मोडलिङदेखि ‘बलि’सम्म !

काठमाडौं । २२ वर्षीया रिया (नाम परिवर्तन) काठमाडौंमा मोडलिङका लागि संघर्ष गर्दै थिइन् । झापा घर भएकी उनलाई त्यसैक्रममा एउटा राम्रो प्रस्ताव आयो । धादिङकी खनियाबास गाउँपालिका–२ की ५१ वर्षीया प्रेमा तामाङले उनलाई मोडलिङको लागि आकर्षक जागिर रहेको बताइन् ।

संघर्ष गर्दै गरेको कलाकारलाई आकर्षक जागिरको प्रलोभन आएपछि नकार्ने कुरै भएन । तर, रियालाई केही शर्तहरू राखिएको थियो । उचाइ ठीक ६ फिट हुनुपर्ने, कार्यक्रमको समयमा महिनावारी भएको ११ दिनभन्दा बढी हुनुपर्ने, शरीरमा चोटपटक लागेको हुन नहुने र कुनै पनि शल्यक्रिया गरेको हुन नहुने शर्त थियो । ती युवतीको सबै कुरा मिलेपछि प्रेमाले उनको भिडियो खिचेर पठाइन् ।

मोडलिङको रुचि भएकी युवतीलाई सुरुमा काठमाडौंमै काम गर्नुपर्ने भनिए पनि दोस्रो स्थानका रूपमा कोटेश्वर र तेस्रो स्थानको रूपमा विराटनगर तोकिएको जानकारी दिइएको थियो । दैनिक १२ हजार रुपैयाँ दिइने सर्तमा युवतीलाई मोडलिङमा समावेश गराउने भनिएको थियो ।

मोडलिङका लागि तयार भएपछि उनीहरूले भारत जान प्रस्ताव गरे । भारतमा धेरै पैसा कमाइने प्रलोभन देखाएपछि युवती तयार भएकी थिइन् । विराटनगर जाने कुरामा युवतीले आनाकानी गरेपछि ५० हजार पारिश्रमिक दिने भन्दै २६ हजार पेस्की दिएको र आउनेजाने टिकट व्यवस्था गरेका थिए ।

यसबीचमा प्रेमाले युवतीको उचाइ नापेको भिडिओ विराटनगर पुगिसकेका उमेश माझीलाई पठाएकी थिइन् । तर, युवतीले प्रत्येक कुरा दैनिक जसो घरमा अभिभावकलाई सुनाइरहेकी थिइन् । यो क्रम चलेको साता दिन बितेको थियो । यही बीचमा विराटनगर लैजाने तयारी थालिसकिएको थियो । पुस ६ गते हवाई टिकट पनि काटिएको थियो । तर, फेरि युवतीको शरीर जाँच गरियो ।

शरीर जाँच गर्दा महिनावारी भए÷नभएको, घाउ चोटको खत र अपरेसन गरे नगरेको भनी सोधियो । उचाइमा एक इञ्च पनि तलमाथि हुन नहुने भनेर उनीहरूले फेरि शरीरको नाप लिएका थिए । युवतीले यो कुरा घरमा सुनाइन् ।

घर परिवारले मोडलिङका लागि अनौठो प्रस्ताव दैनिक रूपमा सुन्न थालेपछि प्रहरीलाई जानकारी दिएका थिए । मौसमका कारण ६ गते उडान रद्द भयो । पुस ७ गते युवती साढे १० बजे बुद्ध एयरबाट विराटनगर लगियो, खर्च भन्दै २६ हजार दिइएको थियो । युवतीलाई लिएर दाङकी २४ वर्षीय दिलकुमारी पनि गएकी थिइन् । उमेश र कृष्ण उनीहरूलाई लिन विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट रियालाई राख्न धर्मशालाको २०५ र २०६ नम्बर कोठा बुकिङ गरिएको थियो । धर्मशालामा पुगेपछि फेरि युवतीको शरीर जाँच गरिएको थियो । शरीर जाँच गरेपछि उमेश र कृष्ण बाहिर निस्केर बोर्डर पारि लैजान र पूजा गराउन योजनालाई अन्तिम रूप दिन गइरहेका थिए ।

उनीहरूले तान्त्रिक पूजाको सामान किने । मोडलिङका लागि कपडा किन्न भन्दै युवतीलाई सीमा कटाउन खोजेका थिए । राति १० बजेसम्ममा भारत पु¥याउने तयारी उनीहरूको थियो । प्रहरीले साढे ९ बजे नै धर्मशालाबाट उनीहरूलाई पक्राउ गरेपछि योजना विफल भयो ।

पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट–१ मन २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका–१४ का ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका–१० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिका–११ का ३५ वर्षीय उमेश माझी, विराटनगर–८ का ५१ वर्षीय दिलीप पोद्दार, धादिङ खनियाबास गाउँपालिका–२ की ५१ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका–१ का ३७ वर्षीय रञ्जितकुमार चौधरी छन् । प्रहरीका अनुसार सीमापारिका एक जना पूजारीसँग उमेश र कृष्णको कुराकानी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूले पूजाका लागि तयारी गरेको बुझिन्छ । ‘उनीहरूले किन युवतीको पूजा गराउन खोजेका हुन् निकै रहस्यमय छ,’ महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक अशोक सिंहले बिहीबार आयोजित पत्रकार सम्मेनलमा भने । त्यहाँ पु¥याइएको भए युवतीको ज्यान जोखिममा थियो ।

युवतीमाथि शोषण हुनसक्ने सम्भावना त थियो नै । पूजाका लागि तयार गर्दा ‘बलि’ चढाउन पो खोजिएको हो कि शंका प्रहरीले गरेको छ । ती पूजारी को थिए भन्ने प्रहरीले खोजी गरिरहेको छ ।

विराटनगरबाट ६ जना पक्राउ परेपछि प्रहरी प्रेमाको खोजीमा लागेको थियो । उनी सितापाइलामा फेला परेकी थिइन् । कृष्ण र प्रेमा श्रीमान्–श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ । सीमापारिको सम्पर्क सूत्रदेखि युवती खोजी गर्ने सञ्जाल देखिएको परिसरले जनाएको छ ।

प्रेमा युवतीसँग कसरी जोडिइन् भन्ने विषयको गहिराई प्रहरीले खोजिरहेको छ । ‘प्रेमाको काम नै युवती खोज्ने हो कि भन्ने शंका छ,’ सिंहले भने । प्रारम्भिक सोधपुछ क्रममा यो समूहले पैसाका लागि युवतीलाई बिहार लैजान खोजेको बताएको छ । त्यसबापत पाँच लाख रुपैयाँ पाउने आश्वासन पाएको बयान दिएका छन् ।

प्रतिक्रिया