टानको चुनावी मैदानमा सागर पाण्डे

सागर पाण्डे, वरिष्ठ पर्यटन व्यवसायी तथा अध्यक्षका प्रत्यासी टान

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही १७ भदौमा चुनावका लागि मनोनयन दर्ता गरी पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डाहरू सार्वजनिक गरेको हो ।

आगामी २ वर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डेसहित १७ जना उम्मेद्वारहरूको प्यानल बनेको छ । पाण्डेसँग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा छ ।

पाण्डे समूहले घोषणा पत्रमा ट्रेकिङ व्यवसायीहरूका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ ।

यी हुन् पाण्डेले देखेको पर्यटन विकासका आयामहरू

पर्यटन व्यवसायको सम्भावना

अहिले पयर्टन क्षेत्रबाट कसरी आत्मनिर्भरता बन्ने भन्ने विषय राष्ट्रिय बहसको विषय बनेको छ । हामी पर्यटन भन्ने बित्तिकै ‘होलेस्टिक’ रूपमा बुझ्छौँ । अब यसलाई पर्वतीय, माउन्टेरिङ, इभेन्ट पर्यटनका रूपमा छुट्याउनुपर्छ ।

नेपाल आफैँमा प्राकृतिक रूपमा भरिपूर्ण छ । हाम्रा डाडाँकाँडामा रिसोर्ट बनाउन सक्यौँ भने दिल्लीबाट प्लेन चार्टर गरेर पर्यटक आउँछन् । त्यहाँ जान्छन्, ५ दिनको कन्फ्रेन्स गरेर फर्किन्छन् । कर्पोरेटहरू, मल्टी नेसनल कम्पनीहरूसँग यति पैसा छ कि हामी कहाँ आएर खर्च गर्ने भनेको त्यो ‘पिनट’ हो । हामीले त्यसलाई टार्गेट नै गर्न सकेका छैनौँ । पर्यटकहरू सबै ट्रेकिङ मात्रै जान चाहन्छन् भन्ने पनि छैन । अब हामीले पर्यटनको क्षेत्रलाई छुट्याउनुपर्छ । हामीले ट्रेकिङ मात्र जाने पर्यटकलाई लक्षित नगरी समग्र नेपालको डाइभर्सिटीअनुसार पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ । त्यसकारण पर्यटनलाई डिफाइन गर्न आवश्यक छ । कुन सेग्मेन्टमा कति प्रतिशतले पर्यटन विकास गर्ने र यसको सम्भावनाहरूलाई खोजी गर्नुपर्ने देखिन्छ । सम्भावनाहरूलाई हेरेर हामीले ‘आर्टिफिसियल’ टुरिजमहरूलाई विकास गर्न आवश्यक छ । टुरिजमलाई बहुआयमिक रूपमा परिभाषा गर्न जरुरी छ । टे«किङ र माउन्टेरिङ मेजर सेग्मेन्ट हो । तर, समग्र पर्यटनको कुरा गर्दा अरू आयामहरूलाई पनि भूल्नु हुँदैन ।

पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रमा टानको भूमिका

टानलाई अगाडि बढाउन विगतदेखि अहिलेसम्म प्रत्येक कार्य समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जे–जे काम भएको छ, त्यो एक हदसम्म राम्रो काम भएको छ । म महासचिव हुँदा टान राष्ट्रिय रूपमा परिचित थिएन । हामीले ‘क्राइसिस’ को समय भनौँ वा टुरिजम बोर्डको बेतिथिकाविरुद्ध आवाज उठाउन भूमिका खेल्दै आयौँ । जसले राष्ट्रिय रूपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रूपमै टानको महत्व बढ्दै गएको छ । अहिलेसम्मको अनुभव प्रयोग गर्दै अब फरक ढंगले अगाडि बढ्ने मेरो योजना हो ।

अर्को राज्य र व्यवसायीहरूलाई बेनिफिट हुने हिसाबले कसरी पहल गर्ने भन्ने मुख्य चुनौती हो । त्यसमा टानले प्रमुख भूमिका खेल्न जरुरी छ । टान, हान, नाटा लगायतका पर्यटनसँग सम्बन्धित जति पनि संघसंस्थाहरू छन्, सबै एकै ठाउँमा आउन जरुरी छ । हामीले एउटै आवाज लिएर अगाडि बढ्दा समग्र पर्यटनलाई प्रभाव पार्दछ ।

नेपालमा पर्यटनको कुरा गर्दा सरकार एकातिर, पर्यटनसँग सम्बन्धित संघसंस्थाहरू अलग–अलग बाटोतिर हिँड्दा समस्या भएको हो । हामीमा समग्र पर्यटन विकासको अवस्था कहाँ छ ?, त्यसलाई प्राप्ति गर्न हामी कहाँ उभिनुपर्छ ? र त्यसका लागि एक ढिक्का भएर राज्यसँग कसरी ‘लबिङ’ गर्ने भन्ने नै अहिलेको मूल कुरा हो । त्यसकारण हामी एक ठाउँमा उभिन र एउटा ‘युनिटी क्रिएट’ गर्न जरुरी छ । त्यसैको आधारमा हाम्रा पर्यटन विकासका राष्ट्रिय समस्या के–के छन् ? भन्ने कुरा निष्कर्षमा आउँछ । हामी हाम्रो जिम्मेवारीबाट पन्छिनु हुँदैन । दिगो पर्यटन विकासका लागि सबैको साथ सहयोग र पहलकदमीको आवश्यक छ । यसका लागि हामीले एफएनसिसिआई, चेम्बर अफ कमर्सलगायत सबै उद्योगी संस्थाहरूसँग मिलेर काम गर्नुपर्छ । पर्यटन देशकै महत्वपूर्ण आर्थिक आय हुने क्षेत्र भएकोले यसका सरकारसँग पनि साझेदारी गरेर कार्यक्रमहरू तय गर्न जरुरी छ ।

