७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को ७ महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकी गतवर्षको सोही अवधिमा ५ लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए ।

यसवर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव ९ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् ।

यसवर्षको जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक आगामन भएकामा गतवर्षको सोही अवधिमा यो संख्या ७५ हजार ७२६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार ४६२, सन् २०२१ मा ३ हजार ६३, सन् २०२० मा १९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९१६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो ।

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार ४९१, अमेरिकाबाट ७ हजार ८६४, चीनबाट ६ हजार ८१९, बेलायतबाट ३ हजार ८०६ र बंगलादेशबाट ३ हजार ४७० विदेशी पर्यटक नेपाल आएका छन् ।

लुम्बिनीमा लोभिँदै पर्यटक

बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृंखला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृंखलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् ।

श्रीलंकाबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एक पटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे ।

बर्सातपछि छर्लंग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृंखला देख्दा जोकोही पनि लोभिने अवस्था छ । प्रायः असार–साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धवलागिरिलगायत हिमालहरू देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने, ‘समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचारप्रसार हुन सकेको छैन । भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदी किनारमा रहेको बताउनु भएको सन्दर्भमा बुद्धसँग हिमाललाई समेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।’

तराईको समथर पूण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृंखला देख्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार–साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।

तल्लो सेती जलविद्युत्का लागि ५०० रोपनी जग्गा अधिग्रहण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ५०० रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा–१ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरनी गाउँपालिका–५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा–२९ प्रभावित हुने बताइएको छ ।

बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक २१३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र २०० मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत् आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना सुरु गरेको हो ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए । करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया