काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । टानको आगामी भदौ १७ मा हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो ।
साधारणसभाको १ महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेद्वारी घोषणा गरेर प्रचारप्रसार र भेटघाटमा सक्रिय भएका छन् । टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने बताए । उनका अनुसार टानमा करिब २ हजार पदयात्री व्यवसायी आवद्ध छन् ।
अध्यक्षका प्रत्यासी थपलिया ३ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य छन् । आकाश ट्रेक्स एन्ड एक्सिडिसन प्रालिका प्रबन्धनिर्देशक थपलियाले नेपाल निर्यात परिसंघको निवर्तमान उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
टान नेतृत्वमा पुगेको खण्डमा नीतिगत सुधारमा विशेष ध्यान दिने उनले बताए । ‘टानमा नीतिगत कुराको समस्या छ, पुरानो पर्यटन ऐन परिमार्जनका लागि पहल गर्नुपर्नेछ’, थपलियाले भने, ‘आफू कानुन क्षेत्रमा पनि आवद्ध भएकोले नीतिगत सुधारमा विशेष ध्यान दिनेछु ।’
यस्तै, अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रिय छन् । नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक हुन् । पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवद्र्धनमा आफ्नो भूमिका केन्द्रित हुने उनले बताए । उनले भने, ‘पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।’
उनले स्थानीयतहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । पाठ्यक्रममै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।
अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् । टानको पूर्वमहासचिवसमेत रहेका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवद्र्धनलगायत विषयलाई प्राथमिकता दिने योजना रहेको बताए । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया