१४ थान वनस्पतिको अणु वंशाणु परीक्षण

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले नेपालका १२ देखि १४ थान वनस्पतिको अणु वंशाणु (डिएनए) परीक्षण सम्पन्न गरेको छ । उक्त परीक्षणबाट उत्पादित वनस्पति स्वदेश वा विदेश कहाँको हो भनेर सजिलै जानकारी हासिल गर्न सकिन्छ ।

नास्टले वनस्पतिकोे अणु वंशाणु परीक्षण गरी जैविक जानकारीलाई सिलसिलेवार रूपमा क्रमगत तरिकाले तथ्यांक मिलाएर राख्ने कामको सुुरुआत गरिसकेको नास्टका प्रवक्ता शुरेसकुमार ढुंगेलले बताए । यस परीक्षणबाट कुन प्रकारको बिरुवा हो, कहाँ उत्पादन भयो र गर्न सकिन्छ, नेपालमा उत्पादन हुने प्रजाति के–के हुन् भन्ने जानकारी हासिल गर्न सहयोग मिल्ने ढुंगेलले बताए । उनका अनुसार लोपोन्मुख प्रजातिका वनस्पति र जन्तुका हकमा यसले विशेष भूमिका निर्वाह गर्छ ।

नाष्टले वनस्पतिको अणु वंशाणु परीक्षण गरी अन्तरराष्ट्रिय तथ्यांकमा राख्ने काम गरिसकेको छ । उक्त परीक्षण गर्दा चोरी भएर गएका वनस्पतिबारे जानकारी हासिल गर्न सहयोग मिल्ने बताइएको छ । ‘नाष्ट र राष्ट्रिय प्रकृतिक संरक्षण कोषको सहकार्यमा वन्यजन्तुको हितलाई ध्यानमा राखी अणुवंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छौँ’, ढुंगेलले थपे, ‘आगामी दिनमा प्रविधि, रसायन र दक्षजनशक्ति साथमा लिएर बाघको अणु वंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छाैँ ।’

यसअघि नास्ट राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले मानिस र जनावरको डिएनए परीक्षण गर्दै आएको थियो । प्रतिष्ठानले बोट बिरुवाका फूल, पात, बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको थियो । लोपोन्मुख जातिको बोट बिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्ने नाष्टले बताउँदै आएको छ । अव्यवस्थित संकलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दा मात्रै त्यो रोक्न सकिन्छ । परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ । त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिने बताइएको छ ।

यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस विषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई समेत सहयोग पुगेको छ । ढुंगेलले थपे, ‘यस परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरूसँग मिल्ने गुणका बारेमा अध्ययनसमेत गर्न पाएका छन् ।’

यसअघि रेकर्ड(इन्टरनेट) मा नभएका बोटबिरुवाको नयाँ कोड(सङ्केत) दिइने गरिएको थियो । नयाँ बिरुवाको डिएनए परीक्षण गरेर इन्टरनेटमा राख्दा विदेशीलाई समेत त्यसबारे बुझ्न सहज हुनेछ । अरूसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताए । ‘हामीसँग भएका बिरुवाको प्रकार बुझ्न समेत अनुसन्धानले सहयोग गर्छ’, उनले भने ।

प्रतिक्रिया