काठमाडौं, १ चैत । अलराउन्डर शक्ति गौचनको ह्याट्रिकसहितको चार विकेट र ओपनर प्रदीप ऐरीको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत बुधबारको खेलमा डेनमार्कलाई नौ विकेटले पराजित गरेको छ । ऐरीले ४३ बलमा ६५ रन प्रहार गरेपछि ८३ रनको लक्ष्य पाएको नेपालले ४४ बल बाँकी रहँदै ८५ रन प्रहार गरेको हो । अन्तिम ओभरमा माइकल पेडरसनको तीन बल सामना गरेका ऐरीले दुई छक्कासहित १३ रन प्रहार गरेपछि नेपालले जितको औपचारिकता पूरा गरेको थियो । यसअघि ऐरीले बसिर साहको ओभरमा एक चौका र एक छक्का प्रहार गरेका थिए ।
स्कोरबोर्डमा सात रन मात्र जोडिँदा ओपनर परेस लोहनी तीन रनमै अन्जुमको बलमा बोल्ड भएपछि नेपालका लागि ऐरीले शरद भेषवाकरसँग मिलेर दोस्रो विकेटका लागि अविजित ७८ रनको साझेदारी गरे । २८ बलको सामना गरेका भेषवाकरले सुस्त गतिमा १३ रन जोडे ।
डेनमार्कका लागि प्रभावकारी देखिएका अन्जुमले तीन ओभरमा १४ रन मात्र खर्चेर एक विकेट लिए । सुरुआतमा किफायती देखिएका बसिर साह पछिल्ला ओभरमा महङ्गा सावित भएका थिए । बसित राजालाई पनि ऐरीले एकै ओभरमा ११ रन प्रहार गरेपछि उनले दोस्रो ओभर बलिङ गरेनन् । बबी चावलालले तीन ओभरमा १५ रन खर्चे ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको डेनमार्कले पाँच बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ८२ रनको योगफल खडा गर्यो । ओपनर फ्रेड्रिक क्रोकलरले सर्वाधिक २१ रन जोडे । ११ रन बनाएका शहजाद अहमदसँग मिलेर उनले पहिलो विकेटका लागि २० रनको साझेदारी गरेका थिए । पेडरसनले १३ बलमा १३ रन जाडे । अन्य ब्याट्सम्यानमा जेम्स मोनिजले १३ तथा रिज्वान मोहम्मदले ११ रन जोडे ।
राम्रो सुरुआत गरेको डेनमार्कको इनिङ ध्वस्त गर्ने क्रममा अलराउन्डर शक्ति गौचनको भूमिका महत्वपूर्ण रह्यो । अहमदलाई बोल्ड गर्दै पहिलो साझेदारी टुटाएका बायाँहाते लेग स्पिनर शक्तिले १३ औं ओभरमा ह्याट्रिक गरे । ओभरको दोस्रो बलमा अहमद लामो सर्ट प्रहार गर्न खोज्दा पारस खड्काको हातबाट क्याचआउट भए । त्यसको लगत्तै अफताब अहमदलाई बोल्ड गरेका शक्तिले कमरान महमुदलाई एलबिडब्लु आउट गरे । उनी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बने । चार ओभरको बलिङ कोटामा शक्तिले २० रन खर्चेर चार विकेट लिए । दुबईको आइसिसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा हङकङसँगको खेलमा नायक बनेका चन्द्र साउद भने बुधबार जम्न सकेनन् । दुई ओभर बलिङ गरेका साउदले १४ रन खर्चे भने कुनै विकेट लिन सकेनन् । सन्जम रेग्मी र वसन्त रेग्मीले एक-एक विकेट लिए । कप्तान पारसले तीन ओभर बलिङ गरेर कुनै विकेट लिन सकेनन् ।
जितपछि नेपाल समूह विजेताको होडमा यथावत् रहेको छ । यसअघि हङकङलाई २८ रनले पराजित गरेको नेपाल अङ्क तालिकामा समूहमा शीर्षस्थानमा उक्लेको छ । एकदिवसीय खेलमा विश्वकप क्रिकेटमा सहभागी भएको नेदरल्यान्ड्स भने अफगानिस्तानसँग पराजित भएको छ । दुवै खेलमा जित हात पारेको अफगानिस्तान रनरेटमा नेपालभन्दा पछि रहँदै दोस्रो स्थानमा रहेको छ । नेपालले बिहीबार शारजाहमा पपुवा न्युगिनीसँग खेल्नेछ ।
बुधबार नै भएका अन्य खेलमध्ये हङकङ (१६४-२) ले बर्मुडा (१६१-५) लाई आठ विकेटले, क्यानाडा (१६७-५) ले पपुआ न्युगिनी (१६१-३) लाई ६ रनले, आयरल्यान्ड (७२-०–७.२ ओभर) ले केन्या (७१) लाई १० विकेटले, इटाली (१३७-६) ले अमेरिका (१२९-८) लाई ८ रनले, अफगानिस्तान (१५०-६) ले नेदरल्यान्ड्स (१४९-६) लाई चार विकेटले, नामिबिया (१९२-३) ले स्कटल्यान्ड (१४३-८) लाई ४९ रनले र युगान्डा (१३२-७) ले ओमान (१२८-८) लाई तीन विकेटले पराजित गरेका छन् ।
प्रतिक्रिया