसक्ने, नेपालको दोस्रो महिला परराष्ट्रमन्त्री भएकीले जुन वर्तमानमा मिडियाले उछालेको तुलनामा लेखिका अधिकारीको विश्लेषण सकारात्मक छ ।

गोपाल खनाल आफ्नो पुस्तक ‘भूराजनीति’ मा लेख्छन्, ‘नेपाल अति महत्वपूर्ण भूराजनीतिक अवस्थितिमा छ । विश्व महाशक्ति उन्मुख चीन र दक्षिण एसियाली शक्ति भारत बीचमा रहेको नेपालका लागि राजनीतिक अवस्थिति पहिला अवसर र त्यसपछि मात्र चुनौती हो । दुई विशाल छिमेकीको आर्थिक विकासबाट नेपालले लाभ लिन सकेमा अवसर हो, अन्यथा चुनौती ।’

नेपालको सन्दर्भमा भूराजनीतिक जटिलता त शीरमा छँदै छ । साथै आर्थिक, सामाजिक, राजनीतिक, मानवधिकारजस्ता अन्तर सम्बन्धको वैश्विक सम्बन्धलाई पनि अक्षुण्ण ध्यान राख्नुपर्ने हुन्छ । यो जटिलताको गाम्भीरीयतालाई आत्मसाथ गरेर राष्ट्रहितको पक्षमा बोल्न सक्ने या तर्क गर्न सक्ने निकायहरू देशले तयार गर्न सकेको छ त ?

वर्तमान सरकारकी परराष्ट्रमन्त्रीले त्यो सामथ्र्य राख्लिन् ? नेपालका अधिकांश मिडिया र साधारण नागरिकहरू पनि भनिरहेका छन् कि, उनी अमेरिकन लबिकी हुन् । उनले जनता र देशको हितमा काम गर्लिन् ? यद्यपि विगतका परराष्ट्र मन्त्रीहरूको तुलनामा भाषाको सवालमा पनि आफ्ना कुराहरू स्पष्टसँग राख्न सक्छिन् । त्यसैकारण पनि हुन सक्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. एस. जयशंकरसँग पनि लामै कुराहरू गर्न सकिन् । स्वभाविक रूपले भाषाको स्पष्टता भएपछि कुराहरू लम्बिन्छन् नै । यसलाई सकारात्मक पक्षबाट पनि हेरिनुपर्नेमा नेपालमा मिडियाले अनेकथरी अड्कलबाजीको प्रसारण गरे । अब नेपालमा डा.आरजु राणा प्रधानमन्त्री बन्ने भइन्, प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीले गणना गरेनन् आदि इत्यादि ।

विभिन्न अड्कलबाजी गरेर ब्यर्थको ‘न्यूज’ बनाउनुभन्दा देशको हितमा यो यो काम गर्नुपर्छ भन्ने किसिमको तथ्य र सकारात्मक सन्देश प्रवाह गर्दा उहाँ देश र जनताको हितमा काम गर्न बाध्य हुनुपर्छ । नेपाली मिडियामा पनि सधँै नकारात्मक कुराहरूलाई बढी बढाइचढाइ गर्ने र आफ्नो पक्षको स्वार्थको बढी प्रक्षपोषण गर्ने प्रवृत्ति हावी छ । यो सन्दर्भमा धेरै मिडियालाई डा.विजय मिश्रको जवाब पनि काफी छ ।

उनी भन्छन्, ‘मिडिया राष्ट्रको चौथो अंग हो । सबैलाई थाहा छ यो देशमा यी राजनीतिक दलका नेताहरूले केही लछारपाटो लगाउँदैन भन्ने कुरा । अनि मिडियाले पनि किन पक्ष र विपक्षको मात्र वकालत गर्ने ? सही र तथ्य कुरो लेखेर नेताहरूलाई पनि मार्गनिर्देश गर्न सकिन्न ? प्लेन दुर्घटना, बस त्रिशूलीमा सुनकोसीमा खसेको मात्र खबर छापिन्छ । किन ? कारण पनि खोज्नुपर्यो अनि लेख्नुपर्यो । तब मात्रै सुधार गर्न सकिन्छ ।

