संरक्षणको पर्खाइमा मुगुका पर्यटकीयस्थल

कर्णाली प्रदेशको १० जिल्ला मध्ये एक जिल्ला हो मुगु । यस जिल्ला धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्ण छ । तर प्रचारप्रसारको अभाव, भौगोलिक विकटताले यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थल गुमनामजस्तै छन् । मुगु जिल्लामा नेपालको सबैभन्दा ठूलो ताल, विश्वका चार धाम मध्यको जेठो धाम छायानाथ धाम, एक रुपैयाँको नोटमा अवस्थित चंखेली हिमाल, कान्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णाली प्रदेशको कुल देवताको जेठो भाइ थार्प मष्टा, खेस्ममालिका, ऋणमोक्ष, कालिकामालिका मन्दिर, पर्यटकीयस्थल अपरमुगु, सोरु तातापधानीलगायत धेरै धार्मिक तथा पर्यटकीयस्थल छन् । तर, प्रचारप्रसार नहुँदा ओझलमा छन् ।

रारा ताल

समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको राराले दिनमा धेरै पटक रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिकजस्तो अनि कहिले खैरो । मौसमअनुसार दिनमै ४–५ पटक फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ । काठमाडौँबाट पहिलोचोटी रारा ताल घुम्न आएका कमल हमालले पनि यस्तै अनुभव गरे । मुगु सदरमुकाम गमगढीको पश्चिमपट्टि १० किमी लम्बाइ र ३ किमी चौडाइमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटक बढेका छन् अचेल । २०६९ पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगढीसँग जोडिएको रारामा यसको १ वर्षपछि नियमित रूपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भयो ।

रारा पुग्नेहरू सदरमुकाम गमगढी पनि झर्छन् । रारामा लेकाली वनस्पति तथा जीवजन्तुहरू प्रशस्त पाइन्छन् । हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैँचा बिछ्याएजस्तो देख्न पाइन्छ । चैतको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोको रातो र सेतो फूलले रारा हेर्न जाने जो कोही पनि थकाइको प्रवाह नगरी मन्त्रमुग्ध हुन्छन् । कुल १०६ वर्ग किलोमिटरमा फैलिएको राराले छिनछिनमा रंग बदलेको अनौठो दृश्य देख्न पाइन्छ । १६७ मिटर गहिरो यो तालमा लेकाली जातको असला माछा पाइन्छ । ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुर लगायतका थुप्रै लेकाली चरा एवं पानीहाँसले राराको सुन्दरता झनै बढाएका छन् । यहाँ पाइने जंगली जन्तुहरूमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि वन्यजन्तु रेडपान्डासमेत भेटिने गर्छ । रारालाई प्रकृतिको ऐनाभन्दा फरक नपर्ला किनभने आकास र ताल वरिपरिको दृश्य एकैचोटि छर्लंग देख्न सकिन्छ ।

छायानाथ धाम

कर्णाली प्रदेशको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौदेखि नै २ धर्माबलम्बीको संगमस्थल बनेको छ । छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दू धर्मका धर्माबलम्बीले आआफ्नै विश्लेषण र तर्क गरिरहेका छन् । मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि ३ दिनको पैदल यात्रापछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि ५ हजार मिटर माथिको उचाइमा अवस्थित छ ।


केदारनाथ, बद्रिनाथ, पशुपतिनाथभन्दा छायानाथलाई जेठो धामका रूपमा मानिन्छ भने यसको अर्को स्वरूप मानसरोवर पनि हो । छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले सतीदेवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिबिम्ब रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थस्थलका रूपमा मान्ने गर्दछन् हरेक १२ वर्षमा बाँदर वर्षका रूपमा बौद्ध धर्माबलम्बीले छायानाथको जन्म वर्ष मनाउने गर्दछन् । यो बेला परम्परागत पहिरन लगाएर बुढापाकादेखि बालबच्चा सबै छायानाथ जाने गर्दछन् । छायानाथमा पुगेर नाचगान पूजापाठ गर्ने पनि गर्दछन् ।

यता हिन्दू धर्माबलम्बीले पनि जनैपूर्णिमाका बेला नै छायानाथमा पुगेर, शिव, महादेवको रूप मानेर पूजापाठ गर्ने, आआफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने कामसमेत गर्दछन् । छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जल दिने गर्दछन् । देवीदेवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनैपूर्णिमाको बिहान आफ्नो गाउँमा पुगेर देवीदेवताको पूजापाठ र धामी नाच्ने वैदिक परम्परा छ । धार्मिक ग्रन्थ तथा किवंदन्तीअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा सतीदेवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दूको पवित्र धाम मानिएको विश्वास गरिँदै आएको छ ।

छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पूरा हुनुका साथै पूण्य कमाउने भन्दै हजारौँ तीर्थयात्री छायानाथ पुग्ने गर्दछन् । भारतको काशी जानु पहिले छायानाथको दर्शन गर्नुपर्ने हिन्दूहरूको मान्यता छ । काशी दर्शन गर्न जाँदा त्यहाँका पण्डितले छायानाथ गएको छ कि छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रतीक बनाएर दर्शन गराएपछि मात्र काशीको दर्शन गराउने गरेको बताइन्छ ।

ऋणमोक्ष माई

समुन्द्री सतहदेखि ४ हजार ३०० मिटरको उचाइमा रहेको प्रशिद्ध तीर्थस्थल ऋणमोक्ष पनि धार्मिक तथा पर्यटकीयस्थल भरिपूर्ण छ । जिल्लाको छायानाथ रारा नगरपालिका–१२ मा पर्ने ऋणमोक्ष मन्दिरमा जनैपूर्णिमाको अवसरमा पूजा तथा विभिन्न संस्कार गर्न पुजारीसहित हजारौँ भक्तजनहरू ऋणमोक्ष पुग्ने गर्दछन् ।

