काठमाडौं । प्रतिनिधिसभाका लागि भएको समानुपातिक निर्वाचनतर्फ ८० प्रतिशतभन्दा बढी मतको गणना सकिएको छ । निर्वाचन आयोगले आइतबार राती ८ बजे सार्वजनिक गरेको विवरणअनुसार, समानुपातितर्फ करिब ९० लाख मत गणना भइसकेको छ ।
समानुपातिकतर्फको गणना उत्तरार्धतिर लाग्दा हालसम्म पाँच वटा राजनीतिक दलले मात्र तीन प्रतिशतको लक्ष्य पूरा गरेका छन् । अन्य चार दलसमेत लक्ष्यतर्फ अघि बढिरहेको देखिन्छ । तर, ती चार दलले ‘तीन प्रतिशत’ को लक्ष्य भेट्टाउने सम्भावना भने निकै कम देखिन्छ ।
हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र तीन प्रतिशतको तगारो पार गरेका छन् । ८० प्रतिशतभन्दा बढी मतको गणना सकिँदासम्म एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
आयोगको पछिल्लो विवरण अनुसार, एमालेले समानुपातिकतर्फ कुल २४ लाख ५७ हजार ८ सय ३६ मत प्राप्त गरेको छ । कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले हालसम्म २३ लाख ४१ ह्जार १ सय २२ मत प्राप्त गरेको छ ।
यसैगरी माओवादी केन्द्रले १० लाख २७ हजार ७ सय ३ मत प्राप्त गरेको छ । चुनावअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पहिलो चुनावी सहभागितामै तीन प्रतिशतको लक्ष्य पूरा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म १० लाख १२ हजार ९ सय ६२ मत पाएको छ ।
यसका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ५ लाख ३३ हजार २ सय ८० मत ल्याउँदै तीन प्रतिशतको लक्ष्य पूरा गरेको छ । अब समानुपातिकतर्फ २० प्रतिशतभन्दा कम मत गणना गर्न बाँकी रहँदा थप चार वटा दल पनि विस्तारै लक्ष्य भेट्टाउन अघि बढिरहेको देखिन्छ । ती चार दलले दुई लाखभन्दा बढी मत पाएका छन् ।
जनता समाजवादी पार्टीले हालसम्म ३ लाख ७ हजार ७ सय २१ मत प्राप्त गरेको छ । संसदीय राजनीतिमा पहिलोपटक होमिएको जनमत पार्टीले पनि २ लाख ४१ हजार ६८ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले पनि २ लाख ४० हजार ९ सय १९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले भने २ लाख २९ हजार ६ सय ९६ मत ल्याएको छ ।
समानुपातिक निर्वाचनका लागि दर्ता भएका ४७ दललाई आयोगले गणनामा समावेश गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले हालसम्म १ लाख २३ हजार ५ सय ८० मत पाएको छ । अन्य दलले भने एक लाख मत पनि पाउन सकेका छैनन् । ४७ दलमध्ये नेश्नलिस्ट पिपल्स पार्टीले सबैभन्दा कम १ हजार ५ सय ८४ मत ल्याएको छ ।
यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका थिए । आयोगको प्रारम्भिक तथ्यांकअनुसार, यसपटक ६१ प्रतिशत मात्र मत खसेको छ । त्यसलाई आधार मान्दा यसपटक देशभरबाट करिब १ करोड १० लाख मत खसेको देखिन्छ ।
यस पटक तीन प्रतिशतको हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । सोही आधारमा आयोगको प्रारम्भिक अनुमान अनुसार, समानुपातिक प्रणालीमा दलहरूले तीन प्रतिशतको लक्ष्य भेट्टाउनका लागि ३ लाख २० हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ ।
कुल सदर मतको तीन प्रतिशत मत ल्याउने दलहरूले मात्र समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेद्वार निर्वाचित गराउन पाउँछन् । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकतर्फ तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत ‘दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भन्ने व्यवस्था गरिएको छ ।
सोही प्रावधानअनुसार, समानुपातिकतर्फ तीन प्रतिशतको लक्ष्य नभेट्टाउने दलहरूले प्राप्त गरेको मत उनीहरूको खातामा गणना हुँदैन । प्रदेशसभातर्फ भने समानुपातिकमा १ दशमलव ५ प्रतिशत मत ल्याउने दलबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ ।
समानुपातिक प्रणालीमा तीन प्रतिशत मत कटाए पनि प्रत्यक्षतर्फ एउटा क्षेत्र पनि नजितेका दलहरूले समेत समानुपातिक प्रणालीबाट सांसद पठाउन पाउने प्रावधान छ । तर, राष्ट्रिय दलको मान्यता पाउनका लागि भने प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीबाट निर्वाचित हुनुपर्ने हुन्छ ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार, प्रतिनिधिसभामा राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने हुन्छ भने समानुपातिकतर्फ पनि दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ ।
‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,’ ऐनमा भनिएको छ ।
यसअघि ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँच वटा दलले मात्र समानुपातिकतर्फ तीन प्रतिशतभन्दा बढी मत ल्याएका थिए । उक्त निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका थिए ।
एमाले र माओवादीको एकतासँगै नेकपा बनेपछि संसद्मा राष्ट्रिय दलको संख्या चार मात्रै रहेको थियो । त्यसपछि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमको एकताले प्रतिनिधिसभामा तीन वटा मात्र राष्ट्रिय दल रहेका थिए । तर, नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी गठन र जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी दल अलग भएपछि राष्ट्रिय पार्टीहरू ६ वटा पुगेका थिए ।
राष्ट्रिय दलको मान्यता पाएका पार्टीहरूले संसद्मा एउटा संसदीय दलको कार्यालयसहित सांसदको संख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारी सुविधा पाउँछन् ।
प्रतिक्रिया