काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मतदान सम्पन्न भएको आठौं दिन आइतबारसम्म प्रत्यक्षतर्फ १ सय ५७ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानमध्ये अब पाँच स्थानको अन्तिम मतपरिणाम आउन बाँकी छ । बाजुरा, दोलखा र स्याङ्जामा भने विवादका कारण मतगणना कार्य अवरुद्ध भएको छ । हालसम्म घोषित मतपरिणाम अनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ ।
कांग्रेस अझै तीन स्थानमा अगाडि छ । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४ सय ३९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुर्सियतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् ।
उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खडका २५ हजार ९ सय १७ मतसहित अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जुकुमारी चौधरीले २४ हजार १ सय ९ मत ल्याएकी छन् । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादब २३ हजार ५ सय ६५ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रघुवीर महासेठले २३ हजार १ सय ७ मत ल्याएका छन् ।
यसैगरी नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ । एमालेले अझै एक स्थानमा अग्रता लिएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार भगवती चौधरी १७ हजार ३१ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजयकुमार गच्छदारले १२ हजार ४ सय ७४ मत ल्याएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ । नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हात पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सात स्थानमा जित हासिल गरेको छ ।
जनता समाजवादी पार्टीले हालसम्म ६ स्थानमा जित हासिल गरेको छ भने अझै एक स्थानमा अग्रता लिएको छ । सुनसरी क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवार अशोककुमार राई १४ हजार १ सय ५ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १३ हजार ९ सय ८७ मत ल्याएकी छन् ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थानमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन स्थान जितेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले पनि एक÷एक स्थानमा जित हासिल गरेका छन् । हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट पाँच जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यसैबीच, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् ।
खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६ सय ९९ मत ल्याएका छन् । खनालले २३ हजार ३ सय ४५ मत पाएका छन् । खनाल यसअघि यही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए । खनालले भने धाँधली भएको आरोप लगाउँदै मतगणना वहिष्कार गरेका छन् । उनले मतगणका क्रममा धाँधली भएको आरोप लगाएका हुन् ।
यसैगरी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई १ सय १४ मतले पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाए । खड्काले २९ हजार ९ सय ६ मत पाए । उनी ०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसैगरी एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गरे । मेहताले २६ हजार ५८ मत ल्याए ।
यसैबीच, प्रदेशसभाको प्रत्यक्षतर्फ हालसम्म कांग्रेसले १ सय ४ र एमालेले ८७ स्थानमा जित हासिल गरेका छन् । माओवादी केन्द्रले ५३ र नेकपा एकीकृत समाजवादीले १३ स्थानमा सफलता हात पारेका छन् । स्वतन्त्र उम्मेदवारले १२ स्थानमा जित हासिल गरेका छन् भने राप्रपाले ११ स्थानमा जित हात पारेको छ ।
यसैबीच, दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ ।
यसैबीच, निर्वाचन आयोगले बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरू सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम मंगलबारसम्म आइसक्ने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबारसम्म विवादित स्थानबाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आउने बताए ।
बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गर्ने उनले बतााए । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।
प्रतिक्रिया