काठमाडौं । पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक फण्ड) ले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जनाएको छ ।
लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।
ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा लघु, साना तथा मझौला व्यवसायहरु र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरुलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको बताए । उनले भने, ‘यो ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ ।’
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्ने बताए । ओपेक फण्डले बैंकिङ, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरुमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।
प्रतिक्रिया