भेरीगंगा । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुई वटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजाअनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार बिसी पराजित भएका छन् । थानीको पक्षमा ३४ हजार ६ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार बिसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेका छन् । थापाले १८ हजार २ सय ५६ मत प्राप्त गरेका छन् भने, उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन् । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले ४ हजार ६ सय २ मत पाइन् । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । उनले एमालेका लक्ष्मी पोख्रेललाई १ सय ५३ मतान्तरले हराए ।
यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार १ सय २० मत ल्याएर पराजित भए । यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७ सय मत ल्याएर स्वतन्त्र उम्मेद्वार राजेन्द्रबहादुर शाहलाई हराएका छन् । शाहले १९ हजार ७ सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी भएका छन् । उनीे २२ हजार ८ सय १९ मत ल्याएर विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई १० हजार ८ सय ६० मतान्तरले उनले पछाडि पारे । यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै गएका छन्, भने मुगु, हुम्ला र डोल्पामा बिहीबार अबेरसम्म मतगणना जारी छ ।
प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक
कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरू १० ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी भएका छन् ।
कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार ४ सय मत ल्याएर पराजित भए । यस्तै दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसकेका छन् । उनले एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरे । उनले ९ हजार ४ सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरे ।
यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भएका छन् । उनले १० हजार ५ सय ४४ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले ९ हजार ४ सय ६८ मत पाए ।
यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३ सय ५ मतले हराएका हुन् । भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् । जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् ।
सिंहले १८ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनको प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार ४ सय ७० मत प्राप्त गरे । जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत पाए ।
कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजंग शाहीलाई स्वतन्त्र उम्मेद्वार देवेन्द्रबहादुर शाहीले पराजित गरेका छन् । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार कांग्रेसका शाहीलाई १ हजार ८ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन् । यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन् ।
कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गरेका हुन् । पछाई ७ हजार ८ सय १५ मतले विजयी भएका हुन् । रोकायले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् । पछाई एमाले प्रदेश कमिटी उपसचिव पनि हुन् । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेद्वार प्रदेशसभामा निर्वाचित भएका छन् । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया