काठमाडौं । निर्वाचनमा हारजीत स्वभाविक प्रक्रिया हो । धेरै मतले हारजीत हुनुलाई स्वाभाविक रुपमा लिन सकिन्छ । तर, कपिपय अवस्थामा हारजीतको अन्तर अत्यन्तै कम हुने गर्छ । यस्तोमा पराजित हुने उम्मेदवार अझ बढी पिडीत बन्छन् ।
झन, तीन सयभन्दा कम मतले हार्नुको पीडा त पराजित हुने उम्मेदवारलाई मात्रै थाहा हुन्छ । यस पटक भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यस्तो दृश्य देखिएको छ । यो निर्वाचनमा केही उम्मेदवार तीन सयभन्दा कम मतले पराजित भएका छन् ।
अझ रोचक त के भने, तीन सयभन्दा कम मतले विजयी हुने उम्मेदवार फरक÷फरक प्रदेशका हुन् । लुम्बिनी प्रदेशमा नेकपा एमालेका महासचिव शंकर पोखरेल केवल १ यस ९७ मतले मात्रै पराजित भएका छन् ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग १ सय ९७ मतले पराजित भएका हुन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरिन् । पोखरेलले भने २६ हजार ६ सय ८० मतमात्र प्राप्त गर्न सके ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए । तर, उनै पोखरेललाई दाङवासीले पत्याएनन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र पनि मानिन्छन् ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै रह्यो । नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई केवल १ सय २५ मतले पराजित गरे ।
सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरे । मिश्रले भने ७ हजार १८ मत मात्र प्राप्त गर्न सके ।
यसअघि ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहल मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला सिंहले मिश्रलाई ८ सय १८ मतको अन्तरले हराएका थिए । त्यतिबेला सिंहले १० हजार ९ सय ३६ र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए ।
यसैगरी ताप्लेजुङमा एमालेका सचिव योगेश भट्टराई पनि झिनो मतान्तरले विजयी भए । उनी केवल २ सय ८ मतको अन्तरले मात्रै विजयी भएका हुन् । उनले आफ्ना निकट्तम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई हराएका थिए ।
भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गरे । उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत मात्र ल्याए । भट्टराई सो क्षेत्रबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
यसैगरी पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई केवल १ सय ५१ मतले पराजित गरे । गुप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरे । चौधरीले भने २४ हजार १ सय ९ मत ल्याएका थिए ।
यसैगरी दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई केवल एक सय ५३ मतले हराए । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १ सय ५३ मतले पराजित गरेका हुन् । शाहीले २० हजार १ सय ५८ मत ल्याए । उनका निकट प्रतिद्वन्द्वी पोखरेल २० हजार ५ मत मात्र पाए ।
प्रतिक्रिया