काठमाडौं । लेखक खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ पुस्तक बजारमा आएका छन् । बेला पब्लिकेसन्सले प्रकाशन गरेका यी पुस्तक गैरआख्यान हुन् । ‘कोरोना कैरन’ मा संग्रौलाका २७ वटा नयाँ निबन्ध समाविष्ट छन् । जसमा कोरोनाका कारण सिर्जित महामारी र त्यसको चपेटामा परेको सामाजिक–आर्थिक संकट तथा बेथितिका विषयलाई केलाइएको छ ।
बेला पब्लिकेसन्सका सम्पादक विनोदविक्रम केसीले कोरोना कैरन दुखियाहरुको खबरमाला भएको बताए । उनले भने, ‘भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ ।’
नेपाली समाजको वर्गचरित्रबारेका बारेमा लेख्दै तथा चिन्तन गर्दै आएका राजनीतिज्ञ आहुतिको पुस्तक ‘जात वार्ता’ मा दक्षिण एसियामा विद्यमान जात व्यवस्थाको बारेमा चर्चा गरिएको छ । पुस्तक प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ । जसमा जात व्यवस्थाले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनलाई केलाइएको छ । पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्म परिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभाव लगायतका सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ । लेखक आहुतिले यसलाई ‘निरन्तर संघर्षका निम्ति हाते पुस्तक’ भनेका छन् ।
पब्लिकेसन्सकी ‘चिफ प्रोडक्सन अफिसर’ वन्दना ढकालले कोरोना महामारी र जात व्यवस्था आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय भएकाले यिनै विषयमा आधारित गैरआख्यान पुस्तक प्रकाशन गरेको सुनाइन् । उनले परीक्षण प्रकाशनका रुपमा यी दुई पुस्तक बजारमा ल्याएको बेला पब्लिकेसन्सले अंग्रेजी नयाँ वर्षसँगै नियमित प्रकाशन योजना र वार्षिक प्रकाशन क्यालेन्डर सार्वजनिक गर्ने जानकारी दिइन् ।
प्रतिक्रिया