मनाङ । कम पानी पर्ने परिचय बनाएको मनाङमा बिस्तारै वर्षा हुन थालेको छ । जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँका प्रकृतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । २०७८ साल जेठ १४ र असार १ मा मस्र्याङ्दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रुपमा विश्वले लिएको छ । यही बाढीले यहाँका प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ । यसले पनि यहाँको प्राकृतिक रुप फेरिएको छ ।
कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताए । उनले भने, ‘हामी जन्मिएर बुढो भयौँ । मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के फेरिँदैछ कुन्नि पहिले नआउने नदीमा बाढी आयो ।’
बाढीले भौतिक पूर्वाधार र यहाँको प्रकृतिलाई धेरै असर पुर्याएको छ । उनले भने, ‘नदीको वितण्डाले घर, बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।’ शान्त र सुन्दर वातावरण रहेको मनाङ अहिले फेरिँदै गएको छ ।
ताल हराउँदै
मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीयस्थल झैँ बनेको छ । केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदी भने तस्वीरमा मात्रै सीमित हुन थालेका छन् ।
माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झन्छन् । उनी भन्छन्, ‘अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले पर्यटक तान्न सकिएला भन्ने थियो । यो ताल अहिले मैदान झैँ बनेको छ ।’
घले भन्छन्, ‘स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्वीर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भौगर्भिक बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने आधार बनाइएको छ ।’
झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।
अनुसन्धान समूहका एक अनुसन्धाता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ ।
अन्वेषकका बुझाइमा, यो त्रासको स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ ।
‘अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले तीन करोड पाँच लाख बजेट छुट्याएको छ’, गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन्, ‘टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्छौं ।’
भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण प्राथमिकतामा रहनुपर्ने बताउँछन् ।
फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्गर लेक (काजिनसारा ताल) (गड अफ फायर) फेला परेको थियो ।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (चार हजार नौ सय १९ मिटर) भन्दा झन्डै दुई सय मिटर उँचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन ।
मनाङ ङिस्याङ–६ का वडाध्यक्ष गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गङ्गापूर्णलाई सुरक्षित तुल्याएर राख्ने योजना छ ।
मौसममा आएको परिवर्तनले नै स्वर्गको उपमा पाएको मनाङ मुहार नै फेरिने अवस्थामा पुगेको छ । यहाँका प्राकृतिक चिजबिज नै फेरिँदै गएपछि प्रकृतिमा रमाउन आउने पर्यटकको आकर्षणमा गिरावट आउने त होइन भनी सोच्नुपर्ने बेला भएको छ ।
प्रतिक्रिया