सुदूरपश्चिममा सत्ता गठबन्धन : कांग्रेसलाई फाईदा, समाजवादीलाई काइदा

धनगढी । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको नतिजा सार्वजनिक हुने क्रम देशैभरी जारी रहेको छ । सुदूरपीश्चम प्रदेशमा प्रतिनिधिसभा सदस्यको १५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६ निर्वाचन क्षेत्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लाका १५ क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने बाजुराको नतिजा बाँकी छ । बाजुरामा प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र छ ।

१५ निर्वाचन क्षेत्रमा सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ७,नेकपा (एकीकृत समाजवादी)ले ३,नागरिक उन्मुक्ति पार्टीले ३ र नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ । सत्ता गठबन्धन दल कांग्रेसले ७ र एकीकृत समाजवादीले ३ सिट जित्दा माओवादी केन्द्रले भने एक सिट पनि जित्न सकेन् ।

२०७४ को निर्वाचनमा कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाको १ सिट मात्रै जितेको थियो । सत्ता गठबन्धनले कांग्रेसलाई निकै फाइदा भएको छ । उसले ७ सिटमा जित हासिल गरेको छ । २०७४ मा बाम गठबन्धन हुँदा माओवादी केन्द्रले ३ सिट जितेको थियो उसले यो निर्वाचनमा १ सिट पनि जितेन ।

सत्ता गठबन्धन दलको भागबण्डामा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले ९,माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ३ सिट पाएको थियो । कांग्रेसको भाग परेकामध्ये ७ सिटमा जितेको छ । कैलाली १ मा भने नागरिक उन्मुक्ति पार्टीले जितेको छ भने बाजुराको नतिजा बाँकी छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा डडेलधुराबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,कैलाली ४ बाट वीरबहादुर बलायर,दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू,कञ्चनपुर ३ बाट रमेश लेखक,कञ्चनपुर २ बाट एनपी साउँद,अछाम २ बाट पुष्पबहादुर शाह र कैलाली ५ बाट डिल्लीराज पन्त विजयी भएका छन् ।

त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीलाई पनि सत्ता गठबन्धन काइदाको भएको छ । पार्टी संगठन कमजोर भएको समाजवादीले भने गठबन्धनकै बलमा ३ सिटमा जित हात पारेको छ । नेकपा एकीकृत समाजवादीबाट अछाम १ बाट शेरबहादुर कुँवर,बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको भागबण्डामा समाजवादीको भागमा परेका ३ वटै सिटमा विजय हासिल गरेको छ ।

गत वर्षमात्रै खोलिएको नागरिक उन्मुक्ति पार्टीले भने कैलालीका ३ क्षेत्रमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा एमालेले ११ सिट जितेको थियो भने अहिले दुई सिटमा खुम्चिएको छ । एमालेबाट प्रतिनिधसभा सदस्यमा बैतडीबाट एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर १ बाट तारा लामा तामाङ विजयी भएका छन् ।

प्रतिक्रिया