काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने एजेण्डा अघि सारेको छ । बिहीबार चुनावी वाचा पत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो । स्वतन्त्र पार्टीले भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले त्यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने पनि वाचा गरेको छ ।
कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानेर दण्डित गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरूलाई पनि समान कारबाही गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाएर लागू गर्ने प्रतिबद्धता स्वतन्त्र पार्टीले गरेको छ ।
ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड, यती र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायत भ्रष्टाचारको आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइल खोल्ने विषय पनि घोषणापत्रमा समेटेको छ ।
अबको ३१ वर्षमा यस्तो बन्नेछ नेपाल
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ । नेपालको संविधान २०७२ मा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राख्दै वाचा पत्रमा तत् तत् कार्यक्रमहरू राखिएको भन्दै पार्टीले २११० सम्ममा नेपालमा समाजवादको आधार तय गर्ने उल्लेख गरेको छ ।
त्यति बेला सम्ममा समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने पार्टीको अपेक्षा छ । यस्तै २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने स्वतन्त्र पार्टीको वाचा छ । विस २११० सम्म सम्पूर्ण नेपालीहरू पूर्ण बिमाको दायरामा हुने तथा मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने पार्टीको दाबी छ ।
नेपाल अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीमा रहने, विश्व शान्ति क्षेत्रको रुपमा स्थापित हुने, कुनै पनि नेपालीहरू रोजगारीका लागि विदेश जान नपर्ने, गुणस्तरीय र सुलभ यातायात प्रणाली हुने, सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहुँच र उपलब्धता हुने सो पार्टीको अपेक्षा छ ।
यस्तै गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने, खेलकुदमा अन्तर्राष्ट्रिय पदक हासिल हुने, नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने जस्ता विषय सो पार्टीले परिकल्पना गरेको छ ।
प्रतिक्रिया