आफ्नो मनोकांक्षा पूरा गर्न बर्सेनि त्यहाँ जाने गरेको पाइन्छ । धर्मकुण्ड, अन्नपूर्णेश्वरी, गौकुण्ड, रक्तकुण्ड र तारा दह नामका ५ वटा कुण्ड भएको ऋणमोक्ष तीर्थस्थलमा कुल देवता शुद्ध पार्न, वर माग्न, ब्रतबन्ध गर्न, मृतकको अस्तु सेलाउन तथा पिण्ड प्रदान गर्न र चौपाया हत्याको पाप कट्टा गर्न भक्तजनहरू ऋणमोक्ष पुग्ने बिश्वास छ ।

चंखेली हिमाल

साविककै रुगा गाविस तथा छायानाथ रारा नगरपालिका–१४ मा चंखेली हिमाल रहेको छ । नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ । हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल साविकको कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ । २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले २ दिनसम्म सिकार गरेर रमाएका थिए ।

सदरमुकाम आसपासमा रहेका पर्यटकीयस्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीयस्थल भएर पनि पर्यटकका लागि अपरिचित भएको मुुगु नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्ल बताउँछन् । चंखेली हिमाल हेर्नमा मात्र आकर्षण छैन । त्यस आसपासका बाम गाउँ, फाइपाटा लगायतका गाउँ र चिर कालिज, कस्तुरी मृग, गुराँस, भोजपत्रका रुखलगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकस्थल बनेका छन् । सदरमुकाम गमगढीबाट ३ घण्टाको पैदल दुरीमा रहेको उक्त चंखेली हिमाल पुग्न सकिन्छ ।

कान्जिरोवा हिमाल

कान्जीरोवा हिमाल मुगुमकामरोङ गाउँपालिकमामा पर्दछ । यो हिमालले मुगु र डोल्पाको सीमामा अवस्थित छ । यस्ता मन नै लोभ्याउने अरू हिमाल पनि नामकरण भएका छैनन् । यो हिमाल पनि समुन्द्र सतहदेखि ५ हजार फिटको उचाइमा अवस्थित छ । मुगुमा यस्ता हिमाल तालतलैया धेरै भए पनि कतिपय हिमाल तथा ताल तलैयाको खोजी हुन अभैm बाँकी छन् । भएका र भेटिएका पनि राम्रो संरक्षण तथा प्रचारप्रसारको कमीले ओझेलमा परेका छन् । कान्जीरोवा हिमालको छाया रारा तालमा पनि पर्छ ।

कोइकी हिमाल

कोइकी हिमाल नेपालीको नजरमा नपरेको तर विदेशीको नजरमा परेको देखिन्छ । किनकी यस हिमाललाई खोज्दै विदेशी पर्यटक बर्सेनि चढ्नका लागि आउने गरेको मुगुमकामरोङ गाउँपालिका–२ का स्थानीय छेतुङ लामा बताउँछन् । उनका अनुसार जापानी, फ्रान्सेली अमेरिकनलगायत विभिन्न देशका विदेशी पर्यटक आउँछन् । कोइकी हिमाल चढ्न खोज्छन् । तर, आजसम्म चढ्न नसकेको उनी बताउँछन् । सदरमुकाम गमगढीबाट झण्डै ३ दिन हिँड्यो भने कोइकी हिमाल पुगिन्छ । कोइकी हिमालबाट चीनको केही दृश्य, डोल्पा र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट झण्डै ७–८ हजार मिटरको उचाइमा पर्ने हिमालभित्र पनि कोइकी हिमाल पर्छ । तर, हामीले पर्यटकीय सम्भावनालाई चिन्न सकेका छैनौँ ।

थार्प मस्टो

कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रूपमा मस्टोलाई पूजा गर्ने चलन छ । कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन् । तर, सबैभन्दा जेठो भाइ मुगुको छायानाथ रारा नगरपालिका–१३ थार्प गाउँमा रहेको मस्टोलाई मानिँदै आएको जानकारहरू बताउँछन् । ९ पुस्ताअगाडि १३०० सालमा भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुखमुनि बसेको वृद्धहरूको भनाइ छ ।

थार्प मस्टाको मेला वैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कात्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भव्य रूपमा मेला लाग्ने गर्दछ । मस्टोको दर्शन गरेमा आफूले चाहेको वर पूरा हुने भएकाले धार्मिक विश्वासका कारण प्रत्यक वर्ष तीर्थालु भक्तजन थार्प आउने गर्दछन् । थार्प मस्टाले भविष्यमा हुने नहुने के छ सबै ठोकुवाका साथ भन्ने गरेको र भने बमोजिम लागू पनि हुँदै आाएको छ ।

छोरा नभएका मान्छे छोरा दिने, चुनावमा विजय प्राप्त हुने नहुने अग्रिम जानकारी दिने, श्रीमती नपाएकालाई श्रीमती ल्याउन सहयोग गर्नेजस्ता विशेष महत्वका भविष्यवाणी गर्ने भएकाले पनि थार्प मस्टोको विशेष महत्व हुनुका साथै बाहिरी जिल्लाका तीर्थालु भक्तजन दर्शन गर्न आउने स्थानीय केबल बोहोराले बताए । यसै मुगुमा सोरु तातोपानी, खेस्ममालिका, कालिकामालिका मन्दिर क्रणमोक्ष माईलगायत थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन् ।

प्रतिक्रिया