फुटबलमा इतिहास रच्यो सुदूरपश्चिमले

कैलाली, २० फागुन । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पुरुषतर्फको फुटबल फाइनलमा जित हात पार्दै आयोजक सुदूरपश्चिम टोलीले इतिहास रचेको छ ।
धनगढीस्थित रङ्गशालामा सशस्त्र प्रहरीको एपिएफ टिमलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सुदूपश्चिमले पहिलोपटक राष्ट्रियस्तरको खेलमा इतिहास रचेको हो । यसअघिका कुनै पनि राष्ट्रियस्तरका खेलमा फाइनलसम्म पनि पुग्न नसकेको सुदूरपश्चिम टोली शनिबार घरेलु दर्शकको अपार समर्थन र अनुभवी प्रशिक्षकको प्रशिक्षणका कारण स्वर्णपदक जित्न सफल भएको हो ।
खेलको पहिलो हाफको ३२ औं मिनेटमा एपिएफका राजेन्द्र रावलले गोल गरेका थिए । पहिलो गोल खाएपछि आक्रामक रूपमा प्रस्तुत भएको सुदूरपश्चिम टोलीले दोस्रो हाफमा मात्र गोल फर्काउन सकेको थियो । ६१ औं मिनेटमा कुवेर सिंहले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा पुगेको थियो । मनिराम चौधरीले खेलको ८१ औं मिनेटमा सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए ।
सुदूरपश्चिमले अग्रता लिएपछि रङ्गशालामा उपस्थित हजारौं दर्शकको निरन्तर ताली र समर्थन पाएर पूरै खेल मैदान तथा परिसर गुञ्जायमान भएको थियो । रेफ्रीले दुवै टिमका गरी पाँच जनालाई पहेंलो कार्ड दिएका थिए । यसरी पहेंलो कार्ड पाउनेमा सुदूरपश्चिमका ईश्वर चौधरी, मनिराम चौधरी र मनोज सुनुवार छन् भने एपिएफका दीपक खड्का र भीम श्रेष्ठ छन् ।  आफ्नो क्षेत्रमा भएको राष्ट्रियस्तरको खेलमा पहिलोपटक उपाधि जितेर स्वर्णपदक जितेपछि सुदूरपश्चिमले पनि खेलकुदमा केही गर्न सक्छ भनेर आशा जगाएको खेलाडी तथा खेलप्रेमीले प्रतिक्रिया दिएका छन् ।
टोलीका प्रशिक्षक लालबहादुर खड्काले सुदूरपश्चिमले फुटबल प्रतियोगिता जितेर समग्र सुदूरपश्चिमलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको र यो हौसलाले आउँदा दिनमा फुटबलका अतिरिक्त अन्य खेलमा पनि सफलता मिल्ने प्रतिक्रिया दिए ।
पहिलोपटक सुपले फुटबल प्रतियोगिता जितेपछि शनिबार साँझ धनगढीका बासिन्दाले स्वःस्फुर्तरूपमा घरघरमा दीपावली तथा पटका पड्काएर खुसियाली मनाएका छन् । शनिबार साँझ विजेता फुटबल खेलाडीलाई ठूलो सङ्ख्यामा सहभागी भएका सर्वसाधारणले बाजागाजासहित अबिरजात्रा गरी नगर परिक्रमासमेत गराएका छन् ।

पुरस्कारको ओइरो
पहिलोपटक सुदूरपश्चिमले फुटबल खेल जितेर इतिहास रचेको भन्दै धनगढीस्थित विभिन्न सङ्घसंस्थाले पुरस्कार दिने घोषणा गरेका छन् ।
सुदूरपश्चिमको प्रतिष्ठित व्यापारिक घराना दिनेश ग्रुपले एक लाख एक हजार, सुदूरपश्चिम बस तथा मिनिबस व्यवसायी समितिले ५१ हजार, निर्माण व्यवसायी सङ्घ कैलालीले २१ हजार, हार्डवयर व्यवसायी सङ्घ कैलालीले १५ हजार, धनगढीस्थित द होटल डिभोटीले ११ हजार, हिमशिखर बहुउद्देश्यीय सहकारीले पाँच हजार, सुदूर सन्देश दैनिकले पाँच हजार एक रुपियाँ दिने भएका छन् ।
उद्योग वाणिज्य सङ्घ कैलालीले ५१ हजार, कर्णाली रिभर साइड यातायात व्यवसायी समितिले आफ्नो बसमा प्रत्येक स्वर्णपदक विजेतालाई आजीवन निःशुल्क यात्रा गराउने निर्णय गरेको छ । त्यस्तै पर्यटन व्यवसायी अम्मर शाहीले पहिलो गोल हान्नेलाई तीन हजार, दोस्रो गोल हान्नेलाई पाँच हजार र पूरै टिमलाई १७ हजार गरी २५ हजार रुपियाँ दिने भएका छन् ।
त्यस्तै अमित मेडिसिन धनगढीले ११ हजार, विजया सिमेन्ट, यति सिमेन्ट, अम्बे सिमेन्ट र जगदम्बा सिमेन्ट उद्योगले क्रमशः पाँच हजार, साढे ६ हजार, पाँच हजार र पाँच हजार रुपियाँ दिने भएका छन् ।

प्रतिक्रिया