यतिबेला राजदूत छनोटको कुरा र संसद्को समितिमा यसको बहस पनि चलिरहेको छ । हाम्रो जस्तो गरिब देशका राजदूतहरू विदेशमा गएर के गरेर फर्किन्छन् ? के उपलब्धी हासिल गर्छन् ? मिडियाले खोज्नुपर्यो लेख्नुपर्यो अनि न मिडियाको पनि सम्मानित र प्रभावकारी भूमिका हुनेछ । नत्र नेता मिडिया सबै उस्तै त हुन् भन्ने छाप आमनागरिकमा पर्नेछ । परिरहेको छ । यो देशका राजनीतिक दलका नेताहरू घृणाका पात्र भइसकेका छन् । मानचित्रमा नेपालको नाउँ अक्षुण्ण राख्न नेपालका मिडियाले नै भूमिका खेल्नुपर्ने समय आएको छ ।

राजदूतहरूको अबको भूमिका उपलब्धिमूलक हुनुपर्छ । दलको भागबण्डामा पर्यो गयो आयो । त्यसको के अर्थ । राष्ट्रको ढुकुटी सिध्याउनेबाहेक अरू के छ ? अझ समावेशीको कुरा पनि परराष्ट्रमन्त्रीले संसद्मा उठाउनुभएको छ । देशको भूगोल, इतिहास र संस्कृतका ज्ञाता छान्दा के बिग्रिन्छ ? त्यस्ता विद्वानहरू नेपालमा छैनन् ? उदाहरणको लागि डा.जगमान गुरुङ, प्राध्यापक कृष्ण खनाल, डा.उद्वव सिग्देल, प्राडा अच्युत वाग्ले, डा.युवराज संग्रौला, बसन्त थापा, इन्द्र अधिकारीजस्ता देशको प्रतिनिधित्व गरेर अरूको सामु बोल्न सक्ने मानिसहरू छान्दा देशको प्रतिनिधित्व हुँदैन ? छवि बढ्दैन ?

छिमेकी राष्ट्र भारतका राजदूतहरू जुन देश जान्छन्, त्यहाँका मानिसहरू, सरकार मानिसहरूसँगको भेटबारे किताब लेख्छन् । के नटवर सिंहले माइचाइना डायरी, प्रोफायल्स एन्ड लेटर्स, टिएन कौलले ए डिप्लोम्याट्स डायरी, जेएन दीक्षितले एसाइनमेन्ट कोलम्बो, रञ्जित रे ले काठमाडौँ डिलेमा लेखेका छन् । हाम्रा नेपाली राजदूतहरू भने राजदूतावासमा भएका दस्ताभेज पनि रित्याएर फर्किन्छन् । किताब लेख्ने त कुरै छैन ।

तर अपवादको रूपमा राजेश्वर आचार्य ज्यूको कूटनीतिक डायरी प्रथमपटक पढ्न पाइयो निकै राम्रो छ । डाक्टर शम्भुराम सिम्खडाको नेपाल इन्डिया चाइना र डा. भेषबहादुर थापाको राष्ट्र र परराष्ट्र भर्खरै प्रकाशित भएको छ । जसमा उल्लेख भए अनुसार कीर्तिनिधी बिष्टको प्रधानमन्त्रित्व कालमा चीनको भ्रमणमा चीनका राष्ट्रपति ली स्याउ ची स्वयंले बेजिङको डक पाइने रेस्टुरेन्टमा लगेर डिनर गराएको र चपस्टिक चलाउन सिकाएको प्रसंग सम्झन लायक छ । त्यसबेला नेपाली टोलीलाई चीनले गरेको न्यानो स्वागतको चर्चा गरेका छन् । जुन चाखलाग्दो र वर्तमानको अवस्थालाई तुलना गर्न सकिन्छ ।

अहिलेको विश्व राजनीतिमा जुन कुनै देशमा योग्यता र क्षमताले भन्दा पनि दलका भागबण्डामा चिठ्ठा परेर गएका राजदूतहरूले त त्यो देशमा गएर फर्मालिटी मात्र पूरा गर्ने हुन् । राजदूत छान्दा देशको हितमा कुटनीतिक पहल गर्ने जिम्मेवारीलाई आत्मसाथ गर्नसक्ने व्यक्ति खोज्नुपर्छ । अबका राजदूत सम्बन्धित देशको भूगोल, इतिहास, कला, संस्कृतिको बारे पनि जानकार हुनुपर्छ । यो कुरा खासगरी प्रधानमन्त्री र संसदीय सुनुवाई समितिका पदाधिकारीहरूलाई पनि ज्ञान हुनुपर्छ ।

