मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारा तालमा निर्माण हुने रारा पर्यटकीय पूर्वधार निर्माण आयोजनाको काम ४ वर्ष पुगिसक्दा पनि काम अलपत्रजस्तै छ निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले रारा ताल आसपासका क्षेत्रमा अवैध बालुवा उत्खननदेखि कमसल सामग्री प्रयोग भएको भन्दै अहिले काम बन्द भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारामा पर्यटकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले रारा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि बजेटसमेत विनियोजन गरेको थियो ।
कर्णाली प्रदेश उद्योग वन तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत ४६ करोडको विनियोजित बजेटबाट ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिलाई ठेक्कासमेत दियो । तर, ठेकेदार कम्पनीका मालिकचन्द्र थकाली ८ करोड पेस्की लिएर गायब छन् । अहिलेसम्म ३ करोड २५ लाख बराबरको काम भएको देखिन्छ । १ करोड पेस्की कटेको र ४ करोड बेरुजी छ । काम ४ वर्ष पुगिसक्दा पनि निर्माण कार्य अलपत्र जस्तै छ । रारामा पर्यटकीय पूर्वाधार निर्माणभन्दा पनि कसरी करौडौँ रकम पचाउने भन्ने दाउमा निर्माण कम्पनी रहेको छ ।
ताल वरिपरि १५ किलोमिटरको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाइएको थियो । तर, अहिले काम करिब ४० प्रतिशत अर्थात ११ किलोमिटर ढुंगा सोलिङ मात्रै भएको छ । यो योजना आर्थिक वर्ष २०७८–०८९ मा सम्झौता भएको थियो । सोही आर्थिक वर्षबाट काम सुरु गर्ने गरी २०८३ सालमा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म पदमार्गको ११ किलोमिटर ढुंगा बिच्छाउने काम मात्र भएको र यो काम हेर्दा सन्तोषजनक नभएको सब डिभिजन कार्यालय मुगुका कार्यलय प्रमुख अमरप्रसाद साहले बताए ।
पहिलो ठेकेदार चन्द्र थकालीबाट धुव्र शाही अहिले धुब्र शाहीबाट धनवीर कामी धनवीरबाट पनि जसिमल विकले ठेक्काको काम गरिरहेका छन् । रारामा पर्यटकीय पूर्वाधार निर्माणको काम तेस्रो र चौथौ ठेकेदार काम गरिरहेका छन् । अहिले सोलिङ र पिसिसीको काम भइरहेको छ । तर, कमसल सामग्री प्रयोग र राराताल वरपरको क्षेत्र खोला नालाबाट अवैध बालुवा उत्खनन गरेको पाइएको छ ।
स्टेमेटमा कर्णालीको बालुवा प्रयोग गर्ने भनिएको छ । तर, निर्माण कम्पनीले आफ्नो सहजताका लागि र फाइदाका लागि रारा ताल वरपर अवैध बालुवा उत्खनन गरेका भए पनि कर्णालीकै बालुवा भन्दै निमार्णको जिम्मा लिएका ठेकेदारहरू ओठे जवाफ दिने गरेका छन् ।
यता रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुकाअनुसार पर्यटकीय पूर्वाधार निर्माणको नियम सम्मत निमार्णको अनुमति दिने गरेका छौँ । तर रारामा बालुवा उत्खननजस्ता अवैध काम गरेको सूचनाको आधारमा काम बन्द गर्न लगाएको रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका निमित्त कार्यालय प्रमुख जयहरि धितालले बताए ।
राराको विकासका लागि संघ र प्रदेशका योजनाहरू बारम्बार आउने गरेका छन् आएका योजनाहरू अलपत्र हुँदा अपेक्षा गरेअनुसार राराको विकास हुन सकेको छैन । तिनै तहका सरकारले राराको विकासका योजना समयमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई दबाब दिनुपर्ने स्थानीयको भनाइ छ ।
मुगु
प्रतिक्रिया