रारामा पुगे १७ हजार पर्यटक

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल स्वर्गकै उपमा पाएको नेपालको सबैभन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटक बढ्ेका छन । बाह्य पर्यटकभन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार अन्तिम १ वर्षमा रारामा १७ हजार २९७ जना आन्तरिक तथा बाह्य पर्यटक भ्रमणमा पुगेका छन् । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन् र स्वर्गको अनुभूति गर्न पर्यटक रारा पुग्ने गर्दछन् ।

आर्थिक वर्ष २०८०/०८१ मा रारामा आन्तरिक पर्यटक महिला पुरुष गरेर १७ हजार, सार्क नागरिक ६० जना, विदेशी नागरिक २३७ जना गरी १७ हजार २९७ पर्यटक रारा पुगेका रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए । गत वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष ६ हजारले वृद्धि भएको छ । रारा घुुम्ने समय फागुुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ ।

पछिल्लो आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार अन्तिमसम्म रारामा १७ हजार पर्यटक आइपुगेका छन् । यसले रारा आउने पर्यटकको लागि सकरात्मक सन्देश दिएको छ । गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब ११ हजार रहेको र यो वर्ष वृद्धि भएर १७ हजार पुगेका निमित्त कार्यालय प्रमुख धितालले बताए ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको छ । पछिल्लोपटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् । रारा आउने पर्यटक घोडा चढेर मुर्माटपसम्म पुगेर फर्किने गरेका छन् ।

रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्ने गरेका छन् ।
कर्णाली राजमार्ग व्यवस्थित नहुँदा ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान नहुँदा रारा पुुग्ने पर्यटक एकपटक आइसकेपछि पुुनः आउन आनाकानी गर्ने गरेका र नाग्मदेखि गमगढीसम्ममा सडक खण्ड स्तरोन्नति नहुँदा, सडक कच्ची र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवतजावतमा पर्यटकले सास्ती भोग्नुपरेको पर्यटकहरू बताउँछन् ।

समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन नीलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसमअनुसार दिनमै ४–५ पटक फेरिने राराको पानीको रंगमा सिन्जे र कान्जिरोवा हिमालको छाया मिसिएपछिको दृश्य वर्णन गर्न लायकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सराजस्तो देखिन्छ ।

गत वर्षको साउनदेखि असार अन्तिमसम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुगुले जनाएको छ ।

प्रतिक्रिया