समुद्रमा पानीजहाज र पूर्व–पश्चिम रेलमार्ग

एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । देशका अन्य प्रमुख राजनीतिक दलहरूले भने यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । एमालेले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा विगतका थुप्रै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने नयाँ लोकप्रिय कार्यक्रम पनि समावेश गरिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा चर्चामा आएको पानीजहाजको विषयलाई पनि घोषणापत्रमा समावेश गरिएको छ ।

एमालेले आफ्नो चुनावी घोषणापत्रमा समुद्रमा नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । ‘छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ,’ एमालेको घोषणापत्रमा भनिएको छ ।

एमालेले घोषणापत्रमा नेपालका नदीहरू हुँदै समुद्रसम्म पुग्ने परिकल्पना गरेको छ । ‘नेपालका प्रमुख नदीहरू हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिनेछ,’ घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसअघि पानीजहाज सञ्चालनको विषयमा एमालेले ०७४ सालको चुनावी घोषणापत्रमा पनि उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिनेछ ।’

यसैगरी एमालेको घोषणापत्रमा पूर्व–पश्चिम रेलमार्गको विषयलाई पनि समावेश गरिएको छ । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि रेलमार्गको विषय चर्चामा आएको थियो । अध्यक्ष ओलीले काठमाडौंको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा डिजिटल प्रविधिबाट घोषणापत्र सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालको विकासका लागि यो आवश्यकता पनि हो ।’

यसपटकको घोषणापत्रमा रेलमार्गको विषयमा विस्तृत रूपमा उल्लेख गरिएको छ । ‘निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिनेछ । निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
यसैगरी देशको अन्य भागमा पनि रेलमार्ग सञ्चालको विषय घोषणापत्रमा समावेश गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिनेछ । सबै महानगरसहित काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केबलकार एवं पड–वेजस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिनेछ ।’

यसैगरी घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पनि निरन्तरता दिइएको छ । घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
नागरिकताको विषयलाई पनि घोषणापत्रमा समावेश गरिएको छ । घोषणापत्रमा नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । सरकारको बनेको सुरुआती समयमा वंशजको आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकतासँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता घोषणापत्रमा ब्यक्त गरिएको छ ।

यसैगरी घोषणापत्रमा एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ । घोषणापत्रमा आगामी निर्वाचनमा एमालेकै सरकार निर्माण हुने गरी जनमत ल्याउने र त्यसपछि पाँच वर्षभित्र पार्टीले आफ्ना सबै प्रतिबद्धता पूरा गर्ने बताइएको छ ।

एमालेले आफ्नो घोषणापत्रमा समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रियहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने, कोही भोकै पर्दैन भोकले कोही मर्दैनको नीति कार्यान्वयन गर्ने र स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यसैगरी आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने, ‘निरोगी नेपाल र सबल नेपाली’को नीति अघि बढाइने तथा स्वच्छ पानी र सफा वातावरणको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा जनाइएको छ ।

घोषणापत्रमा ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति गर्ने’ नीति लिइने, ‘खेतबारीमा पानी दोब्बर हुन्छ उब्जनी’को मान्यतालाई अघि बढाइने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायताको सुनिश्चतता गर्ने, ‘ब्यवस्थित सहर ः स्वच्छ र हरियाली वस्ती’को अवधारणा कार्यान्वयन गर्ने तथा सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने प्रतिबद्धता पनि ब्यक्त गरिएको छ ।

यसैगरी सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाज : मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने तथा प्रतिव्यक्ति आय दोब्बर गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा ब्यक्त गरिएको छ ।

प्रतिक्रिया