मूलकोट र हलेसीमा पनि पौवा रिसोर्ट

काठमाडौँ । विशुद्ध नेपाली लगानीको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोसी किनारमा अवस्थित मूलकोटमा पौवा होटल सुरु गरेको छ । पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मूलकोटस्थित सुनकोसी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवाबिच रिसोर्ट सञ्चालन गरेको हो ।


यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौँ । काठमाडौँदेखि ९० किलोमिटरको दुरीमा रहेको सिन्धुलीको मूलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौँको भिडभाडबाट सुनकोसी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौँ ।’

‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ’, पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले भने, ‘नेपालको १ वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ । पछिल्लो १ वर्ष कोरानाअघिकै रूपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १५ वटा पौवा चेन बनाएका छौँ । जुन पर्यटकी गन्तव्य क्षेत्रसमेत हुन् । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षासमेत गरेका छौँ ।’

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा

विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिंगे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडाँैको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो । अब पौवाको १४औँ शाखा सिन्धुलीको मूलकोट र खोटाङको हलेसीमा १५औँ शाखा बिस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा ५ तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्रान्डमा सेवा दिनेगरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।


पौवाका व्यवस्थापक धुव्र न्यौपाने भने, ‘नेपालमा घुम्ने स्थान अथाह छ । हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ । अर्थात, पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्नेसमेत हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोतसमेत पिस्तार भएको छ ।’ न्यौपाने भने ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ ।’

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयाससहित १ दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिसन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यता सहितको चेन होटलको रूपमा फैलिँदै गएको छ ।

प्रतिक्रिया