अब दौरासुरुवाल र टोपीले मात्र होइन, बौद्धिक क्षमताले नेपाली चिनिनुपर्छ । राजदूतको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोले जापान भ्रमणको क्रममा आफ्नो राजदूतलाई सोध्छन्, यहाँ वेश्यालय कहाँ छ भनेर । राजदूतले संकोच मानेर थाहा छैन भन्दा – राष्ट्रपति भन्छन् – ‘देशको एक कूटनीतिज्ञले त्यो देशको हर कुराको याद गर्नुपर्छ । तिमीलाई यति पनि थाहा छैन तिमी पाखण्डी हौ’, भनेका छन् । यो प्रसंग किन पनि सान्दर्भीक छ भने एक सक्षम र क्षमतावान् राजदूतले खेल्न सक्ने भूमिका बृहत् हुन सक्छन् । त्यो आफ्नो क्षमताले अरूलाई कतिको प्रभाव पार्न सक्छ, त्यसमा पनि निर्भर रहन्छ । यसर्थ राजदूतको छनोट उसको योग्यता कूटनीतिक ज्ञानको आधारमा हुनुपर्छ ।

राजेश्वर आचार्यज्यू २०५५ सालदेखि २०५९ सालसम्म चीनका लागि राजदूत भएर बेइजिङमा बस्दा बाँसको खेतीको महत्व बुझेर चीनका वनमन्त्रीसँग सम्पर्क गरी नेपालमा पनि बाँसको खेती गर्ने योजना बनाइयो । तर, नेपालको मन्त्रालयमा प्रक्रियाको लागि पत्राचार गर्दा आफ्नै पक्षबाट चासो नभएको गुनासो उहाँको पुस्तक कूटनीतिक डायरीमा उल्लेख गर्नुभएको छ । त्यति बेला नेपालमा बाँसको खेती सुरु भएको भए आज कुनै परिणाम त हुन्थ्यो ।

वर्तमान बौद्धिक भूराजनीतिक परिवेशमा साना ठूला सबै देशहरू कुनै न कुनै रूपमा अन्तर सम्बन्धमा रही आएका छन् । हामी किन इन्डोप्यासेफिक स्ट्राटेजीमा सामेल हुने ? बिआरआई स्वीकार्ने नस्वीकार्ने ? युक्रेनमा किन हाम फाल्नेजस्ता कुराहरू आत्मसम्मानपूर्वक स्वतन्त्र रूपले निर्णय गर्नुपथ्र्यो । कुन छिमेकीसँग दिनानुदिनको व्यावहारिक सम्बन्ध छ, पारिवारिक र सांस्कृतिक सम्बन्ध छ । यी कुराहरू केलाएर बुझेर पटपट पैताला फुटेर पनि भारी बोक्ने आफ्नो जनता अनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई आत्मसाथ गरेर उनीहरूको पनि सम्मान गर्दै आफ्नो स्पष्ट कुरा राख्दा कसले हेप्छ ? तर, अहिले देश चलाउने दलालहरू आफूलाई चाकरी गर्ने स्वार्थीहरूको झुण्डभित्र परेको हुँदा यस्ता कुराहरूको ती अन्धा गफाडीहरूलाई थाहै छैन । यसैले देश आज भारत, अमेरिका, युरोपको खेल मैदान भएको छ ।

देशका विद्वान विश्लेषकहरू देशको अस्तित्व खतरामा छ भन्दै छन् । देशभित्र जताततै बेथिति छ । जनता असन्तुष्ट र आक्रोशित छन् । देशका प्रधानमन्त्रीलाई आमसभामै गएर ‘ओली चोर देश छोड’ भन्ने नारा युवाहरूले लगाउँछन् । देश उम्लिरहेको छ । भूराजनीतिक कारण प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट भाग्नुपर्यो । उनले त १५ वर्षमा देश र जनताको हितमा काम गरेकी थिइन् । बंगलादेशको आर्थिक स्थितिलाई सुधार गरेकी थिइन् । तर, भूराजनीतिको चपेटामा परिन् । हाम्रो हालत के होला ? तिब्बतको मामलामा चीनलाई अस्थिर बनाउने अमेरिकी साजिसमा नेपालको ‘यस’ भन्ने क्षमताले चीनलाई खतरा हुने भयो भने चीनले यी ओली, देउवालाई बाँकी राख्छ ? त्यसको मारमा हामी जनता पर्दैनौँ ? विश्वको यस्तो जटिल भूराजनीतिक परिस्थितिमा कूटनीति नजानेका, नबुझेका पार्टीका झोलेहरूले के भूमिका निर्वाह गर्न सक्छ ? यसको महत्व र गम्भीरता ती नाउँ छनोट गर्नेहरूले बुझ्नुपर्ने हो । अब हर निर्णयहरूमा जनताद्वारा हस्तक्षेप गर्नुपर्ने समय आएको छ ।

प्रतिक्रिया