बागमती प्रदेश पर्यटकीय क्षेत्रहरूले भरिपूर्ण रहेको प्रदेश हो । आन्तरिक तथा वाह्य पर्यटकहरूको समेत धेरै आवागमन हुने बागमतीमा नयाँ पर्यटकीय स्थलहरूसमेत बढ्दो क्रममा छ । त्यस्तै नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको पर्यटकीय स्थल हो, दोलखाको शैलुङस्थित ‘सय थुम्का’ । नेपाल सरकारले घोषणा गरेको नेपालको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा सूचीमा परेको स्थान मध्यको एक हो, शैलुङ पनि । यो प्रकृतिको सुन्दर सिर्जना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलको रूपमा समेत परिचित छ । १०० थुम्का देशकै रमणीय पर्यटकीय स्थलका रूपमा परिचित छ । समुद्री सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा अवस्थित ‘१०० थुम्का’ अछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको स्थल बनिरहेको छ । प्रर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको यस १०० थुम्का पर्यटक भित्र्याउने प्रचुर सम्भावना रहेको स्थल भए पनि प्रचार प्रसारमा ओझेल परेको कारण सोचेजति पर्यटक भने भित्र्याउन नसकिएको स्थानीय पर्यटन व्यवसायीहरूको गुनासो छ ।
शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाललगायत हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग देखिन्छ । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुंगी एवं जंगली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रूपमा १०० थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय पत्रकार बुना घिमिरेले बताइन् । धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज १०० थुम्का पर्न थालेको उनको भनाइ छ । यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुंगेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफासमेत छन् १०० थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नका लागि पनि उचित गन्तव्यको रूपमा लिन सकिन्छ । हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । तल्लो भागमा धानखेती, त्यसभन्दा माथि आलु र सोभन्दा माथि हिउँ थुप्रेको सौन्दर्य यहाँ देख्न पाइन्छ । यहाँ सांस्कृतिक विविधता पनि त्यत्तिकै छ । स्थानको हिसाबले यो ठाउँ मनमोहक पनि रहेको छ ।
यस्तो छ पौराणिक इतिहास
पौराणिक किंवदन्तीअनुसार पहिले यहाँ १०० जना तपस्वीले तपस्या गर्थे । कलियुग प्रारम्भ भएपछि कलियुगको मुख नहेर्ने भनी उनीहरू १०० थुम्कामै विलीन भएपछि शिलाका रूपमा रहेको इतिहासविद्हरूको भनाइ छ । त्यस्तै रामायणको लडाइँमा मुर्छित भएका लक्ष्मणलाई ब्युँताउन हनुमानले औषधिका लागि सुमेरु पर्वत बोकेर ल्याउँदा झरेको माटाको डल्लोबाट यो १०० थुम्का बनेको किंवदन्ती पनि प्रचलित रहेको छ । त्यस्तै महायान समुदायका लामा बौद्ध धर्मको उप–सम्प्रदाय निङमायाको किंवदन्तीअनुसार गुरु पद्मसम्भव (रिपोन्छे)ले नेपालका उच्च तथा हिमाली शृंखलाका साथै तिब्बतका बोन (झाँक्री) धर्म गुरुहरूलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । त्यसपछि त्यहाँ धर्मचक्र राजाकी छोरीसँग विवाह गरी बस्दा स्वदेश (ग्यासार)का जजमानहरूको संस्कार साधनासमेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउँदा मानेखोर अथवा ल्याहो (माने) शैलुङमा बसेका थिए भन्ने विश्वास गरिन्छ ।
यस्तै कारणले यहाँ हिन्दू धर्मावलम्बी मात्र होइन, बौद्ध धर्मावलम्बीसमेत ठूलो आस्थाका साथ पूजाआजा गर्छन् । यहाँ रहेको प्रसिद्ध शैलुंगेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमा र बालाचतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । यहाँ रहेको एउटा ओडारमा धर्मढोका रहेको छ । यो ढोकाबाट पापी छिर्न सक्दैन भन्ने विश्वास पनि रहिआएको छ ।
यहाँका १०० थुम्कामध्ये सबैभन्दा ठूलो थुम्कालाई बाघदुर्गा भन्ने गरिन्छ । धार्मिकस्थल कालिञ्चोकबाट डाँफे चराको बथान आई बाघदुर्गामा बस्ने गरेको बताइन्छ । धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जनचासो बढ्दै गए पनि सोचेअनुसार प्रचारप्रसारको अभाव रहेको स्थानीय कान्छाराम तामाङको भनाइ छ ।
कसरी पुग्ने सय थुम्का ?
शैलुुङ क्षेत्र पुुग्न काठमाडाैँबाट मुढेसम्म पुुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । । काठमाडौँबाट १२५ किलोमिटरको दुरीमा मुढे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । त्यसो त रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुढेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब १३० किलोमिटर सडक पार गरेपछि शैलुङको १०० थुम्का पुुग्न सकिन्छ ।
प्रतिक्रिया