अबको जल्दोबल्दो समस्याको रूपमा रहेको जलवायु परिवर्तनको इस्यु हो । यसलाई टानले उठाउनु जरुरी छ । हाम्रो हिमाललाई जलवायु परिवर्तनले ठुलो असर पारेको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म सामुहिक आवाज उठाउन आवश्यक छ ।

आगामी दिनमा गर्नुपर्ने कामहरू

टान व्यवसायीहरूको छाता संगठन हो । मेरो पहिलो सर्त नै व्यवसायलाई संरक्षण गर्ने हो । व्यवसायसँग जोडिएका कम्पोनेन्टहरू, गाइट, सहयोगी, क्लाइमरहरूको संरक्षण गर्ने हो । जति उहाँहरू संरक्षित हुनुहन्छ, त्यति हामी संरक्षित हुन्छौँ । समग्रमा व्यवसायीहरूकै हक हितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने मेरो प्राथमिकताको विषय हो ।

जलवायु परिवर्तन, जुन हाम्रो पेसासँग जोडिएको छ । हिमाल पग्लियो, हाम्रा डाँडाहरू नांगा भए, नदीनालाहरू सुके । यो हाम्रो जीवनसम्म प्राप्ति होला, तर भोलिका पुस्तामा यो पेसा हस्तान्तरण गर्दै गर्दा के होला ? भन्ने चिन्ताको विषय बनेको छ । हाम्रो सानो प्रयासले जागरुकता बढेर जाओस् भन्ने हो । त्यो सँगसँगै पर्यटन व्यवसायलाई मर्यादित, राम्रो व्यवसायको रूपमा लैजान राज्यले लिने नीति निर्माणमा टानले लबिङ गर्न जरुरी छ ।

जस्तो उदाहरणका रूपमा अहिले ट्याक्सको विषय छ । पोलिसी एकातिर छ, हाम्रो खातामा पैसा आयो, हामीले भ्याट तिर्नुपर्छ, तर हाम्रो खर्चको भ्याट आउँदैन । हामीले खर्च देखाउन नपाउने अवस्था छ । अर्को हाम्रा पेसामा जोडिएका श्रमिकहरूहरू ‘वर्किङ फ्रेमवर्क’ मा हुनुहुन्न । समग्रमा यही विषयलाई लिड गर्ने हो । यसभित्र धेरै कुराहरू छन् ।

मैले जुन कोषको कुरा उठाइरहेको छु । यो व्यवसाय र श्रमिकको हितमा छ । कोषबाट थप क्षतिपूर्ति दिएर राहतको महसुस गर्ने बनाउने भन्ने हो । जोखिममा परेका बिच्चल्लीमा परेका उनीहरूका बालबालिकालाई आधारभूत शिक्षा दिने भन्ने हो । नयाँ व्यवसायीको दुर्घटना भयो, दीर्घ रोग लाग्यो त्यहाँ टान पुग्नेछ । उक्त कोषलाई मैले पहिलो वर्षमा १ करोड पुर्याउने योजना बनाएको छु । हामी टानलाई आशाको केन्द्रको रूपमा विकास गर्नेछौँ । टानमा मेम्बर बन्न बोलाउने छैनौँ । व्यवसायी नै आफैँ टानलाई खोज्दै आउनेछन् । त्यसैगरी अन्नपूर्ण पदमार्ग जुन छुट्टिएको छ, अस्तव्यस्त छ, यसलाई पुनर्जीवित बनाउन पाइलट प्रोजेक्ट गरिनेछ । यसमा सर्भे गर्ने र सम्भावित पदमार्गको रूपमा विकास गरिनेछ ।
अर्को सरकारसँग जोडिएका ट्याक्सको विषयहरू पनि छ । डलरमा हवाइ प्याकेज टिकटहरू हुने हुँदा १३ प्रतिशत भ्याट वाञ्छनीय छैन भन्ने हो । यसलाई शून्यमा ल्याउन राज्यसँग लबिङ गर्नेछौँ ।

एभरेस्ट एरियामा मात्र सेन्टरलाइज भएको मार्केटलाई डाइभरसिट गर्नुपर्ने अवस्था छ । त्यहाँ हुने ओभर क्राउड, होटलको समस्या, स्यानिटेसनको समस्या, फ्लाइटको समस्या म्यानेज गर्नेछौँ । पर्यटकलाई सर्वसुलभ रूपमा राम्रो फ्लाइट कनेक्सन अहिलेको चुनौती छ, यसलाई समाधान गर्नेर्छौं ।

अब प्राइभेट टुरिजम सेक्टरले नेपाल एयरलाइन्सको ओभरल रिफमको लागि दबाब दिन आवश्यक छ । किनकी नेपाली एयरलाइन्सले ल्याएको टुरिस्टले नेपालको जिडिपीमा कति योगदान दिएको छ । त्यो प्रमुख कुरा हो । नेपाल एयरलाइन्सलाई रिफर्म गराउन सरकारलाई दबाब दिनु आवश्यक छ ।

प्रतिक्रिया