नाथमद्वारा होटेल म्यानेजमेन्ट र पर्यटनका ६ विधाका तालिम

धनुषा । नेपाल एकेडमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम)ले आयोजना गरेको विभिन्न विषयमा दिएको तालिमको एक समारोहबीच समापन गरिएको छ ।

विभिन्न ६ विधामा प्रशिक्षार्थीले लिएको तालिमको प्रमाणपत्र वितरण गर्दै तालिम समापन भएको हो । नाथमले बेसिक फुड प्रिपेरेसन, फुड एन्ड वेभरेज सर्भिस, बरिष्टा, बेकरी, बेसिक हाउस किपिङ र लोकल टुरिस्ट गाइड विषयक तालिम प्रशिक्षार्थीहरूलाई प्रदान गरेको नाथमका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिए ।

तालिम समापन समारोहमा बर्दिवासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दिवास नगरपालिकाले कलेजलाई साथ र सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नाथमले यस भेगको विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने भएकाले बर्दिवास नगरपालिका यो कलेजका विकासका लागि हरसम्भव प्रयास गरिरहने बताए । नगरप्रमुख क्षेत्रीले नगरपालिकाले कलेजलाई जग्गा उपलब्ध गराइसकेको र भवन निर्माणका लागिसमेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयका सचिव रंजित यादवले सीपसँगै रोजगारको अवसर सिर्जना गर्ने गरी तालिमको आयोजना निरन्तर गर्न प्रदेश सरकार तथा मन्त्रालय तयार रहेको जानकारी दिए । उनले अहिलेसम्म मन्त्रालयले त्यो अनुसार रणनीति बनाउन नसके पनि आगामी आर्थिक वर्षदेखि सीपसँगै रोजगार सहितको तालिम सञ्चालन गर्ने दिशामा काम गर्ने बताए ।

श्रम तथा यातायात मन्त्रालयको सहयोगमा नाथमले आयोजना गरेको विभिन्न तालिमको समापन समारोहमा नाथमका निर्देशक संगीता ओझा, होटेल व्यवसायी विजय झुनझुनवाला, हिरा गौतम लगायतको उपस्थिति रहेको थियो । तालिममा १३१ प्रशिक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया