सञ्चार क्षेत्रसँगको सम्बन्ध सुधार्नुहोस्ः खनाल

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सञ्चार क्षेत्रसँगको विग्रदो सम्बन्धलाई सुधार गर्न नेपाल पत्रकार महासंघ र सरकारबीच वार्ता गर्नुपर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकाको अन्तुमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश–१ को साधारण सभालाई सम्बोधन गर्दै खनालले पछिल्लो समय सञ्चार जगत् र पत्रकारबीच सम्बन्ध बिग्रिएको भन्दै खनालले तत्काल वार्ता गरी सम्बन्ध सुधार्न सुझाब दिएका हुन् ।

नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालले संविधान प्रदत्त अधिकारलाई हरण गर्न नमिल्ने भन्दै सञ्चारले वर्तमान उपलब्धि प्राप्तिका लागि खेलेको भूमिकाको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरे ।

सामाजिक, आर्थक र राजनीतिक अधिकार प्राप्तिको प्राप्तिका लागि लडेका सबै वर्ग र समुदायको भावनाको रक्षा गर्नका लागि सरकारले अभिभावकको काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद धिरेन्द्र शर्माले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धताच जनाए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेका स्मरण गर्दै आफ्नो स्थानीय सरकार सञ्चारमैत्री रहेको दावी गरे । उनले पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले दुइतिहाइको सरकार पत्रकारको अधिकार खोस्न उद्दत रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उनले विद्युतीय कारोबार ऐन २०६३ पत्रकारिताका लागि निर्माण नगरिएको दाबी गर्दै पत्रकारहरूमा लागू नगर्न सरकारलाई आग्रहर गरे । महासंघका महासचिव महेन्द्र विष्टले पत्रकार महासंघले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको भन्दै पाइलैपिच्छे अड्चन नथाप्न सरकारलाई आग्रह गरे ।

अग्रज पत्रकार चन्द्र भण्डारीले पत्रकारले राष्ट्रियता रक्षार्थ हरदम काम गरिरहे पनि दुई तिहाईको सरकारले सञ्चारको योगदानलाई बिर्सेको गुनासो गरे । उनले हालसम्मको परिवर्तनको पहरेदार सञ्चार क्षेत्रलाई कमजोर नठान्न सरकारलाई चुनौतीसमेत दिए ।

नेपाल प्रेस युनियनका कृष्ण हुमागाईंले बहुमतको सरकारले सञ्चारको तागतलाई अवमुल्यन गरेको बताए । सञ्चारले खेलेको भूमिकालाई आन्दोलनमा रहेका दलले बिर्सेको गुनोसो गरे । उनले जनताको आवाजलाई कुन्ठित गरेको बताए । प्रेस चौतारीका प्रदेश उपाध्यक्ष लिलाराज भट्टराईले पत्रकार महासंघलाई एकढिक्का भएर पत्रकारको हकहितमा लाग्न आग्रह गरे ।

प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष राजन केडीले सरकार पत्रकारीता प्रति अनुदार भएको गुनासो गरे । संघीय प्रेस फोरम प्रदश उपाध्यक्ष राम योङहाङले पत्रकार महासंघलाई समावेशी र विशुद्ध पत्रकारहरूको साझा संस्था बनाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुइटेलको अध्यक्षतामा भएको साधारण सभाले प्रदेश कार्यसमितिको हाल सम्मको कामको समीक्षा गर्दै नयाँ कार्यक्रम तयार गर्नेछ । कार्यक्रममा प्रदेश १ का दुई सय बढी पत्रकारहरूको सहभागिता छ ।

प्रतिक्रिया