मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा १९ वटा मतदानस्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले सञ्चारकर्मीहरुसँग राखेको अन्तरक्रिया कार्यक्रममा सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
उनले ६० वटा मतदानस्थलहरु संवेदनशील र बाँकी ८० वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेको बताए । उनकाअनुसार अन्य बाँकी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने काम जारी रहेको छ । निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको उनले बताए ।
विगतको निर्वाचनमा भएको विवाद, भौगोलिक, सुरक्षा विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।
निर्वाचनका लागि मकवानपुरको जिल्लाको क्षेत्र नं. १ र २ मा गरी करिब ३६४ वटा मतदान केन्द्र तोकिएको छ । यसैगरी, जिल्लामा ३ लाख ७ सय ३७ मतदाताहरु कायम रहेको कार्यालयले जनाएको छ ।
यस्तै, थप सुरक्षा व्यवस्थाका लागि जिल्लामा १ हजार ६ सय ९९ म्यादी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचारप्रसारमा पनि तीव्रता दिइरहेका छन् ।
मकवानपुर
प्रतिक्रिया