आ–आफ्ना प्यानल सहित त्रिपक्षीय प्रतिस्पर्धा

टान निर्वाचन आज

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन सोमबार हुने भएको छ । निर्वाचनमा आ–आफ्ना प्यानल सहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानल सहित प्रतिस्पर्धामा रहेका छन । बास्तोला र सापकोटा राजनीति पार्टी नजिक रहेका व्यक्तित्व हुन भने भण्डारी स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धामा रहेका छन ।

अध्यक्षका प्रत्यासीहरु व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारको अन्तिम तयारीमा जुटेका छन् । अध्यक्षका प्रत्यासी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउन आफूले उम्मेदवार दिएको बताए । उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

बास्तोलाले आफू नेतृत्वमा पुगेमा पर्वतीय पर्यटन व्यवसायीको हकहितका लागि काम गर्ने बताए । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीका हितमा लगाउन चाहेको बताएका छन । उनले अहिलेसम्म व्यवसायीले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउने जिकिर गरेका छन ।

अध्यक्षका अर्का प्रत्यासी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताएका छन । उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताए । एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनुका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँपदमार्गको पहिचान र प्रवर्द्धनमा जुट्ने योजना रहेको बताए ।

अध्यक्षका अर्का प्रत्यासी भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागि परेको बताए । उनले टानलाई राजनीतिबाट मुक्त बनाएर पूर्ण व्यवसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना रहेको बताए । हाल टानको निर्वाचनमा मत दिने मदतााको संख्या १ हजार २ सय ५० जना रहेको छ । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन ।

प्रतिक्रिया